प्युठान खुला दिसामुक्त घोषणा

प्युठान : प्युठान नेपालको पाँचौँ खुला दिसामुक्त जिल्ला बनेको छ । जिल्लाका सबै घरमा शौचालय निर्माणपश्चात् शुक्रबार जिल्लालाई मध्य तथा सुदूरपश्चिमको पहिलो जिल्लाका रूपमा पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
घोषणासभामा उपराष्ट्रपति परमानन्द झाले सन् २०१७ सम्ममा सरसफाइपूर्ण प्युठान बनाउने कार्ययोजनाको लोकार्पण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै झाले अबको सरसफाइ अभियान विद्यालयबाट सुरु गर्न प्युठानवासीलाई सुझाव दिए ।
कार्यक्रममा सांस्कृतिक झाँकीसहित कलाकारले गीतसंगीत प्रस्तुत गरेका थिए । सदरमुकाम खलंगास्थित टँडिखेलमा भएको कार्यक्रममा स्थानीय उत्पादनका सामग्रीको प्रदर्शन, हात धुने तरिकाको सिकाइ, पूर्ण सरसफाइमा हस्ताक्षर अभियानलगायत स्टल राखिएका छन् ।
०६५ मा बिजुवार गाविसको दलित बस्ती इन्द्रेडाँडादेखि जिल्लामा सुरु भएको शौचालय निर्माण अभियान सन् २०१३ सम्म खुला दिसामुक्त जिल्ला बनाउने लक्ष्य लिएको थियो । ४५ हजार ६ सय ५६ घरधुरी रहेको जिल्लामा ४२ हजार ७ सय २२ घरधुरीमा पक्की चर्पी निर्माण भएको छ । बाँकी २ हजार ९ सय ३४ घरधुरीमा कच्ची शौचालय निर्माण भएको समितिले जनाएको छ ।
जिल्लाका प्रमुख व्यापारिक स्थल खलंगा, बाग्दुला, चकचकेलगायत स्थानमा सार्वजनिक शौचालयसमेत निर्माण भएका छन् । जिल्लाका आठ गाविसमा शतप्रतिशत पक्की शौचालय निर्माण भएका छन् । प्राय: गाविसमा न्यूनतम ९२ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएको तथ्यांक छ ।
यसअघि नेपालका चितवन, कास्की, तनहँ र म्याग्दी खुला दिसामुक्त जिल्ला घोषणा भइसकेका छन् । प्युठानले सन् २०१७ सम्म पूर्ण आनिबानी परिवर्तनसहितको ‘सरसफाइयुक्त प्युठान’ बनाउने लक्ष्य लिएको छ । (सौस)

प्रतिक्रिया