ऐसा मे सोचता हुँ

मुनि सुशीलकुमारको हाँक वैज्ञानिक अर्थात् भौतिकवादीहरूद्वारा छाडिएको कृत्रिम चन्द्रमासित प्रतिस्पर्धा वा प्रतियोगिता हो भने यसमा क्षोभ गर्नुपर्ने कुनै कुरा छैन, म यसको स्वागत गर्छु किनभने एक हदसम्म यसको उपयोगिता प्रशस्त छ र आवश्यक पनि छ । तर, वैज्ञानिकहरूको प्रगतिका रूपमा रहेको उपग्रहप्रति बधाईको भाव नभई भत्र्सना गर्दै अध्यात्मकै प्रशस्ति गाइएको हो भने यो एक बिडम्बना र अहंकार मात्र हो । यस्तो ‘आफ्ना कुराको आफँै जयकार’ को कुराले केही हुँदैन, केही बन्दैन ।
साँचो कुरा भन्ने हो र वास्तविकतालाई देख्ने हो भने बढ्दो जनसंख्या र यस भिडभाडको दुनियाँमा आध्यात्मिक चन्द्रमाले कुनै प्रकाश दिन सक्दैन, न त त्यसको मूल–आधार ईश्वर नै कुतत्त्वसँग लड्न सक्नेछ । मात्र अध्यात्मज्ञान र ईश्वरमहिमाबाट संसारलाई सुन्दर बनाउनु आकाशको फल आँखा तरी मर् सिद्ध भइसकेको छ । अध्यात्मज्ञान र ईश्वरीय विश्वासबाट विश्वलाई बनाइराख्ने कुरा एउटा चेलो बनाउनमा उसका पछाडि एघार जना गुरु लागिरहनुजस्तै मुस्किल छ । हामीलाई यस्तो एक सम्भावनाको आवश्यकता छ जसबाट एकजना चेलाद्वारा घटीमा पनि बाह्र जना गुरु तयार होऊन् किनभने अध्यात्म वा ईश्वरीय विश्वासबाट प्रभावित युग हामीले धेरै देखिसक्यौँ, धेरै सुनिसक्यौँ र त्यसकै बाटो हुँदै हामी आज पनि हिँडिरहेका छाँै ।
०००
भारतवर्षमा त अझै पनि यसकै प्रभाव सर्वोपरि छ । जावलि, आरुणि र याज्ञवल्क्यदेखि गान्धीसम्म, वेददेखि गीतासम्म यही आध्यात्मिक र ईश्वरीय विश्वासले प्रतिनिधित्व गरिरह्यो एवं पश्चिमी जगत्मा पनि पाइथागोरसदेखि तथा अरस्तु र इसादेखि अगस्टिन टामस, एक्किनस आदि अध्यात्मवादी दार्शनिक तथा ईश्वरवादी धर्मप्रचारक महात्माहरू र विश्वविस्तृत इसाई धर्मग्रन्थ बाइबल पनि मानवजातिलाई अध्यात्म र ईश्वरबाट प्रभावित गरी संसारलाई शान्तिमय बनाउने प्रयत्न गर्दागर्दै थाकिसके । एउटा ठूलो संख्याको जाति मुस्लिम संसारमा पनि मोहम्मददेखि आगारवी र तिनको धर्मग्रन्थ कुरानसमेत संसारमा शत्रुता र खराबी भगाउनका निम्ति ईश्वरसँग गुहार माग्दामाग्दै हैरान भइसके ।
०००
संसारमा नयाँ हावा फैलाउने क्रान्तिकारी हुँदाहुँदै पनि बुद्धसमेत थाके जसको दर्शनमा केहीकेही समाजवाद, केहीकेही प्रगतिशील चेतना र केहीकेही जनतान्त्रिक स्रोतलाई समावेश गरिएकाले साधारण व्यवहारलाई पनि छुने क्रान्ति देखिन्छ तथा मान्छेलाई अगाडि बढाउनबाट रोक्ने ईश्वरको अस्तित्वमाथिको विश्वासप्रति विद्रोह छ । सबैभन्दा ठूलो कुरा त यो दर्शन जातपात आदिको भेदभाव तथा यज्ञादि अगतिशील कर्मकाण्डमाथिको चुनौती हो, उथलपुथल हो । विश्वमा सबैभन्दा बढी मानवहृदयमा ज्ञानज्योति जगाउने व्यक्ति वास्तवमा बुद्ध नै हुन् जसको प्रभाव र प्रचार आज पनि संसारको लगभग आधा भागमा छ । उनी एसियाका उज्ज्वल प्रकाश हुन् । संसारको निर्माण गर्नमा र सभ्यतालाई बनाउनमा उनको ठूलो हात छ तर उनी पनि थाकिसके । उनका अहिंसा र शान्तिवाद पनि संसारबाट कुतत्त्वलाई हटाउन तथा मेटाउन समर्थ हुन सकेनन् । उनका अहिंसा र शान्तिवाद पनि त्यति धेरै विकसित हुन सकेनन् जति हुनुपथ्र्यो । अझै अरू संसारको उपेक्षा गरेर कोरा अध्यात्ममा लीन हुने अध्यात्मवादीहरूको कुरा के गर्नु ?
बुद्ध अहिंसाका त्यति ठूला प्रवर्तक र शान्तिवादी हुँदाहुँदै पनि उनको अहिंसा र शान्तिवाद विश्वमा त्यति विकसित हुन नसक्नुको कारण मैले त एउटा मात्रै देखेको छु– यति सबै हुँदाहुँदै पनि संसारप्रति उदासीन अध्यात्मवादीहरूसरह बुद्ध पनि परलोक तथा पुनर्जन्मका हिमायती हुनाले उनको हिंसा तथा शान्तिवादमा थोरैधेरै सन्न्यास भावना समाविष्ट छ । परलोक तथा पुनर्जन्मको सुखको आशा तथा आकांक्षाबाट यो लोक र भौतिक जगत्प्रति स्वाभाविक रूपमा वैराग्य उत्पन्न हुन्छ ।
यसै कारण बुद्धजस्ता क्रान्तिकारीको शान्तिवाद पनि सर्वसाधारण जनताको हृदयमा निरोगी बनेर बस्न सकेन । उनको दर्शनको आधार परलोक तथा पुनर्जन्म हुनुले गर्दा यो सफल हुन सकेन । उनको अहिंसा र शान्ति कहाँ बढिरहेको छ ? साँचो कुरा भन्ने हो भने म उनलाई कतै पनि हाँसखेल गरेको देख्दिनँ— न त उनका प्रयोग र प्रभावक्षेत्र चीन, जापान, वर्मा र तिब्बत आदि मुलुकहरूमा नै । आज २५०० वर्ष पूरा भएका छन् । उनको क्षेत्रमा कहाँ र कहिले मान्छेको घाँटीमा तरबारहरू नाचेका छैनन् ? कुनचाहिँ शताब्दी र कुनचाहिँ दशकमा रगतको नदी बगेको छैन ?
(हृदयचन्द्रसिंह प्रधानले भारतस्थित भोपाल टिबी अस्पतालमा रहँदा ०१७ सालमा कष्टसाध्य जीवन भोग्दै बिरामी अवस्थामा हिन्दी भाषामा लेखेको किताब ‘ऐसा मै सोचता हुँ’को एक अंश । यस लेखको नेपाली अनुवाद रामप्रसाद ज्ञवालीले गरेका हुन् ।)

प्रतिक्रिया