चित्रमा जीवन उतार्दै छु

Chitra३८ वर्षे रविनकुमार कोइराला नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ हुन् । उनी वास्तुकला र अन्य सिर्जनात्मक कलाका ज्ञाता मानिन्छन् । ०६२/६३ को जनआन्दोलनमा ‘ललितकला लोकतान्त्रिक अभियान’का सह–संयोजक भएर काम गरेका उनले नेपालमै तीनवटा एकल चित्रकला प्रदर्शनी गरेका छन् भने विदेशमा थुप्रैपटक सामूहिक चित्रकला प्रदर्शनीमा सहभागी भएका छन् । यी युवा चित्रकार कलाको दार्शनिक पक्षबारे ‘कलम’का लागि सौर्य दैनिकसँग गफिँदै छन् । 
कलाको दार्शनिक पक्ष के हुन्छ ? सामान्य कलाकारले बनाउने चित्र र एउटा ‘एकेडेमिक क्वाललिफाइड’ कलाकारले बनाउने चित्रमा के फरक हुन्छ ?
दर्शकलाई प्रदान गर्ने सौन्दर्य र आनन्द नै कलाको दार्शनिक पक्ष हो । सबैमा सौन्दर्यबोध एवं आनन्दप्रदान गर्ने गराउने आ–आफ्नै विशिष्ट शैली हुन्छन् । उदाहरणका लागि मलाई बुलबुल चरीले गाउने गीत साह्रै मन पर्छ, बढो आनन्दित हुन्छु तर बुलबुलको भाषा मलाई आउँदैन, यसमा आनन्दबोध गर्न भाषाले छेकेको छैन । आफूले बुझिने कर्कश गीतभन्दा नबुझिने भाषाको मीठो गीतले आनन्द दिन्छ । यही हो कलाको दार्शनिक पक्ष ।
सामान्य कलाकारले अरूले चलनचल्तीमा ल्याइरहेको प्रवृत्तिलाई पछ्याएर अघि बढिरहेको हुन्छ । उता प्राज्ञिक कलाकारले आफ्नै नयाँ गोरेटो खन्ने काम गर्छ । आफ्नो निजी कलाशैलीको खोजी गर्ने निरन्तर प्रयत्न गरिरहन्छ । कलारचनामार्फत् नवीनता प्रस्तुत गर्छ ।
कला किन सधैँ ठूला महलको चार दिवारमा सीमित हुन्छ ? र, सामान्य वर्गको कोठामा पुग्दैन ?
कला सामान्य वर्गको कोठामा पुगेको छ । तर, ब्रान्डेड कलाकारका ब्रान्डेड कलाकृति नपुगेको कुराचाहिँ पक्कै हो । सामान्य वर्गलाई कलाको मिठासपूर्ण चस्का लाग्न नसक्नु वा लगाइदिन नसक्नु नै हो यसको प्रमुख कारण हो । ठूलाबडाहरू महँगावस्तु खरिद गर्न सक्छन् र उनीहरू चित्र हेरेरै आनन्दित हुन्छन् ।
तपाईं आफ्ना चित्रमा जीवनको कुन पक्षलाई उजागर गर्न चाहनुहुन्छ ?
म आफ्नो चित्रमार्फत कलामा जीवनको गहिराइलाई उजागर गर्न चाहन्छु । चित्रमा मानवलाई ‘द्रष्टा’ रूपमा प्रस्तुत गराउन चाहन्छु । मेरो कला मेरो दर्शन हो । जो गहिराइमा पुग्छ उही उचाइमा पनि पुग्छ । जीवनको गहिराइको पहिचान, धैर्य, त्याग र निरन्तर साधनाले नै म मेरो चित्रमा जीवन उतार्न प्रयत्न गरिरहन्छु ।
केही महिनाअघि एकजना कलाकारले नेपाली चित्रमा ‘अश्लील’ प्रयोग गर्नुभयो, यसले नेपाली समाजलाई कुन दिशामा लैजान्छ ?
हो केही महिनाअघि एउटा निजी कला ग्यालरीमार्फत एकजना कलाकारले आफ्ना कलाकृतिको सार्वजनिक प्रदर्शनी गरेका थिए । त्यो २,४ दिन विवादास्पद रह्यो र बिलायो । यसमा कलाकारले काली र बुद्धलाई पपआर्टको शैलीमा प्रस्तुत गरेका थिए । पपआर्टको इतिहासको झलकले के भन्छ भने यो विशेषगरी युके र अमेरिकामा सन् १९५० देखि सुरु भई १९६० मा उत्कर्षमा पुगेको कला अभियान हो । यो अभियान अमूर्त अभिव्यञ्जनावादी कला (१९४०–१९५० ) विरुद्धको अभियान थियो । पपआर्ट (पपुलर आर्ट)लाई नामले नै चञ्चलता पैदा गराउने र मोह जगाउने किसिमले प्रस्तुत गरिने कला भन्ने बुझ्नुपर्छ । यस कलाको सालाखाला मूल अभीप्सा भनेकै भौतिक जगत्का चर्चित व्यक्ति वा वस्तु एवं यौनिक उत्तापलाई प्रस्तुत गर्नु हो । त्यसैले त्यो प्रदर्शनीमा राखिएको कलाकृति कुनै नौलो प्रयोग नभएर बेलाबेलामा चर्चामा आउन मनपराउने मानवीय स्वभाव भएका कलाकारले गरेको इतिहासको पुनरावृत्ति मात्र हो ।
कतिपय चित्र यस्ता हुन्छन् जुन कलाकारले मात्र बुझ्छन् र अरूलाई बुझाउन सक्दैनन् † यस्ता अमूर्त चित्रबारे के भन्नुहुन्छ ?
चित्र मात्र होइन, अन्य कला वा लेखन पनि यस्ता हुन्छन् जसको भाषा अमूर्त हुन्छन् र सामान्य जनको पहुँचमा हुँदैनन् । म कसैलाई ‘गीता,’ ‘कुरान,’ ‘बाइबल,’ ‘द प्रोफेट,’ ‘अप्रिय,’ ‘राधा,’ ‘घुम्ने मेचमाथि अन्धो मान्छे’हरू, इत्यादि पुस्तक एवं राम्रा फिल्मका सिडी प्रदान गर्न सक्छु तर जबसम्म पाठक वा दर्शक स्वयंले यसलाई भव्य दराजमा थन्काएर राख्छ र पढ्दैन उसले ती किताब कहिल्यै बुझ्न सक्दैन । पढ्छ र हेर्छ भने बुझिहाल्छ नि । त्यस्तै हो चित्र पनि । संसारमा सुरुमा जे अबुझ लाग्छन् तिनै पछि अमूल्य र पूजनीय बनेका छन् ।
यही वैशाखमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीको लागि एकेडेमीले के गर्दै छ ?
गत वर्षभन्दा केही क्वालिटी भएका कलाकृतिलाई विशेष महत्त्व दिने निर्णय परिषद्ले लिएको छ । परिषद्ले मलाई तेस्रो वार्षिक प्रदर्शनीको मूल संयोजकको जिम्मा दिएको छ, कलाकृति छनोट, जजहरूको नियुक्ति इत्यादि अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनेछ । वैशाख २ देखि २२ सम्म हुने प्रदर्शनी अवधिभर विद्यालय एवं कलेजका विद्यार्थी हाम्रा मुख्य दर्शक हुनेछन् । त्यसैगरी सरकारका पदाधिकारी, विदेशी कूटनीतिज्ञ, राजनीतिज्ञ, पत्रकार, कर्मचारी वर्ग, शिक्षक वर्ग, व्यापारी, साहित्यकार, लेखक सबै हाम्रा लक्षित दर्शक हुन् ।
प्रस्तुति : अकृन अधिकारी

प्रतिक्रिया