ब्रिक्स सम्मेलन सम्पन्न

डर्बन : चिनियाँ राष्ट्रपति सी जिनपिङले डर्बन सम्मेलनमा ब्रिक्स मुलुकहरूको क्षमताहरूको अहिले पनि सम्पूर्णरूपमा उपयोग हुन नसकिरहेको बताएका छन् । विश्वको उदियमान अर्थतन्त्रहरूको समूह ब्रिक्सका नेताहरूको दक्षिण अफ्रिकाको डर्बान सहरमा सम्पन्न ब्रिक्स समूहको सम्मेलनमा चीनका नवनिर्वाचित राष्ट्रपति सीले सो भनाइ राखेका हुन् ।
उनले क्षेत्रीय एवं विश्वकै आर्थिक विकासलगायतका विभिन्न क्षेत्रमा ब्रिक्स समूहको ठूलो योगदान हुनसक्ने तर सो क्षमताको अहिले नै प्रयोग भइनसकेको बताउनभएको समाचारमा जनाइएको छ । साथै सम्मेलनबाट प्राप्त अर्काे एक समाचारअनुसार सो समूह एउटा नयाँ विकास बैंक बनाउने मुद्दामा भने सहमति गर्न असफल भएको जनाइएको छ ।
क्षिण अफ्रिकाको डर्बन सहरमा ब्रिक्स शिखर सम्मेलनको दोस्रो तथा अन्तिम दिन हिजो बुधबार ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका नेताहरूले सो बारेमा अझै थप कुराकानी गर्नुपर्ने आवश्यकता रहेको निर्णय गरेका छन् । बैंकका लागि कति रकम जुटाउनुपर्ने हो र त्यसको मुख्यालय कहाँ हुनेछ भन्नेबारेमा ब्रिक्सका सदस्यहरूबीच मतभेद रहेको बताइएको छ । उनीहरूले यस विषयमा पछि कुराकानी हुने पनि जनाएका छन् ।
विश्व अर्थतन्त्रको वृद्धि सुस्त छ र ब्रिक्सको आर्थिक वृद्धिको गति पनि सुस्त भएको छ, तर यसको अर्थ ब्रिक्स मुलुकहरूको अर्थतन्त्र गिर्दो अवस्थामा भने नरहेको पनि सो सम्मेलनमा जोड दिइएको थियो । ब्रिक्सको विकासका सम्भावनाहरू असीमित छन्, औद्योगिकरण, सहरीकरण, सूचना प्रविधिको विस्तार र अधिक कृषिसम्बन्धी आधुनीकिकरणबाट ऊर्जाको उत्पादन हुनेछ र बजारका लागि ठूलो अवसर उत्पन्न हुनेछ– सो सम्मेलनमा बोल्ने नेताहरूले बताएका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डर्बन सम्मेलनमा विश्व अर्थतन्त्रका लागि ब्रिक्सको भूमिकाका बारेमा व्याख्या गरेका थिए । ‘हाम्रा यी मुलुकहरूमा विश्वको ४० प्रतिशत जनसंख्या बस्छ, ब्रिक्स मुलुकहरूसँग प्राकृतिक संसाधनको ठूलो भण्डार छ, उनीहरूसँग राम्ररी तयार गरिएको औद्योगिक आधार छ’, उनले भने ।
भारतका वाणिज्यमन्त्री आनन्द शर्माले ब्रिक्स समूहले वित्तीय संकटका बीच पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । विगत पाँच वर्षको अवधिमा अर्थिक रूपमा विभिन्न उतारचढाव आएको र यसका कारण आर्थिक गिरावट पनि भएको बताउँदै उहाँले वित्तीय संकटका कारण उत्पन्न घटनाहरूका कारण प्रत्येक मुलुकमा त्यसको गलत असर परेकोमा जोड दिए । यो वर्षको ब्रिक्स सम्मेलनको प्रमुख उद्देश्य ब्रिक्स विकास बैंकको स्थापना गर्नुरहेको बताइएको थियो । तर, सो बारेमा कुनै निर्णय हुनसकेन । सो बारेमा केही प्रगति अवश्य भएको छ तर बैंकको मुख्यालय कहाँ हुनेछ र यसमा प्रत्येक मुलुकको कति रकम योगदान हुनेछ भन्नेजस्ता केही प्रश्नहरूको अहिलेसम्म जवाफ प्राप्त भएको छैन । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले विकास बैंक बनाउन सही हुनेछ भन्ने ब्रिक्स वित्तमन्त्रीहरूको प्रतिवेदनबाट आफू सन्तुष्ट रहेको बताए । (एजेन्सी)

 

प्रतिक्रिया