भगतसिंह समूहले हतियार बुझायो

भैरहवा, १६ चैत । जनसंख्याका आधारमा तराईमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने, पहिचानसहितको संघीयतालगायतको माग गर्दै तराईमा भूमिगत सशस्त्र संघर्ष गर्दै आएको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी भगतसिंह समूहले बिहीबार रूपन्देही प्रशासनमा हतियार बुझाएको छ ।

सात वर्षदेखि तराईमा सशस्त्र संघर्ष गर्दैै आएको समूहका वार्ता टोली संयोजक सुवासचन्द सिंह भनिने मनोजसिंह मण्डल र सिकन्दर बागी भनिने बब्लु खानले सिडिओ कार्यालय रूपन्देहीका निमित्त सिडिओ कृष्णप्रसाद खनाललाई हतियार बुझाएका हुन् ।
पत्रकार तथा जिल्लाका सुरक्षा प्रमुखको रोहवरमा समूहले ६ वटा नलकटुवा पेस्तोल, पाँचवटा गोली बुझाएको छ ।
हतियार बुझाउने कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी हरिबहादुर पाल, सीमासुरक्षा बलका एसपी भीमबहादुर थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख रामबहादुर, कार्कीलगायत सुरक्षा अधिकारीको उपस्थिति थियो ।
हतियार बुझाइसकेपछि समूहका वार्ताटोली संयोजक मण्डलले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिमा आएकाले सरकारसँग भएको सहमतिअनुसार हतियार बुझाएको प्रतिक्रिया दिए ।
तराईका १८ जिल्लामा संगठन मजबुत रहेको दाबी गर्ने समूहका मुख्य नाइके भगत सिंह भूमिगत नै छन् । समूहसँग सरकारले १३ चैत ०६८ मा लुम्बिनीमा र २० साउन ०६९ मा सुनसरीमा वार्ता गरेको थियो । सरकारसँग वार्ता हुँदा समूहले २ सय ७८ थान विभिन्न प्रकारका बन्दुक, १ सय ७९ थान गोली, १ सय १७ केजी बारुद, १३ थान प्रेसर कुकर बम लगायतका हतियार रहेको बताएको थियो । समूहले बुधबार कपिलवस्तुमा हतियार बुझाएको छ भने शुक्रबार बर्दियामा हतियार बुझाउने कार्यक्रम रहको जनाएको छ । समूहका झन्डै २ सय ५० कार्यकर्ता विभिन्न कारागारमा छन् ।

प्रतिक्रिया