माओवादी कार्यकर्ताद्वारा निर्वाचन कार्यालयमा तोडफोड

बाग्लुङ, १६ चैत । जिल्ला निर्वाचन कार्यालय बाग्लुङमा नेकपा–माओवादीका कार्यकर्ताले तोडफोड गरेका छन् ।

मुखमा मास्क लगाएर गएका तीन माओवादी कार्यकर्ताले कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टर, टेबल, फोन सेट, सिसालगायत सामग्री रडले हानेर तोडफोड गरेका हुन् ।
फोटोसहितको मतदाता नामावली संकलनको काम भइरहेको समयमा तोडफोड भएको निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । ‘कार्यकक्षमा आएका तीन व्यक्तिलाई फोटो खिच्न आएको ठानेर सोफामा बस्न आग्रह गरेँ,’ उपाध्यायले भने, ‘उनीहरू केही नबोली तोडफोड गरेर गए ।’ तोडफोडपछि सिडिओ महादेव पन्थ, डिएसपी सुरेन्द्रबहादुर गुरुङलगायत सुरक्षा अधिकारी कार्यालयमा पुगेर घटनाबारे जानकारी लिएका थिए ।
तोडफोडमा फोटोसहित मतदाता नामावली संकलनमा अवरोध गरिरहेको नेकपा–माओवादी बाग्लुङले घटनाको नैतिक जिम्मेवारी लिएको छ । घटनामा पार्टीको संलग्नता रहेको आशंकामा प्रहरीले जिल्ला इन्चार्ज टेकबहादुर केसी, जिल्ला सेक्रेटरी ग्यामनाथ गैरेलगायतलाई नियन्त्रणमा लिएर गरेको छलफलमा इन्चार्ज केसीले देशव्यापी कार्यक्रमअन्तर्गत घटना भएको भन्दै नैतिक जिम्मेवारी लिएका थिए ।
घटनाको जिम्मेवारी लिएपछि उनीहरूलाई छाडिएको छ । ‘राजनीतिका नाममा अराजक हिसाबले लागे प्रहरी प्रशासन चुप लागेर बस्दैन,’ छलफलपछि सिडिओ र डिएसपीको भनाइ उद्धृत गर्दै इन्स्पेक्टर बद्री श्रेष्ठले भने, ‘शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न छुट छ तर कानुनविपरीत काम गरे कारबाही गरिनेछ ।’ घटनामा माओवादी कार्यकर्ता अनन्त केसी, विनोद थापा र डिलबहादुर दर्जीको संलग्नता रहेको प्रहरीले जनाएको छ । तोडफोडपछि फरार भएका उनीहरूको खोजी कार्य जारी रहेको र पक्राउ गरेर कारबाही गरिने इन्स्पेक्टर श्रेष्ठले बताए ।
यस्तै, नेकपा–माओवादीका कार्यकर्ताले बिहीबार निर्वाचन कार्यालय काभ्रेबाट खटिएका फोटोसहितको मतदाता संकलक टोलीका सामग्री फुटाएका छन् ।
छत्रेबाँझमा मतदाताको तस्बिर लिइरहेको समयमा आएका नेकपा–माओवादीका कार्यकर्ताले कम्प्युटरका सामान लुट्न खोजे पनि कर्मचारीले जोगाएका थिए । खोसाखोसका क्रममा कम्प्युटरको किबोर्ड फुटेको कर्मचारीलाई उद्धृत गर्दै जिल्ला निर्वाचन अधिकारी हरिश्चन्द्र घिमिरेले जानकारी दिए । नेकपा–माओवादीका कार्यकर्ता लुट्न आउँदा नौ जनाको तस्बिर खिचिएको थियो । बुधबार साँझसम्म जिल्लाका १६ गाविसमा तस्बिर खिच्ने कार्यक्रम सकिएको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिए ।
यसअघि नेकपा–माओवादी काभ्रेको आकस्मिक बैठकले केन्द्रले जारी गरेको सर्कुलरअनुसार निर्वाचनका सबै कार्यक्रम प्रभावित पार्न कार्यकर्तालाई निर्देशन दिएको सेक्रेटरी अनुपले जानकारी दिए । ‘हामीले सबै क्षेत्रमा निर्वाचनका कार्यक्रम असफल बनाउन सर्कुलर जारी गरेका छौँ,’ उनले थपे, ‘छत्रेबाँझको घटना त्यही हो, अन्य कुनै भागमा पनि यो कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरेका छौँ ।’

प्रतिक्रिया