तेस्रोपटक लिग उपाधि थ्री–स्टारलाई

काठमाडौं : १५ चैत । थ्री–स्टार क्लबले तेस्रोपटक लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा नेपाल पुलिस क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच गोलरहित बराबरी भएपछि थ्री–स्टार क्लबले दुई खेल खेल्न बाँकी रहँदै उपाधि जितेको हो । उपाधिको टुंगो लागे लगत्तै भएको खेलमा थ्री–स्टार क्लब पनि मच्छिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकियो । उपाधि हात पार्ने क्रममा थ्री–स्टारले २१ खेलमा ४३ अंक बटुल्यो । उपाधि विजेता थ्री–स्टारले ७५ लाख रुपियाँ पुरस्कार पाउने छ । जुन नेपाली फुटबलमा हालसम्मकै ठूलो पुरस्कार हो । थ्री–स्टारले उपाधि जिते पनि दोस्रो हुने टोलीको टुंगो लाग्न भने बाँकी नै छ । मनाङ–मस्र्याङ्दी क्लबको ३८ अंक छ । सम्भावना : पहिलो खेलमा पराजित भएर लिग उपाधि जित्ने थ्री–स्टार नेपालकै पहिले क्लब हो ।

यसअघि थ्री–स्टार क्लबले ०५४ र ०६१ मा उपाधि जितेको थियो । विगतको भन्दा थ्री–स्टार क्लबको यसपटकको उपाधि यात्रा पृथक रह्यो । ०५४ मा उपाधि जित्ने क्रममा थ्री–स्टार क्लबले अनन्त थापाको रूपमा थ्री–स्टार क्लबले नेपाली फुटबललाई एउटा प्रतिभासाली खेलाडी दिएको थियो । त्यसै लिगबाट समीर नेमकुल र रमेश बुढाथोकी नेपाली फुटबलका स्टारका रूपमा उदाए । यसैगरी ०६१ मा उपाधि जित्ने क्रममा थ्री–स्टार क्लबले सन्तोष श्रेष्ठलाई नयाँ स्टारको रूपमा पाएको थियो । त्यसै लिगदेखि सुरेन्द्र तामाङ खेल जीवनकै उच्च फर्ममा रहेको थिए । यसपटक थ्री–स्टार क्लबले कुनै स्टार जन्माउन भने सकेन ।
गत वर्ष मनाङमा रहेका स्टार सन्दीप राई र विजय गुरुङलाई टोलीमा आबद्ध गराए पछि थ्री–स्टार क्लब स्वभाविक रूपमा उपाधिको दाबेदार रहेको थियो । तथापि, सरस्वती क्लबसँगको पराजयसँगै कमजोर सुरुआत गरेको थ्री–स्टारलाई उकास्ने काम सियरा लीयोनमा स्ट्राइकर जासहव फेमीले गरे । पहिलो चरणमा फ्रेन्ड्स क्लबसँग बराबरीतर्फ उन्मुख खेलमा ३० यार्ड टाढाबाट गोल गर्दै जित दिलाएका फेमीले एनआरटीसँगको महत्त्वपूर्ण खेलमा त्यत्तिकै राम्रो गोलको अवसर सिर्जना गरे । जियान र इब्राहिमको भूमिका त महत्त्वपूर्ण छँदै थियो । सुरुमा कमजोर रहेका भिक्टर पनि पछिल्लो खेलमा सुधारिएको रूपमा प्रस्तुत भए । यी चार अफ्रिकी खेलाडीले दुई व्यक्तिको भाग्यमा भने आमूल परिवर्तन नै गरिदियो । थुप्रै अवसरलाई खेर फाल्ने आदत नै भएका सन्तोष साहुखलले सहजै गोलका अवसरहरू पाए । यसैगरी प्रदीप हुमागाईंले एक से एक स्टार खेलाडी भएको टिममा प्रशिक्षकका रूपमा रहनु र थ्री–स्टारकै पूर्वखेलाडी अञ्जन केसीले पर्दा पछाडिबाट निभाएको भूमिकामा नसुहाउने उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि पाउन सक्नेछन् ।

प्रतिक्रिया