कामदारमाथि भएको आक्रमणको निन्दा

काठमाडौं : वैदेशिक रोजगारीका सिलिसिलामा मलेसियामा रहेका नेपाली कामदारमाथि भएको आक्रमणको निन्दा गर्दै विभिन्न संगठनले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, जनजाति महासंघलगायतका संघ/संस्थाले आक्रमणको निन्दा गर्दै छानबिन र कारबाहीका लागि पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।

मलेसिया नेपाली कामदारको पहिलो श्रम गन्तव्य भएकाले पनि त्यहाँ हुने हरेक गतिविधिले नेपालको वैदेशिक रोजगारीमा असर पर्ने भन्दै उनीहरूले सरकारलाई कूटनीतिक नियोगमार्फत यथार्थ पत्ता लगाई दोषीलाई कारबाही गराउन आग्रह गरेका हुन् । संघका अध्यक्ष बलबहादुर तामाङले मलेसियामा आठ लाखको हाराहारीमा नेपाली कामदार रहेकोले यस्ता गतिविधिले मुलुकको वैदेशिक रोजगारीमा नै असर पर्ने भन्दै सरकार गम्भीर हुनुपर्ने बताए । ‘मलेसियामा भएको घटनाले समग्र व्यवसायीलाई त्रसित बनाएको छ’ तामाङले भने, ‘घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा फेरि यस्ता समस्या आउन नदिन सरकारले कूटनीतिक नियोगमार्फत आवश्यक पहल गर्नुपर्छ ।’ उनले ठूलो संख्या नेपाली कामदार भएको मुलुकमा यस्तो समस्या आउँदा सम्बन्धित पक्ष बढी जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
केही दिनअघि मलेसियाको जोहोर पासिर गुडांगमा स्थानीय युवा र नेपाली कामदारबीच झडप हुँदा दुईजना गम्भीर घाइते भएका थिए । दुई पक्षीय नेपाली कामदारबीच झगडा भएको र पछि स्थानीय युवासँग झडप हुँदा तीन जना नेपाली कामदार घाइते भएकामा दुई भने गम्भीर भएको जनाइएको छ । दुई पक्षीय झडपको आधिकारिक कारण भने अझै पत्ता लागेको छैन ।

प्रतिक्रिया