केशवको जिन्दगीका चालहरू

Keshav-Shrethएउटा यस्तो ठिटो, जसले आफ्ना थुप्रै उर्वर वर्षहरू फुटबलमा खर्चियो । खुट्टाको कलाले विपक्षीहरूलाई माथ खुवायो । उतिबेला उसको सपना रंगशाला थियो । इँटाको साँध लगाइएको टोले गोलपोस्टमा गोल हान्न अभ्यस्त उसका गोडा अब दशरथ रंगशालाको जाली चुमाउन चाहन्थे । ऊ सफल पनि भयो । १७ वर्षअघिको त्यो जमानामा फुटबल खेलेबापत उसले पाउने उपलब्धि आत्मसन्तुष्टि मात्र थियो । तर, आत्मसन्तुष्टिले पेट भरिदिँदैनथ्यो । त्यसैले सायद ऊ नयाँ भूमिकाको खोजीमा थियो ।

ऊ जमानाका फुटबलर केशव श्रेष्ठ अहिले चेस स्टारका रूपमा चिनिएका छन् । नेपालकै सबैभन्दा उपल्लो र्‍यांकका चेस खेलाडी । सम्भवत: उनी आफैँ पनि स्विकार्छन्, उनी फुटबलमा भन्दा बढी सफल चेसमा भएका छन् ।

केशव ‘ए’ डिभिजन फुटबलर छँदाताका सहिद स्मारक लिग फुटबलको सान र चर्चा अहिलेजत्तिको उँचो थिएन । पुरस्कारराशि पनि यतिविधि मोटाइसकेको थिएन । यद्यपि यो नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता भने थियो । नाम चलेका माथिल्ला क्लब नै खेलाडी पाल्न नसक्ने हबिगतमा रहेका बेला सामान्य क्लबको त के कुरा गर्नु † त्यो बेलाका थुप्रै ‘ए’ डिभिजन क्लब अहिले पलायन भइसके । तिनीहरूको अस्तित्व एन्फाको धुलाम्मे ढड्डामा पनि सायदै भेटिएला । जसोतसो आफूलाई घिसार्दै अघि बढेका कति ‘ए’ डिभिजन क्लब अहिले पनि जीवितै छन् तर तीमध्ये केहीको हैसियत गिरिसकेको छ । डेढ दशकको अवधिमा थुप्रै क्लबले ‘ए’ डिभिजनको स्वाद चाखे तर फेरि विस्थापित भएर ‘बी’ डिभिजनमा झरे ।
पृष्ठ ७ बाट क्रमश:

ब्वाइज स्पोटर्स क्लब ‘ए’ डिभिजनमा छँदाताका केशव त्यसका सक्रिय खेलाडी थिए । तर, ६० दशकको सुरुआततिर यो क्लबले आफ्नो ‘ए’ डिभिजन साख जोगाइराख्न सकेन । यद्यपि कुनै समय यही क्लबको जर्सी पहिरिएर थुप्रैले आफूलाई नेपाली खेलकुदको चर्चित अनुहार बनाइसकेका थिए । तिनैमध्येका हुन्, केशव । फुटबलबाट भूमिका परिवर्तन गरेर चेसमा आउँदा थुप्रै चुनौती उनका सामु थिए । फुटबल छाडे पनि उनले मेहनतचाहिँ छाडेनन् । त्यसैले त चेसमा पनि आफूलाई शीर्ष खेलाडी प्रमाणित गरेर देखाउन सके । ५० को दशकमा उनी फुटबल छाडेर चेसतिर हान्निएका थिए ।
काठमाडाँका रैथाने केशवले थुप्रै घरेलु कीर्तिमान बनाएका छन् । फुटबलमा आइडियासँगै शारीरिक परिश्रम मुख्य पक्ष हुन्छ । चेसमा शारीरिक परिश्रमभन्दा ‘दिमाग’ महत्त्वपूर्ण मानिन्छ । उनी सम्झन्छन्– ‘योजना बनाउने र त्यसैअनुसार चल्ने आदतले होला, फुटबल खेल्दा पनि म मिडफिल्डमा नै बढी रमेँ ।’

नेपाली चेसको प्रस्ट इतिहास लेखिएको छैन, न कुनै आधिकारिक तथ्यांक । तर, थुप्रै कीर्तिमान केशवकै नाममा लेखिएका छन्, यसमा विवाद छैन । सबैभन्दा धेरै समय शीर्षस्थानमा रहने नेपाली खेलाडी उनै हुन् । सन् २००२ मा रायपुरमा २१८६ रेटिङ पाए । त्यो बढ्दै गएर २१९६ सम्म पुग्यो । ११ वर्षको अन्तरमा उनको फर्ममा आरोहअवरोह आइरहे । तर, कहिले पनि २१०० भन्दा तल रेटिङमा नझर्ने सक्रिय नेपाली खेलाडी उनै बनिरहेका छन् ।
व्यावसायिक चेस करियरको पहिलो प्रतियोगिताको पहिलो खेलमै वाकओभर पाएको सुनाउँछन् केशव । अहिलेभन्दा फरक थियो त्यो समय । नेपाली प्रतियोगिता स्विस लिगमा हुन्थ्यो तर सफ्टवेयरको प्रयोगै हुँदैनथ्यो नेपाली भूमिमा । प्रोग्रेसिभ कार्ड बनाउने र प्रतियोगिता आयोजना गर्ने कामै झन्झटिलो थियो । सुरुआती तीन चरणमा स्कोर नगर्ने खेलाडीलाई चौथो चरणबाट हटाइन्थ्यो । केशव पनि त्यस्तै अवस्थामा पुगे सुरुमा । खेल्नचाहिँ यति बेलासम्म उनी फुटबल र चेस दुवै खेल्थे ।
चेसमा मात्र रम्न थालेपछि भने एकाएक सफलता पाउँदै गए । त्यो समयमा बद्रीलाल नेपाली, पुण्यमान कमाचार्य, रबिन राजभण्डारी, नवीन तण्डुकार र प्रचण्ड मालाकार चिनिएका खेलाडी थिए । यीसँग चेसमा भिड्न पाउनुलाई भाग्य ठान्थे नवप्रवेशीहरू ।
सुरुआती असफलतापछि केशवमा इख बसेछ, उनी झन् कस्सिएर चेसका चालहरूमा घोत्लिन थाले । त्यसको प्रतिफल साहरनपुरमा सम्पन्न प्रतियोगितामा देखिई पनि हाल्यो । जहाँ उनले गरेको २३२५ को रेटिङ परफरमेन्स नेपाली खेलाडीको उच्च प्रदर्शनमध्ये पर्छ । उनलाई लाग्छ– दिगेश मल्लले विगतको एक प्रतियोगितामा, कृष्ण थापाले ६ वर्षअघि पाश्र्वनाथ चेस प्रतियोगितामा र मनीष हमालले यस वर्ष पाश्र्वनाथमा देखाएको क्षमता नेपाली चेसमा सम्झनलायक छन् । कृष्ण थापाले पहिलोपटक एसियन जोनलमा गरेको प्रदर्शन पनि त्यत्तिकै उत्कृष्ट रह्यो । केशव भन्छन्– ‘तर, उनको प्रदर्शन जत्ति उच्च स्तरको भए पनि न राज्यले बुझ्यो न त खेलनिकायले ।’
एकाएक चेसमा रमाउन थालेका केशवका लागि सुरुमा कोही रोलमोडल थिएनन् । खेल्दै जाँदा यसका मिथक व्यक्तित्वबारे थाहा पाउँदै गए । सम्बन्धित पुस्तक पढ्न थाले । चेस दुनियाँका तीन शीर्ष पुरुष गेरी कास्पारोभ, एनातोली कार्पोभ र विश्वनाथन आनन्द अब उनका आदर्श पात्र बने । रुसको खान्ती ओलम्पियाडमा कास्पारोभसँग भेट्न पाएको अवसरलाई केशव जीवनकै महत्त्वपूर्ण क्षण सम्झन्छन् ।
सबैभन्दा धेरै समय शीर्षखेलाडीका रूपमा कायमै रहनु अनि सम्झनलायक प्रदर्शनक्षमता देखाइरहनु उनको डेढ दशकबढीको खेलजीवनका सफलतम पाटा हुन् । यसबावजुद उनलाई आरोप पनि छ– ‘एग्रेसिभ हुन नसक्ने ।’ प्राय: शीर्ष कोटिमा रहे पनि अपेक्षाकृत उपाधि जित्न नसक्ने खेलाडी भएका छन् उनी थुप्रैचोटि । यो आरोपमा केही हदसम्म सत्यता रहेको उनी आफैँ स्वीकार्छन् । तर, यो पनि सत्य हो– उनले राष्ट्रिय च्याम्पियनको ताज आफ्नो नाममा लेखाइसकेका छन् । झापामा सम्पन्न १४आँै राष्ट्रिय च्याम्पियनसिपमा पहिलो भए । अन्य राष्ट्रिय च्याम्पियनसिपमा पनि स्थिर प्रदर्शन गर्दै चारपटक ओलम्पियाड खेल्ने बाटो कोरे । विश्वका दुई ग्रान्डमास्टर सइद अली लुचादेव र अब्दुल अल रकिबसँगको प्रतिस्पर्धामा निकालेको बराबरी नतिजा पनि सानो उपलब्धि होइन ।
सुरुसुरुमा आफूलाई चेसमा नियमित प्रशिक्षण र तालिमको महत्त्वबारे उति थाहा थिएन भन्छन्, केशव । त्यसो त उतिबेला यसखाले सुविधा पनि त थिएनन् । एकपटक रायपुरमा एक साता लामो प्रशिक्षणले आफूलाई महत्त्वपूर्ण ज्ञान दिएको उनी सुनाउँछन् । तर, व्यक्तिगत रूपमा उनले अरू कुनै प्रशिक्षण पाएनन् । चेसमा दशकौँ बिताइसकेपछिको उनको परिपक्व अनुभवले भन्न थालेको छ– ‘राम्रो प्रशिक्षकबाट प्रशिक्षणको व्यवस्था गराउन सकेको भए हाम्रै पुस्ताबाट नेपालले अन्तर्राष्ट्रिय मास्टर पाउने थियो, सायद म पनि हुन सक्थेँ ।’
उनीसँग जोडिएका तथ्य अरू पनि छन्, राम्रा/नराम्रा दुवै । आमनेपाली खेलाडीका तुलनामा जति नै राम्रा भए पनि उनी कृष्ण थापा र नवीन तन्डुकारका अघि सधैँ फिका परे । यसको कारण उनी आफैँ पनि खुट्याउन सक्दैनन् ।
डेढ दशकअघि नेपाली चेसले एउटा होनहार पुस्ता कमाएको थियो । केशवसँगै कृष्ण थापा, अनिल राजवाहक, राजेन्द्र वज्राचार्य र दिनेश श्रेष्ठको पुस्ताले नेपाली चेसको साखलाई उँचो बनायो । धेरैको नजरमा यो एउटा उर्वर पुस्ता हो । त्यसपछि अर्को पुस्ता भित्रियो– शूरवीर लामा, दिगेश मल्ल, मनीष हमाल, उत्तम थापा र नीरज निरौला हुँदै मदनकृष्ण कायस्थसम्मको । यो पुस्ताले अघिल्लो पुस्ताले जत्तिको उर्वरता त देखाउन सकेन तर नेपाली चेसको लय भने कायमै राखिरह्यो ।
अहिलेको पुस्ता हो– रूपेश जयसवाल, विवेक लामा, हिमाल लामा र विजय डंगोल, जसमाथि नेपाली चेसको भविष्य निर्भर छ । विगतको एउटा पुस्तामा शीर्ष थिए केशव, त्यसपछिका पुस्तामा पनि उनका चेलाहरूकै प्रभाव छ । विवेक, हिमाल र विजय उनैका चेला हुन् । यू–१४ पुस्ताका मिलन लामा, जेनिस थापा र विकेस जयसवाललाई उत्कृष्ट देख्छ केशवको दिमागी चालले । संयोग, यी पनि उनकै शिष्य हुन् । ‘यिनीहरू सिक्ने क्रममा छन्’, सबै क्षेत्रले सहयोग गरे यो पुस्ताबाट राम्रो भविष्यको कल्पना गर्न सकिन्छ’, आफूले भोगेको विगतको चिरफार गर्दै सुधार्नुपर्ने भविष्यबारे उनी बताउँदै छन्– ‘हामीले सामान्य प्रशिक्षणको पनि अवसर पाएनौँ, अबको पुस्ताले पनि त्यही अवस्था सामना गर्नु नपरोस् ।’ उनी तुलना गर्छन्– ‘हामीलाई भन्दा अहिलेको पुस्तालाई अवसर धेरै छ । तर, सिन्सियरिटी हामीमा धेरै थियो । नेपाली चेसको साख बढाउने हो भने अबको पुस्ता अझ बढी मिहिनेती भएर निस्कनुपर्छ ।’

१७ वर्षअघि सही योजना निर्धारण गरेर खेल्न सकेकै कारण केशवलाई ब्वाइज स्पोट्र्सले मिडफिल्डमा पत्याएको थियो । दिमाग र मेहनतको बलमा आफूलाई चल्तीको फुटबलरका रूपमा स्थापित गरे । अनि त्यही खुबी कारण बन्यो, जब उनी चेसमा पनि सार्वकालिक राम्रो खेलाडी बन्न सकिरहे । तर, एउटा तीतो सत्य † नेपाली खेलकुदका योजनाकारहरूको कोपभाजनमा परेपछि उनीजस्ताले पाउनुपर्ने सफलता र उपलब्धि पाएनन् । उनी बिट मार्छन्– ‘कमसे कम आगामी पुस्ताले यसरी प्रताडित हुन नपरोस् ।’

प्रतिक्रिया