विस्तारित हुंदै छ झूठको खेती

Puspakamal-Dahalपुष्पकमल दाहाल उर्फ ‘प्रचण्ड’ले धनुषाको क्षेत्र नं. ५ को महेन्द्रनगरमा आगामी निर्वाचन मधेसबाट लड्ने उद्घोष गरे । उनले मधेसबाट चुनाव जितेर मधेसको पक्षमा संघीयता सहितको संविधान लेख्ने धारणा व्यक्त गरे । प्रचण्डले समयको मर्म, पहाडी जनताको प्रचण्डविरोध र आक्रोशलाई बुझेर मधेसबाट चुनाव लड्ने उद्घोष गरेका हुन् । प्रचण्डद्वारा पहाडी क्षेत्रबाट चुनाव लड्ने दु:साहस नगर्नुको कारण पहाडी जनताले प्रचण्डलाई राम्रो शिक्षा दिन तयार रहेको थाहा भएर भयातुर भई उक्त घोषणा गरेका हुन् ।
एमाओवादीको उद्गमस्थल मानिने मगरात क्षेत्रबाट यसपाली कथंकदाचित चुनाव भए एमाओवादी पार्टीको सफाया हुने निश्चित छ । त्यस क्षेत्रका जनता यतिसम्म आक्रोसित छन् कि त्यहाँ एमाओवादी उम्मेद्वारले कुनै कार्यक्रमसमेत गर्न सक्ने स्थितिमा छैनन् । पहाडबाट तिरस्कृत एमाओवादी तथा अध्यक्ष प्रचण्डले मधेसलाई रोजेर मधेसी जनतालाई मूर्ख बनाउन खोजेको हुन् । आज नेपालमा विद्यमान रहेको अस्तव्यस्त अवस्थाको मुख्य जिम्मेवार व्यक्ति प्रचण्ड नै हुन् भन्दा अन्यथा हुने छैन । अन्तरिम संविधानलाई धुजा–धुजा बनाउने तथा न्यायपालिकालाई समेत इतिहासमा कलंकित बनाउने योजनाकार प्रचण्डद्वारा मधेसबाट उम्मेद्वारी दिने घोषणाबारे यत्ति मात्रै भन्न सकिन्छ, पहाडको अनिष्टकारी ग्रह मधेसमा सर्ने भयो ।
झूठको पोको, बाचाका व्यापारी, विश्वास गर्नै नहुने पात्र प्रचण्डको मधेसबाट चुनाव लड्ने उद्घोषले पहाडी जनतामा हर्षको सञ्चार भएको छ । प्रचण्डको झूठ र फरेवी बयान यति धेरै छन् कि जसको वर्णन गरिए एउटा ठूलो पुस्तकको निर्माण हुन सक्छ । कुरा फेर्न यति सिपालु छन् प्रचण्ड तैपनि पटक–पटक कुरा फेरेकोमा किञ्चित पनि पश्चाताप बोध गर्दैनन् प्रचण्ड । भारतविरुद्ध सुरुङ युद्ध गर्ने प्रचण्डको उद्घोष, भारतीय झन्डामाथि बुटले कुल्चेको पोष्टर छाप्ने माओवादी नै हुन् । १२ पटकसम्म मधेसी दलको बहिष्कारका कारण प्रधानमन्त्री बन्न नपाउँदा खिन्न भएर विदेशी प्रभुले गर्दा अर्थात् भारतलाई इंगित गर्दै अभिव्यक्ति दिने प्रचण्ड नै हुन् । आजभोलि नेपालका अन्य नेताको तुलनामा बढी भारतीय परस्त देखिने नेता पनि प्रचण्ड नै हुन् भन्ने नेपाली जनतामा सर्वविदितै छ । नेपालको प्रधानमन्त्रीको रूपमा भारत भ्रमणका क्रममा भारतीय पत्रकारले प्रचण्डलाई भारतविरोधी किन भन्ने प्रश्न गर्दा प्रचण्डले सोझै नकार्दै ‘राम भारत अयोध्याका, सीता जनकपुर नेपालकी हामी कसरी भारतको विरोधी हुन सक्छौँ ?’ नेपाल भारतको रोटीबेटीको सम्बन्ध छ भन्ने बयानप्रति आश्चार्य प्रकट गर्दै प्रचण्डको बहुरूपीया चरित्रबारे लेख प्रकाशित भएका छन् । प्रचण्डलाई नेपाली जनताको प्रश्न छ, कपिलवस्तु, गौर नरसंहारको प्रतिवेदन किन सार्वजनिक भएन ? कसले त्यो प्रतिवेदन सार्वजनिक गर्न दिएनन् ? नेपाली जनता जान्न आतुर छन् । ०६३/६४ पश्चात् हालसम्म विदेशी नागरिकलाई लाखाँै नागरिकता दिने दु:प्रयास गरेको कारण देखाउँदै मधेसबाट चुनाव जित्ने आकांक्षा प्रचण्डले राखेका होलान् । तर, राष्ट्रघात गर्नेलाई कसैले पनि विश्वास गर्दैनन्, मनन गर्न जरुरी छ ।
प्रचण्डद्वारा उद्घोष गरिएको जनयुद्धमा जातीय मुक्तिको नाममा पहाडका सोझा, सरल आदिबासीको रगतको खोलो बगेको छ । नेपाल गणतन्त्र भए पश्चात्को दृष्य हेर्दा आदिबासीको अवस्था बिगतभन्दा प्रत्येक क्षेत्रमा अवनति भएको छ, समग्रमा भन्नु पर्दा सबै क्षेत्रमा आदिबासी उपेक्षित भएका छन् । मधेसबाट प्रचण्डद्वारा उम्मेद्वारी दिने घोषणाको सन्दर्भमा मधेसी जनताले गम्भीर रूपमा मन्थन, चिन्तन गर्नुपर्ने देखिन्छ । पहाडले प्रचण्ड पोषण गर्दा धेरै गुमाएका छन्, अब मधेसी जनताले गुमाउने हुन् वा जोगाउने हुन उनीहरूको हातमा छ । पशुमा स्याललाई धूर्त र चतुर भन्ने गरिन्छ, यदि नेपाल अधिराज्यमा स्याल जस्तै धूर्त र चतुर व्यक्ति चयन गर्न जनमत भए निश्चित रूपमा प्रचण्डको नाम अग्रपंक्तिमा हुनेछ । एमाओवादीलाई दुईतिहाइ बहुमत दिए संघीयता, पहिचान सहितको संविधान प्राप्त हुने जस्ता प्रचण्डको बोली मात्रै हो । प्रचण्डको हृदयमा संघीयता, पहिचानको चाहना बिल्कुलै छैन भन्ने कुरा ठोकुवा गर्न सकिन्छ । संघीयता र पहिचानको कुरा अब प्रचण्ड, कांग्रेस, एमालेले दिने वा उठाउने कुरा होइन र रहेन । संघीयता र पहिचानको कुरा अब सरोकारवालाले जोडदार रूपमा उठाउने र स्थापित गर्नेछन् । तसर्थ, प्रचण्ड, कांग्रेस, एमाले नेताका वाणीद्वारा संघीयता, पहिचान जस्ता बहुमूल्य शब्दमा विराम लाग्नु जरुरी छ । पूर्ण बहुमत प्राप्त नहुँदा त प्रचण्ड नेतृत्वको एमाओवादीले देशमा अराजकता मच्चाई ब्रम्हलुट गरेको दृष्य नेपाली जनताले अनुभूति गरेका छन् । यदि कथंकदाचित एमाओवादीद्वारा दुईतिहाइ बहुमत प्राप्त गरे नेपालको स्थिति के होला ? सजिलै अनुमान लगाउन सकिन्छ । प्रचण्डद्वारा नेकपा (एमाले) बाट राजीनामा दिई बसेका रामचन्द्र झाको घरमै पुगी भेट गरेको समाचार सार्वजनिक भएको छ । सम्भवत: झा एमाओवादीमा प्रवेश गरेको समाचार शीघ्राति शीघ्र नेपाली जनताले सुन्न पाउनेछन् । भारतीय नागरिकता काण्डमा मुछिएका झा पनि मधेसी जनतामाझ दूधले नुहाएका नेताको श्रेणीमा पर्दैनन् । अशोक राईसँगै एमालेमा संघीयता र पहिचानको आवाज उठाएर चर्चामा आए पनि पछि गएर एमालेमै बसी अन्तरसंघर्ष गर्ने भनी दोहोरो चरित्र प्रदर्शन गरेका पात्र हुन् झा । पहाडी प्रचण्ड तथा मधेसका चतुर मानिने झा ब्रह्मणको मिलनले मधेसमा कस्तो चमत्कार देखाउने हो हेर्न बाँकी छ ।
प्रचण्डद्वारा मधेसबाट चुनाव जितेर मधेसको प्रतिनिधित्व गर्दै महत्वाकांक्षी राष्ट्रपति हुने इच्छाबारे बिगतमा राष्ट्रपति बन्ने सपना हुँदाहँुदै भित्ते राष्ट्रपतिमा परिणत हुन पुगेको धङधङी मात्र हो । राष्ट्रपतिको पद त धेरै टाढाको कुरा हो । प्रचण्ड एमाओवादी अध्यक्ष पद बाहेकका कुनै ठूलो पदमा आसीन हुने सम्भावना बिल्कुलै नगन्य छ । तसर्थ, प्रचण्डद्वारा राष्ट्रपतिको पद ताक्नु दिवास्वप्नबाहेक केही होइन । मधेसी जनताले मनन गर्ने कुरा के हो भने प्रचण्डले कसलाई मात्र झुक्याएनन् । सेरेमोनियल राजा बनाउँछु भनी राजालाई झुक्याए, गिरिजाप्रसाद कोइराला, माधव नेपाललाई राष्ट्रपति बनाउँछु भनी झुक्याए, आदिवासी, मधेसी, सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँछु भनी मूर्ख बनाए । कहिलेकाहीँ आफूस्वयं पनि प्रधानमन्त्री हुने अभिव्यक्ति दिएर मौकामा चौका हान्ने प्रयास गरे । बाबुराम भट्टराईको बहिर्गमनका लागि स्वतन्त्र व्यक्तिका नाममा संविधानसभाको हत्या गर्ने वातावरण निर्माण गर्ने सर्वोच्चका मुख्य न्यायाधीश खिलराज रेग्मीको नाम सरकार प्रमुखमा प्रस्ताव गरी कांग्रेस, एमालेलाई समेत घुँडा टेकाउँदै अन्तत: उनैलाई प्रधानमन्त्री बनाइछाडे । यतिबेला प्रचण्डका कारण न्यायपालिकामाथि कहिले नमेटिने कालो धब्बा लागेको छ । न्यायपालिकाको गरिमा तथा निष्ठालाई इतिहासमा कलंकित बनाउनसमेत चुकेनन् प्रचण्ड । नेपालको अन्तरिम संविधान धुजा–धुजा भई रद्दीको टोकरीमा फालिएको छ । त्यसका मुख्य योजनाकार प्रचण्ड नै हुन् । हिन्दूका आराध्यदेव पशुपतिनाथ तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा अतिक्रमण गर्ने दु:साहसी पात्र प्रचण्ड नै हुन् । सञ्चारमाध्यमको व्यापकताका कारण मधेसी जनता निश्चय पनि प्रचण्डको बहुरूपीया चरित्रदेखि अवगत नै हुनुपर्छ । तसर्थ, प्रचण्डद्वारा मधेसबाट उम्मेद्वार बन्ने सन्दर्भमा मधेसी जनताद्वारा प्रचण्डलाई स्वागत गर्ने वा तिरस्कार गर्ने, माया गर्ने वा विरोध गर्ने, विजय गराउने वा पराजित गराउने भन्ने सन्दर्भमा मधेसी जनताको निहित इच्छा एवं विवेकमा निर्भर छ ।
[email protected]

प्रतिक्रिया