क्षयरोगीको नाम उपलब्ध गराउन आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरूलाई क्षयरोगीको नाम उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्रलाई फोकल स्थान तोकी क्षयरोगीको नाम केन्द्रमा पठाउन आग्रह गरेको हो ।
केन्द्रले निजी क्षेत्रबाट सञ्चालित १८ वटै मेडिकल कलेजका मेडिकल निर्देशकहरूलाई आफ्नो कलेजमा छुट्टै प्रत्यक्ष निगरानी उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन र यस्ता क्षयरोगीको नाम केन्द्रमा पठाउन आग्रह गरेको हो । केन्द्रका निर्देशक राजेन्द्र पन्तका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ४८ हजार क्षयरोगी थपिने अनुमान छ । तीमध्ये ३९ हजार मात्र केन्द्रद्वारा सञ्चालित प्रत्यक्ष निगरानी उपचार केन्द्रको सम्पर्कमा आई नि:शुल्क उपचारका साथ नि:शुल्क औषधि प्राप्त गर्दछन् । बाँकी सम्पर्कमै आउँदैनन् ।
सम्पर्कमा नआएका बिरामीले कि त निजी मेडिकल कलेज कि नर्सिङ होममा उपचार गरेको हुनसक्ने भएकाले केन्द्रले क्षयरोगीको संख्या पठाउन निजी मेडिकल कलेज तथा नर्सिङ होमहरूलाई आग्रह गरेको हो । (सौस)

प्रतिक्रिया