जातीय हिंसामा चालीसको मृत्यु

यंगोन : जातीय दंगा भइरहने म्यानमारमा पुन: केही दिन अगाडिदेखि यस्तै अर्काे एउटा दंगा भड्किएपछि त्यसमा परी ४० जनाको ज्यान गएको छ । म्यानमारको सहर नाइपिदवादेखि एक सय ३० किलोमिटर उत्तरमा पर्ने मैकतिला सहरमा गत बुधबारदेखि जारी रहेको हिंसामा परी कम्तीमा पनि ४० जनाको ज्यान गइसकेको म्यानमारका अधिकारीहरूले जनाएका छन् ।

मैकतिला सहरमा एक सुन पसलमा चलेको वादविवादबाट सुरु भएको यस हिंसाले उग्र रूप लिएको र सो पश्चात् उक्त स्थिति आएको जनाइएको छ । सो क्षेत्रमा मुस्लिम धर्मावलम्बी र बौद्धमार्गीबीच सो हिंसा भड्किएको हो ।
उक्त प्रान्तमा विगतमा पनि यस्तै हिंसा मच्चिने गरेको र त्यसमा परी सयौँ नागरिकको ज्यान गएको छ । यस हिंसामा करिब १२ हजार व्यक्ति विस्थापित भएको जनाइएको छ । सो जानकारी संयुक्त राष्ट्रसंघसँग सम्बधित कार्यालये केही अघि नै दिएको हो । हिंसामा परी अरू पनि सयौँ नागरिक घाइते भएका समाचारमा उल्लेख छ । म्यानमारको राजधानी र त्यस वरपरका सहरहरुमा नै विगतदेखि नै अल्पसंख्यक मुस्लिम र बौद्धमार्गीबीच यस्तो हिंसा हुने गरेको छ ।
म्यानमारको पश्चिमी राखिनी प्रान्तमा गतवर्ष पनि मुस्लिम र बौद्धमार्गीबीचको हिंसामा परी कम्तीमा एक सय ८० नागरिकको ज्यान गएको थियो । सो हिंसामा एक लाख दश हजार व्यक्ति विस्थापित भएका थिए । पछिल्लो समय चलेको यो हिंसाको नियन्त्रणका लागि सरकारले विशेष सुरक्षा व्यवस्था अपनाएको छ । ठूलो संख्यामा सैनिक र प्रहरी खटाएकाले धेरै हिंसा भड्किन नपाएको पनि म्यानमारका अधिकारीहरूले जनाएका छन् । (एएफपी)

प्रतिक्रिया