आणविक हतियारको प्रचार रोक्न चेतावनी

दायजोन : दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियालाई आणविक अस्त्रको अनावश्यक प्रचार रोक्न चेतावनी दिएकी छिन् । उनले मंगलबार दक्षिण कोरियाको दायजोन सहरमा आयोजित एक कार्यक्रममा बोल्दै उत्तर कोरियाले केही समययता आनावश्यक रूपमा आणविक अस्त्रको होडबाजी गरेको बताएकी हुन् ।
राष्ट्रपति हाइले भनिन्, ‘उत्तर कोरियाका लागि आगामी दिनमा उसको बाँच्नसक्ने एक मात्र मार्ग भनेको आणविक अस्त्रको घमण्ड त्याग्नु मात्र हो ।’ हालैका दिनमा उत्तर कोरियाले आणविक भट्टी निर्माण गर्नेदेखि लिएर संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका विभिन्न स्थानमा आक्रमण चेतावनी दिँदै आएको छ । उसको सो अभिव्यक्तिको विश्वव्यापी रूपमा विरोध भएको छ । सो विरोधका बाबजुत पनि उत्तर कोरियाले सो भनाइ राख्दै आएको छ ।
राष्ट्रपति हाइले भनिन्, ‘अन्तर्राष्ट्रिय समुदायको एक जिम्मेवार सदस्य बन्नका लागि उत्तर कोरियाले अहिलेको हतियारको होडबाजीलाई पूर्णरूपमा त्याग्नुपर्छ र उसले गर्ने गरेका अनावश्यक र उत्तेजक प्रचार/प्रसारलाई पनि बन्द गर्नुपर्छ ।’ अहिले पनि उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रिय सुरक्षामा धावा बोल्न नछोडेको भन्दै राष्ट्रपति हाइले यो सबै उत्तर कोरियाको दिवास्वप्न बाहेक केही नरहेको टिप्पणी गरिन् ।
यसअघि दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भन्दै अमेरिका र दक्षिण कोरियाबीच भएको सैन्य सम्झौताको दक्षिण कोरियाले स्वागत गरेको छ । उत्तर कोरियाबाट युद्ध भड्काउने स–सानो काम भएको खण्डमा समेत संयुक्त प्रतिक्रिया व्यक्त गर्नेगरी दुई मुलुकबीच भएको सम्झौताको दक्षिणले स्वागत गरेको हो । सम्झौताले कोरियाली प्रायद्वीपमा जारी तनावका बीच दक्षिणलाई थप प्रतिरोधी क्षमता प्राप्त भएको सोलले सोमबार छ ।
अमेरिका तथा दक्षिण कोरियाबीच शुक्रबार नयाँ सैनिक सम्झौता भएको थियो । सम्झौताले उत्तर कोरियालाई थप क्रुद्ध बनाउने अनुमान गरिएको छ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकबीच हालै भएको संयुक्त सैन्य अभ्यासको भत्र्सना गरेको थियो । यसअघिको सम्झौताले दुई कोरियाबीच पूर्ण युद्ध भएमा अमेरिकालाई संलग्न हुने आधार दिएको थियो । नयाँ सम्झौताले दुई मुलुकबीच अन्तरसीमा संघर्षजस्ता सानो स्तरको संघर्षमा पनि अमेरिकालाई संलग्न हुने आधार तयार गरेको छ । सम्झौताअनुसार दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध गर्ने कुनै पनि जवाफी कारबाहीमा अमेरिकाले सहयोगको प्रत्याभूति दिन्छ भने सोलले आवश्यक ठानेमा उसले थप अमेरिकी सैनिक माग गर्नसक्छ । सम्झौताले जापानबाट थप सैनिक सहयोग प्राप्त गर्न बाटो पनि खोलिदिएको छ । सम्झौतामा उत्तर कोरियाली सैनिकले दक्षिण कोरियाको जल क्षेत्रमा प्रवेश गरे, सीमावर्ती द्वीपमा गोलावारी गरे, युद्धक विमानबाट हवाई क्षेत्रमा प्रवेश तथा स्थल क्षेत्रमा प्रवेश गरे के गर्ने भन्ने विषयलाई समेटेको छ । यस्ता कार्यलाई सम्झौतामा ‘युद्ध भड्काउने कार्य’को संज्ञा दिइएको छ । (एजेन्सी)

प्रतिक्रिया