मोरङमा भीषण आगलागी

Morang-Aagoविराटनगर, १४ चैत । मोरङ जिल्लाको गोविन्दपुर गाविसमा मंगलबार आगलागी हुँदा तीन दर्जन परिवारका ९० घरटहरा नष्ट भएका छन् । आगलागीका कारण करिब डेढ करोड रुपियाँ बराबरको क्षति भएको छ ।

गोविन्दपुर–१ का रूपलाली मियाँको घरबाट मंगलबार बिहान ११ बजे विद्युत् सर्ट भई सुरु भएको आगलागीबाट ३८ परिवारका ९० घरटहरा नष्ट हुँदा त्यसमा आश्रित २ सय १६ जना बिचल्लीमा परेको मोरङ प्रहरीले जनाएको छ । आगलागीबाट मियाँसहित छिमेकीका घरटहरा, घरभित्र रहेका नगद, अन्नपात, लत्ताकपडा, भाँडाकुँडाका साथै सबै जिन्सी सामान जलेर नष्ट भएको छ भने दुईवटा बाख्रा जलेर मरेको मोरङका डिएसपी दीपक पोखरेलले जानकारी दिए ।
‘आगलागीका कारण डेढ करोडभन्दा बढीको क्षति भएको छ,’ डिएसपी
पोखरेलले भने, ‘आगलागीका कारण तीन दर्जन परिवारको बिचल्ली भएको छ ।’
पोखरेलका अनुसार आगलागी सुरु भएसँगै पश्चिम दिशाबाट हावाहुरी चलेका कारण आगो फैलिएर ठूलो क्षति हुन पुगेको हो ।
आगलागी नियन्त्रणका लागि विराटनगर, इटहरी र दमक नगरपालिकाको एक/एकवटा वारुणयन्त्र प्रयोग गरिएको थियो । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले करिब चार घन्टापछि मात्र आगो नियन्त्रणमा लिएका थिए । सुरक्षा अंगका तीनवटै निकाय र स्थानीयवासीको सहयोगमा अपराह्न ३ बजे आगो नियन्त्रणमा आएको पोखरेलले बताए । आगलागीमा कुनै मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको उनले जानकारी दिए ।

गोठ जल्दा दुई लाखको क्षति
बर्दिवास : महोत्तरीको मनरामा आगलागी हुँदा दुई लाख रुपियाँबराबरको धनमाल नष्ट भएको छ । आगलागीबाट घरका सदस्य र चौपाया घाइते भएका छन् ।
मनरा–२ का हरिश्चन्द्र मिश्रको गोठ आगोले खरानी बनाएको छ भने ३४ वर्षीय सन्तोष मिश्र र एक हल गोरु आगोमा परी घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान झिसमिस्मै गोठमा धुँवा देखिएपछि निभाउन गएका सन्तोष आगोको लप्काले पोलेर घाइते भएको मनरास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामबाबु सिंहले जानकारी दिए । गोठमा आगलागीे सुरु भएपछि अन्य पशु दाम्लो चुँडाएर भाग्न सफल भए पनि सुरक्षाका लागि दुईतिरबाट बलियो दाम्लोले बाँधिएका एक हल गोरु भने दाम्लो चुँडाउन नसक्दा आगोमा परेर घाइते भएको प्रहरीको भनाइ छ । गोठघरमा लामखुट्टे भगाउन लगाइएको घुरको आगो अन्य सुकेका त्यान्द्रामा सल्केर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।
तीन/तीन हजार रुपिया राहत
मोरङको गोविन्दपुरका आगलागीपिडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिको टोलीले घटनास्थल पुगेर प्रतिपरिवार नगद तीन/तीन हजार रुपियाँ राहतस्वरूप प्रदान गरेको छ । मोरङका सिडिओ तारानाथ गौतमसहितको टोलीले मंगलबारै राहत वितरण गरेको हो । समितिले थप राहत संकलन गरी बुधबारदेखि वितरण गर्ने आगलागीपीडितलाई आश्वासन दिएको छ । त्यस्तै, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उपलब्ध गराएको चिउरा, भुजा, भुजिया, चाउचाउ बिस्कुट पनि वितरण गरिएको समितिका संयोजक सिडिओ गौतमले जानकारी दिए ।

प्रतिक्रिया