चिनियाँ पर्यटक आगमनमा वृद्धि

Chinese-Touristभक्तपुर : भक्तपुर आउने चिनियाँ पर्यटक बढेका छन् । वार्षिक २० प्रतिशतभन्दा बढी पर्यटक वृद्धि भइरहेको भक्तपुरमा यो वर्ष चिनियाँ र भारतीय पर्यटक बढिरहेका भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्र खौमाका प्रमुख दामोदर सुवालले बताए ।
गतवर्षसम्म भक्तपुरमा भारतीय पर्यटकको संख्या बढी आउने गरे पनि यसवर्ष भने भारतीय पर्यटकलाई उछिनेर चिनियाँ पर्यटक बढी आएको सुवालले जानकारी दिए । नेपाल पर्यटन वर्ष सन् २०११ मा भक्तपुरमा कुल दुई लाख १२ हजार पर्यटक भित्रिएकामा भारतीय पर्यटक २१ प्रतिशत र चिनियाँ पर्यटक १५ प्रतिशत रहेकामा सन् २०१२ मा भने भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सन् २०१२ मा भक्तपुरमा भित्रिएका कुल दुई लाख ५७ हजार पर्यटकमध्ये ५४ हजार पर्यटक चिनियाँ र ४४ हजार भारतीय रहेका छन् । यो तथ्यांकले चिनियाँ पर्यटक २१ र भारतीय पर्यटक १७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष ०६९/७० साउनदेखिको तथ्यांकलाई आधार मान्दा पनि भक्तपुुर भित्रिने पर्यटकमा सबैभन्दा बढी चिनियाँ रहेको केन्द्रले जानकारी दिएको छ । सन् २०१३ को दुई महिनामा भक्तपुर भित्रिने पर्यटमा चिनियाँ पर्यटक नै सबैभन्दा बढी रहेको पर्यटन सूचना केन्द्र भक्तपुरका प्रमुुख गौतमप्रसाद लासिवाले बताए ।
भक्तपुरमा माघमा १४ हजार र फागुनमा २१ हजार पर्यटक भित्रिएका छन् । जसमा २० प्रतिशत चिनियाँ र १५ प्रतिशत भारतीय पर्यटक रहेको केन्द्रले जनाएको छ । पर्यटन सूचना केन्द्र भक्तपुरले सार्कसहित चिनियाँ पर्यटकको लागि एक सय र अन्य मुलुकका पर्यटकका लागि एक हजार १ सय रुपियाँ पर्यटन शुल्क उठाउँदै आएको छ ।
सुवालले चिनियाँ पर्यटक भक्तपुरमा बढ्नुमा स्वच्छ, सफा, शान्त र पर्यटकका लागि सुरक्षित वातावरणका साथै चिनियाँ पर्यटकको लागि पर्यटन शुल्क सस्तो रहेकोले पनि पर्यटकको आगमन बढेको हुनसक्ने बताए । काठमाडौं उपत्यकाका सात पर्यटन शुल्क उठाउने केन्द्र मध्ये चिनियाँ पर्यटकको लागि भक्तपुर सबैभन्दा सस्तो रहेकाले भक्तपुरमा चिनियाँ पर्यटक बढेको अनुमान गरिएको छ । भक्तपुर भित्रिने पर्यटकमा चीन, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेनिस, जापान, बेलायत, होल्यान्ड मुलुकका बढी रहेका छन् ।

प्रतिक्रिया