एक सय २० कम्पनीमा दिगो औद्योगिक विकास कार्यक्रम

काठमाडौं, १३ चैत । युरोपियन युनियन, नेपाल उद्योग वाणिज्य महासंघ, जर्मन सहयोग नियोग (जिटिजेट)लगायतले नेपालका एक सय २० कम्पनीमा दिगो तथा प्रभावकारी औद्योगिक विकास कार्यक्रम सुरु गर्न लागेको छ ।

विशेष गरी कृषि र पर्यटन क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरूमा ऊर्जा खपत कम, पानीको बचत, फोहोर व्यवस्थापनलगायतमा नयाँ प्रविधिको विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनका लागि नेपालमा २६ जुनियर परामर्शदाताको तालिम दिइसकेको र कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई तालिम दिइएपछि कार्यक्रम सुरु गरिने नेपालका परियोजना वरिष्ठ स्थानीय संयोजक शुभासन भट्टराईले जानकारी दिए । उनका अनुसार, सन् २०१२ को फेब्रुअरीदेखि सुरु भएको परियोजनाअन्तर्गत एक वर्षमा जुनियर परामर्शदाता तयार गरिएको र यो वर्षदेखि ती कम्पनीमा कार्यक्रम नै सुरु हुनेछ ।
सन् २०१५ को मेसम्म हुने कार्यक्रमअन्तर्गत काठमाडौं, इलाम र पोखरा क्षेत्रका एक सय २० कम्पनीमा जुनियर परामर्शदाता पुगेर कार्यक्रम अघि बढाउनेछन् । यो वर्षदेखि कार्यक्रम सुरु गर्ने योजना अनुसार, सोमबार काठमाडौं र आसपासका क्षेत्रका ३० उद्योगका प्रमुख कार्यकारी अधिकृतहरूको भेला गरिएको छ । संयोजक भट्टराईका अनुसार, भेलामा सहभागी कम्पनीहरूमा कार्यक्रम तुरुन्तै सुरु हुनेछ भने अन्य कम्पनीका प्रमुख कार्यकारी अधिकृतको भेलापछि अन्य कम्पनीमा पनि कार्यक्रम लागू गरिनेछ । ती कम्पनीमा अहिले भइरहेको प्रविधि र प्रयोगको सट्टामा आवश्यकता नयाँ प्रविधिको प्रयोग गरेर स्रोत व्यवस्थापन गरिने लक्ष्य कार्यक्रमको छ । यसबाट उद्योगधन्दामा भएको प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्ने कार्यक्रमले जनाएको छ ।
सोमबार कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको भेलामा उद्योग मन्त्रालयका सह–सचिव डा. ऋषिराज कोइरालाले यस्ता कार्यक्रमले लोडसेडिङ न्यूनीकरणका साथै स्रोतको समुचित प्रयोगका लागि सहयोग पुग्ने बताए ।

प्रतिक्रिया