अमेरिका–दक्षिण कोरिया सैन्य सम्झौता

सोल : कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भन्दै अमेरिका र दक्षिण कोरियाबीच भएको सैन्य सम्झौताको दक्षिण कोरियाले स्वागत गरेको छ । उत्तर कोरियाबाट हुने युद्ध भड्काउने स–सानो काम भएको खण्डमा समेत संयुक्त प्रतिक्रिया व्यक्त गर्नेगरी दुई मुलुकबीच भएको सम्झौताको दक्षिणले स्वागत गरेको हो । सम्झौताले कोरियाली प्रायद्वीपमा जारी तनावका बीच दक्षिणलाई थप प्रतिरोधी क्षमता प्राप्त भएको सोलले सोमबार जनाएको छ ।
अमेरिका तथा दक्षिण कोरियाबीच शुक्रबार नयाँ सैनिक सम्झौता भएको थियो । सम्झौताले उत्तर कोरियालाई थप क्रुद्ध बनाउने अनुमान गरिएको छ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकबीच हालै भएको संयुक्त सैन्य अभ्यासको भत्र्सना गरेको थियो ।
यसअघिको सम्झौताले दुई कोरियाबीच पूर्ण युद्ध भएमा अमेरिकालाई संलग्न हुने आधार दिएको थियो । नयाँ सम्झौताले दुई मुलुकबीच अन्तरसीमा संघर्षजस्ता सानो स्तरको संघर्षमा पनि अमेरिकालाई संलग्न हुने आधार तयार गरेको छ । सम्झौताअनुसार दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध गर्ने कुनै पनि जवाफी कारबाहीमा अमेरिकाले सहयोगको प्रत्याभूति दिन्छ भने सोलले आवश्यक ठानेमा उसले थप अमेरिकी सैनिक माग गर्न सक्छ ।
दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयका प्रवक्ता किम मिन सेओकले यसबाट दुवै मुलुकलाई उत्तर कोरियाको उक्साहटप्रति प्रतिक्रिया व्यक्त गर्ने आधार दिएको बताए । दक्षिण कोरियामा करिब ३० हजार अमेरिकी सैनिक छन् । यस सम्झौताले जापानबाट थप सैनिक सहयोग प्राप्त गर्न बाटो पनि खोलिदिएको छ । सम्झौतामा उत्तर कोरियाली सैनिकले दक्षिण कोरियाको जल क्षेत्रमा प्रवेश गरे, सीमावर्ती द्वीपमा गोलाबारी गरे, युद्धक विमानबाट हवाई क्षेत्रमा प्रवेश तथा स्थल क्षेत्रमा प्रवेश गरे के गर्ने भन्ने विषयलाई समेटेको छ । यस्ता कार्यलाई सम्झौतामा ‘युद्ध भड्काउने कार्य’को संज्ञा दिइएको छ ।
दक्षिण कोरियाको संयुक्त सेनाका प्रमुख जनरल जुङ सेयुङ जोले सम्झौतापछि उत्तर कोरियाबाट कुनै पनि उक्साहट भए उसले बलियो प्रतिरोध भोग्ने निश्चित रहेको बताए । सन् २०१० मा दक्षिण कोरियाको नौसैनिक जहाज केओनान डुबेको थियो जसबाट ४६ व्यक्तिको मृत्यु भएको थियो । दक्षिण कोरियाले उत्तर कोरियाली आक्रमणबाट जहाज डुबेको आरोप लगाएको थियो भने प्योङयाङले आरोप अस्वीकार गरेको थियो । सोही वर्षको अन्त्यतिर उत्तर कोरियाले दक्षिण कोरियाको एपाइयोङ द्वीपमा गोलाबारी गर्दा दक्षिण कोरियाका चार नागरिकको मृत्यु भएको थियो ।
उत्तर कोरियाले फेब्रुअरी महिनामा पारमाणविक परीक्षण गरेपछि संयुक्त राष्ट्र संघले प्रतिबन्ध अझै कडा बनाएको थियो । यसबाट क्रुद्ध बनेको उत्तरले सैनिक आक्रमण गर्नेदेखि पारमाणविक युद्ध हुनेसम्मको चेतावनी दिँदै आएको छ । यसैबीच उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँगको सीमावर्ती क्षेत्रमा रहेका सैनिक एकाइको निरीक्षण गरेका छन् । भ्रमणका क्रममा उनले दक्षिण कोरियाली सेनालाई नष्ट गर्ने चेतावनीसमेत दिएका छन् । (एएफपी)

प्रतिक्रिया