अझै उस्तै छ बालविवाह

Balbibahरानीपोखरी–९, तनहुँस्थित दीपक माविको कक्षा ६ मा पढ्ने आशमाया थापा (१३) केही दिनदेखि स्कुल आइनन् । कक्षा चारमा पढ्ने उनकी बहिनी लालु थापालाई सोध्दा फुपूको छोराले ३ माघ ०६९ मा आशमायालाई फकाउन भनी आएको बेलामा उनकी आमाले, ‘लाके राचटा, नुना’ (लिन आएको छ, जा) भनेपछि उनलाई फकाएर दुलही बनाउन लगेको रहेछ । त्यस्तै, रानीपोखरी–८, सिन्दुस बस्ने वर्ष १४ कक्षा ६ की छात्रा बालकुमारी नेपाली पनि केही दिनयता स्कुल आएको नदेखेपछि सोधखोज हुँदा उनकी आमाले फकाएर कुनै एक केटासित गत माघ २७ गते विवाह गरिदिएको भन्ने खबर प्राप्त भयो । त्यस्तै, कक्षा ७ मा अध्ययनरत वर्ष १६ की मनमाया नेपालीको विवाह गत ०६९ टीकाको साइत पारेर गरिदिएको भन्ने खबर उनकै भाइ पूर्ण नेपालीले विद्यालयमा जानकारी गराए । त्यस्तै, कक्षा ८ मा अध्ययनरत वर्ष १६ की छात्रा रूपा थापा केही दिनअगाडि मात्र विवाह बन्धनमा बाँधिएको थाहा भयो ।
यी घटना त प्रतिनिधि पात्र मात्रै हुन् । कानुनी हिसाबले ती छात्राको विवाह गर्न पुग्ने उमेर ३ देखि ५ वर्ष अझै बाँकी रहेको देखिन्छ । तर, किन उमेरै नपुगी उनीहरूलाई अर्काको घरमा श्रीमतीका रूपमा भित्रिनु पर्‍यो त ? जबकि ती बालिकालाई दुई जनाको परस्पर शारीरिक सम्पर्कबाट हुने आनन्दको बारेमा कल्पनासम्म पनि गर्छन् भन्ने लाग्दैनथ्यो । उनीहरू कसैमा पनि शारीरिक उत्ताउलोपनको छनक देखिँदैनथ्यो । उनीहरू सबै साधारण, सुशील र विनम्र थिए । स्कुल रहँदासम्म उनीहरू खराब संगतमा लागेको सुराकसम्म पनि स्कुल परिवारलाई थिएन । उनका साथीहरू पनि यसबारेमा आश्चर्य व्यक्त गर्छन् । उनीहरूको पढाइको स्तर पनि माध्यम खालकै थियो । पढ्नै छाडेर विवाह गर्नुपर्ने कुनै कारण पनि देखिँदैन । बालविवाह सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक एवं राजनीतिक कुनै रूपले पनि हाम्रो समाजमा स्वीकार्य नहुने प्रथा वा चलन हो ।
त्यस्तै सामान्य व्यक्तिको शारीरिक एवं मानिसिक रूपले पनि यस भयानक सामाजिक कुकर्मलाई कुनै हालतमा पनि स्वीकार गर्न सकिँदैन । मानिसहरू शैक्षिक र मानसिक रूपले विकसित हुँदै आएपछि हाम्रो समाजमा परापूर्वकालदेखि चलिआएको यो असामान्य सामाजिक परम्परालाई रोक्नका लागि कानुन बनाएको पनि करिब ५० वर्ष जति भइसक्यो । आमनागरिकलाई थाहा छ, वि.सं. २०२० सालमा कानुन निर्माण गरेर लालमोहर लागेपछि यस परम्परालाई सदाका लागि अन्त्य गराइएको हो । यो महत्त्वपूर्ण एवं ऐतिहासिक कानुनको निर्माण भएपश्चात् समाजमा हाकाहाकी हुने बालविवाहमा व्यापक सुधार आएको कुरालाई कसैले पनि अस्वीकार गर्न मिल्दैन । तथापि हाम्रो समाजमा वर्तमान समयसम्म पनि यस प्रकारको निकृष्ट परम्परा जीवितै रहेको छ ।
बालविवाह सामाजिक कुरीतिहरूमध्येको सबैभन्दा घृणित र तुच्छ आपराधिक व्यवहार हो । बालविवाहबाट एउटा नारीले प्राप्त गर्ने धेरै प्रकारका अधिकारको हनन भएको हुन्छ । मानौँ, यो एउटा नारीको सर्वस्वहरण नै हो । आफू जन्मेको समाजमा केही परिचय र बोल्न मात्र सिकेकी एउटी कलिलो उमेरकी सानी बच्चीको विवाह गरी पराइ घरमा दिनु भनेको कति मानवीय संवेदनाहीन विषय हुनसक्छ ? जो कोही मानवरूपी दिमाग धारण गरेर समाजमा विचरण गर्ने प्राणीले अनिवार्य रूपमा सोच्ने विषय हो । समाजमा हुने अन्य प्रकारका कलंकले समाजलाई उल्टो बाटोमा हिँड्न त्यति प्रेरित गर्दैन जति बालविवाहले गर्छ ।
बालविवाहको अशोभनीय व्यवहारबाट एउटी बालिकाले आफ्नो जीवनभर नै अथाह दु:ख, कष्ट र पीडा बेहोर्नुपर्छ । बालविवाह भएको पलदेखि नै उसको शारीरिक र मानसिक तनावका दिनहरूको थालनी हुन्छ । आफ्नो जन्म घरमा प्यारी छोरी, पवित्र छोरी, सबैकी चाखिली छोरीको उपमा धारणा गरेर बसेकी छोरीको बालविवाहपश्चात् ती सबै वास्तविकता एकाएक लुटिन पुग्छन् । र, ती बालिकाले प्राप्त गर्नुपर्ने, आफ्नो समाजको सामाजिक परिपक्वता चिरहरण हुन्छ । शिक्षाको माध्यमबाट उनले आफूलाई एउटा सक्षम नारीका रूपमा स्थापित गर्नसक्ने मान्यताको स्वाभिमान गुमाएकी हुन्छे । उनको उमेरअनुसार परिवर्तन हुँदै जाने अति महत्त्वपूर्ण संवेगहरूलाई बन्धनरूपी वाचा र व्यवहारहरू पचाउँदै, फेरि निमार्ण गर्दै समाजको वास्तविक वासनालाई परित्याग गर्नमा आत्मसात् गर्छे । उनका निर्माण हँुदै गइरहेका आफ्नै शारीरिक अंगहरूप्रति सजग, सतर्क हुन सिक्छे र त्यसको प्रयोग गर्न हुने वा नहुने भन्ने विषयमा आफूले नै स्पष्ट धारण बनाउँछे ।
आफ्ना शरीरका अंगहरूले गर्ने कामको वास्तविक अर्थ नै नबुझेका कलिला उमेरका बालिकाको विवाह गरिदिएपश्चात् आउने समस्याले विवाह गराइदिने स्वयं उनका आफन्तहरू शतप्रतिशत पीडित हुँदाहुँदै पनि यस सम्बन्धमा जनचेतनाको अभाव भएकाले उनीहरू अरूलाई पनि थप भुमरीमा पार्न उद्दत हुन्छन् । डा. कार्कीका अनुसार उमेर नपुग्दै छोराछोरी जन्माउने अधिकांश महिलाहरूको शारीरिक समस्याले विकराल रूप लिन्छ रे । अपरिपक्व आमाबाट जन्मिएका आमाहरूको स्तनबाट बच्चालाई पुग्ने मात्रामा दूध उत्पादन नहुनु वा कम आउनु वा आउँदै नआउनु जस्ता जटिल समस्यादेखि बच्चाको स्याहारसुसार गर्नमा समेत उनीहरूको अनाडीपनका कारणले गर्दा न त परिवार न त आमाको स्वास्थ्यमा सुधार हुन्छ । फलत: जीवनभर अथाह सास्ती खेप्नुपर्ने हुन्छ ।
बालविवाहको सकारात्मक पक्ष केही नहुँदा नहुँदै पनि आफ्नै छोरीलाई यावत् वेदनाको भुमरीमा फसाउन उद्दत हुने केही जीवित उदाहरणहरू यहाँ प्रस्तुत गरिएका हुन् । हुन त हाम्रो समाजमा यस्ता घटनाहरू दिनप्रतिदिन घटिरहेका हुन्छन् जसलाई हामी नतमस्तक भएर नजरअन्दाज गर्दै बस्छौँ । यसरी नतमस्तक भएर बस्नुको अर्थ हुन्छ– यस्ता खाले खराब प्रवृत्तिको स्वीकारोक्ति । जसलाई हामी विभिन्न लेख, रचना वा इलोक्ट्रोनिक मिडिया प्रयोग गरेर भए पनि जनचेतना जगाउने वा सुसूचित गराउने काममा अल्छी गर्छाै तब यो समस्याले जरा हाल्ने र मौलाउने अवसर प्राप्त गर्छ । यसरी उमेर नपुग्दै धमाधम छात्राहरू स्कुलको पढाइ छाड्न बाध्य हुनु र आफ्ना आमाबाबा उनीहरूका नाबालक छोरीहरूप्रति उदासीन देखिनुले हाम्रो समाज (खासगरी दलित र जनजाति समाज) अझै पनि बालविवाहलाई कतै न कतैबाट सर्पाेट गरिरहेको छ भन्ने कुरो प्रस्ट हुन आउँछ ।
अर्काे कुरो बालविवाहका कारणले भनु वा अपरिपक्व अवस्थामा आमा बन्नाका कारणले जीवनभर उनीहरूको जीवन संकटपूर्ण हुन्छ भन्ने कुराको चेत नहुनुले यो परिस्थितिको सिर्जना हुनु हाम्रा सबै प्रशासनिक एवं शैक्षिक निकायलाई चुनौती दिनु हो । आमाबाबा अझै विशेषगरी आमाको छोरीहरूलाई हेर्ने दृष्टिकोण अत्यन्त्य निकृष्ट हुनु हो । समाज र परिवारलाई रोगी, अशिक्षित र विकराल बनाउनु हो । कतिपय अशिक्षित र गरिब परिवारका नानीहरू जन्मघरमा टन्न खान र लगाउनको अभावै अभाव खेपिरहनु परेको अवस्था छ र आखिर एक दिन त फुपूको छोरासँग जानु नै छ भने किन ढिला गर्ने हो र भन्ने मनसायले अभिप्रेरित भएर पनि दुलही बन्न पुगेका हुन सक्छन् भन्ने मेरो सोचाइ छ । अर्काेतिर केटा पक्षको घरको परिवार पनि त्यस्तै सामान्यखाले हुनु, उनको घरमा काम गर्ने मानिसको पनि कमी हुनु, मामाकी छोरी १२–१३ वर्ष लाग्नु र आफ्नो संस्कारअनुसार व्यवहार गर्दा केही पनि फरक पर्दैन भन्ने सोचाइले गर्दा हाम्रो जस्तो शिक्षाको अभाव भएको समाजमा यस्ता घटना निरन्तर रूपमा अनगिन्ती हुन्छन् भन्दा खासै आश्चर्य मान्नु नपर्ला ।

प्रतिक्रिया