चिकित्सक संघद्वारा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं : नेपाल चिकित्सक संघले चिकित्सकका पेसागत तथा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बोधन हुनेगरी राष्ट्रपतिसमक्ष पुगेको अध्यादेश स्वीकृत गराई कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
संघले आइतबार स्वास्थ्यमन्त्री विद्याधर मल्लिकलाई भेटी सो अध्यादेश तत्काल स्वीकृत गराई कार्यान्वयनमा ल्याउन माग गरेको हो । संघले सोमबार विज्ञप्तिमार्फत विभिन्न माग स्वास्थ्य, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसमक्ष पटक–पटक पेस गरेको उल्लेख गर्दै मागको सुनुवाइ भने हुन नसकेकाले नवनियुक्त मन्त्रीको ध्यानाकर्षण गराइएको जनाएको छ । माग सम्बोधनका लागि राष्ट्रपति कार्यालयमा अध्यादेश पेस भइसकेको भन्दै संघले अध्यादेश तत्काल स्वीकृत गरी कार्यान्वयन गर्न माग गरेको हो । संघले स्वास्थ्य संस्थामा हुने आपराधिक गतिविधिको अन्त्य, चिकित्सकलाई सुरक्षा प्रदान, चिकित्सकको वृत्तिविकास गर्नुपर्नेलगायत माग राख्दै आएको छ । (सौस)

प्रतिक्रिया