कुलेखानी तेस्रोलाई बन्दमुक्त क्षेत्र घोषणा

काठमाडौं, १३ चैत । विभिन्न अवरोध र विवादका कारण समयमा पूरा हुन नसकेको कुलेखानी तेस्रो जलविद्युत आयोजनालाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गरिएको छ ।

मकवानपुरमा नागरिक समाजसहितको सर्वदलीय बैठकले सोमबार कुलेखानी तेस्रोलाई बन्दमुक्त क्षेत्र घोषणा गरेको हो । समयमै जलविद्युत आयोजना नबनेर लोडसेडिङको समस्या भोगिरहेका बेला कुलेखानी तेस्रोलाई बन्द, हडतालमुक्त घोषणा गरेर मकवानपुरका राजनीतिक दल तथा नागरिक समाजले उदाहरणीय कार्य गरेका छन् ।
राप्रपा नेपालको भ्रातृसंगठन युवा संघले मकवानपुरलाई लोडसेडिङमुक्त बनाउन मागसहित आन्दोलन गर्दा त्यसको प्रत्यक्ष असर कुलेखानी तेस्रोमा परेपछि मकवानपुरका सिडिओ कमलकान्त रेग्मीले डाकेको सर्वदलीय बैठक बोलाएका थिए । बैठकले मकवानपुर जिल्लालाई विद्युत् चुहावटमुक्त क्षेत्र बनाउने निर्णयसमेत गरेको छ ।
‘मकवानपुरलाई चुहावटमुक्त र कुलेखानी तेस्रोलाई बन्द, हडतालमुक्त बनाउने सर्वदलीय सहमति भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले सौर्यसँग भने, ‘बाधा, अवरोधका कारण समस्या भोग्दै आएको जलविद्युत् आयोजनाका लागि यो घोषणा स्वागतयोय छ ।’
अप्रिल २००८ मा सुरु भएको आयोजनामा हालसम्म करिब तीन महिनाभन्दा बढी अवरोध भएको आयोजनाले जनाएको छ । १ चैतपछि मात्र राप्रपा नेपालको युवा संगठनले पहेलो प्लेटका गाडी ओहोरदोहोर गर्न नदिने घोषणा गरेपछि कुलेखानी तेस्रोको निर्माण कार्यमा समेत असर परेको थियो । ११ डिसेम्बर २०११ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अघिल्लो बर्षको पुसमा मुख्य सिभिल निर्माणको ठेकेदार सिनो हाइड्रोले एकतर्फी रुपमा ठेक्का तोडेकोमा पछि गत वर्षकै फागुनमा सहमति भई ३० महिना म्याद थप्ने गरी सिनो हाइड्रो काममा फर्किएको थियो । त्यही विवाद तथा बन्द, हडताललगायत विरोधका कारण आयोजना सम्पन्न मिति सेक्टेम्बर २०१४ मा सरेको छ ।
कुलेखानी तेस्रो आयोजनाका प्रमुख मधुसूदन प्रताप मल्लका अनुसार बैठकमा आयोजनास्थललाई बन्दमुक्त तथा मकवानपुरलाई चुहावटमुक्तका लागि सबै पक्षले पहल गर्ने, मंगलबारदेखि मकवानपुरमा दैनिक २ घन्टा लोडसेडिङ घटाउने, कुलेखानी तेस्रो निर्माण सम्पन्न भएपछि लोडसेडिङ न्यून गर्न सामूहिक पहल गर्ने सहमति भएको छ ।
मकवानपुरको भैंसेमा निर्माणाधीन १४ मेगावाटको उक्त आयोजनाको कुल लागत दुई अर्ब ४३ करोड रुपियाँबाट बढेर तीन अर्ब २५ करोड पुगेको छ ।
प्राधिकरण अध्यक्षबाट पौडेलको राजीनामा
काठमाडौं : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदबाट मुख्यसचिव लीलामणि पौडेलले राजीनामा lilamaniदिएका छन् ।
यसअघि मुख्यसचिवका लागि दाबेदार उमाकान्त झा ऊर्जामन्त्रीमा नियुक्त भएपछि पौडेलले अन्तरिम चुनावी मन्त्रिपरिषद्समक्ष राजीनामा दिएका हुन् । झा उर्जामन्त्री भएलगत्तै ६ फागुनमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ‘आफ्नो अन्तिम बैठक’ भनेका पौडेलले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री मन्त्रिपरिषद् कार्यालयमा आफूलाई भेट्न आएका ऊर्जा मन्त्रालय र प्राधिकरणका केही अधिकारीसमक्ष पौडेलले प्राधिकरण अध्यक्षबाट राजीनामा दिइसकेको जानकारी दिएका थिए ।
पौडेलसगको भेटमा सहभागी स्रोतका अनुसार आफूले राजीनामा दिइसकेकाले प्राधिकरणका विषयमा केही गर्न नसक्ने बताएका थिए । मन्त्रिपरिषद्ले पौडेलको राजीनामा स्वीकृति गरेर प्राधिकरण अध्यक्षमा अर्को व्यक्तिलाई पठाउन लागेको छ । स्रोतका अनुसार मन्त्रिपरिषद्ले ऊर्जामन्त्री झालाई नै प्राधिकरण सञ्चालक समितिको अध्यक्ष बनाउन लागेको छ । (सौस)

प्रतिक्रिया