राष्ट्रसंघको जुनसुकै कदममा समर्थन छ : रेग्मी

Nepal-Army-Umकाभ्रे, १३ चैत । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संयुक्त राष्ट्रसंघको बडापत्रप्रति नेपालको पूर्ण सम्मान रहेको बताएका छन् । राष्ट्रसंघले विश्व शान्ति र सुरक्षार्थ लिने जुनसुकै कार्यमा नेपालले सदैव समर्थन र साथ दिँदै आएको रेग्मीको भनाइ छ ।

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोमबार ‘शान्ति प्रयास–२’ कार्यक्रम उद्घाटनपछि रेग्मीले नेपालको वैदेशिक नीति संयुक्त राष्ट्रसंघको बडापत्रले निर्दिष्ट गरेको सिद्धान्तअनुसार अगाडि बढ्ने बताएका हुन् । ‘पञ्चशीलको सिद्धान्त र दक्षिण एसियाली सहयोग संगठन (सार्क)ले प्रतिपादन गरेका सिद्धान्तबाट पनि निर्देशित छौँ,’ उनले भने ।
प्रधानसेनापति गौरवशमशेर जबराले १३ वर्षअघि चार राष्ट्रको सहभागितामा नेपालबाटै सुरु भएको अभ्यासमा २३ राष्ट्रको सहभागिता रहेको भन्दै खुसी व्यक्त गरे । शान्ति सेनाले बहन गर्नुपर्ने जटिल र संवेदनशील विषय शान्ति बन्ध्याकरण अप्रेसन, शान्तिपूर्ण स्थितिको निर्माण, प्रहरी सेवाको कार्य, सुरक्षा संयन्त्रको पुनर्निर्माण, बारुदी सुरुङको निष्क्रियकरण, परम्परागत न्याय, चुनावमा सहयोग र वैधानिक शासन स्थापनाजस्ता पक्षमा अभ्यास हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । अभ्यासमा नेपालका साथै बंगलादेश, श्रीलंका, मलेसिया, कम्बोडिया, इन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवान्डा, थाइल्यान्ड, घाना, जोर्डन, काजकिस्तान, ताजकिस्तान, पाराग्वे, अस्ट्रेलिया, क्यानाडा, भारत, दक्षिण कोरिया, बेलायत, भियतनाम र अमेरिकासहित २३ राष्ट्रका प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया