भवनको अभावमा चौरमा पढाइ

गुल्मी, १२ चैत । विभिन्न गाउँमा विद्यालय भवन नभएपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । शिक्षा कार्यालयबाट उपलब्ध भौतिक संरचना राजनीतिक पहुँचका आधारमा प्रदान गर्ने परम्परा विकास भएपछि यस्तो समस्या आएको हो ।

विद्यालय भवन निर्माणको काम गरिरहेका ठेकेदारले समयमै काम नसक्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो । जिल्लामा सञ्चालनमा रहेका माध्यमिक विद्यालयमा पाँचकोठे एउटा मात्र भवन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।
हस्तिचौरस्थित पालुखा माध्यमिक विद्यालयका भवन यसको गतिलो उदाहरण बनेको छ । विद्यालयको भवन बाँसको कप्टेराले बारिएको छ, खुला आकास देखिन्छ, छानो छैन । भवनको यस्तो हालत भएको धेरै वर्ष भइसक्दा पनि सम्बन्धित निकायले कुनै पहल नगरेपछि हस्तिचौरका सर्वसाधारण तम्घास आइपुगेका छन् ।
चारकोठे पक्की भवन माग गर्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावकसहितको टोलीले आइतबार शिक्षा कार्यालय गुल्मीमा ज्ञापनपत्र बुझाएको छ । ‘विद्यालयको अवस्था दयनीय छ, विद्यार्थीले अहिले बाँसले बारेको कोठामा खुला आकासमुनि बसेर अध्ययन गर्नुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक सुरेन्द्र पाण्डेले भने ।
विद्यालयको मागप्रति शिक्षा कार्यालय सकारात्मक भएको पाण्डेले बताए । शिक्षा कार्यालय गुल्मीको सहयोगमा ५ कोठे भवन मात्र रहेको विद्यालयले जनाएको छ । विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने भएकाले ६ वटा कोठा नभएकाले विद्यार्थी खाली चौरमा अध्यनन गर्न बाध्य छन् ।
यस्तै, नेटाको थामडाँडास्थित सरस्वती माध्यमिक विद्यालयको भवन निर्माणमा ढिलाइ हुँदा विद्यार्थी खुला ठाउँमा पढ्न बाध्य । ठेकेदारले समयमै भवन निर्माण कार्य सम्पन्न गर्न सकेका छैनन् । विस्तारै हावाहुरीसँगै वर्षाको समय सुरु भएपछि विद्यार्थीलाई थप मर्का भएको छ ।
विद्यालयको पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण भइहेको छ । तर, स्थानीय ठेकेदार बोमबहादुर कुँवरले समयमै काम पूरा नगरेपछि भवन निर्माणको काममा ढिलाइ भएको हो । विद्यालयका तीन सयभन्दा बढी विद्यार्थी खुला आकाशमुनि अध्ययन गर्न बाध्य छन् । भारतीय दूतावासको सहयोगमा तीन वर्ष अघिदेखि निर्माण थालिएको भवन निर्माणमा ढिलाइ भएको हो ।

प्रतिक्रिया