काममा फर्किए भगवान्

काठमाडौं : महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान् कोइराला काममा फर्किएका छन् ।
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अस्पतालका लागि आवश्यक सबै व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि डा. कोइराला आइतबार अपराह्न काममा फर्किएका हुन् । सरकारले अस्पतालका लागि माग गरिएको १२ करोड रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ । सबैतिरबाट काममा फर्कन र अस्पतालको नेतृत्व लिन आग्रह गरिएकाले आग्रहको सम्मान गर्दै आफू पुन: अस्पतालको जिम्मेवारी सम्हाल्न आएको डा. कोइरालाको भनाइ छ ।
उनलाई अस्पताल पुग्दा कर्मचारी तथा चिकित्सकले स्वागत गरेका थिए । कर्मचारीको स्वागतपछि संक्षिप्त मन्तव्य राख्दै उनले सबै पक्षबाट साथ–सहयोग पाउने विश्वास व्यक्त गरे । आफू अस्पताललाई वास्तविक रूपमा जनताको अस्पताल बनाउन लागिपरेको र जनतालाई सेवा–सुविधा उपलब्ध गराउन सबैको साथ रहने विश्वास उनले व्यक्त गरेका थिए ।
यसअघि निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई काममा फर्कन आग्रह गर्दै अस्पतालका लागि आवश्यक पर्ने सबै खालको आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । फागुनमा काम गर्ने वातावरण नभएको भन्दै कार्यकारी निर्देशक पदबाट उनले राजीनामा दिएका थिए । उनलाई काममा फर्कन आग्रह गर्दै अस्पतालमा कार्यरत विभिन्न कर्मचारी संघसंगठनले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका थिए । (सौस)

प्रतिक्रिया