अक्षम नेतृत्वको दुष्परिणाम

anil-yogiसर्वोच्च अदालतले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशका रूपमा परिचित नहुन सोमबार अन्तरिम आदेश दिएको छ । सर्वोच्चका नयायाधीश गिरीशचन्द्र लालको एकल इजलासले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीका नाममा उक्त आदेश दिएको हो । आम नागरिकलाई यो आदेश सर्वोच्च न्यायालयको स्वतन्त्र आदेश हो भनेर मान्नलाई गारो महसुस भएको अवस्था छ । आदेशको आसय र भित्री मर्म हेर्दा खिलराज रेग्मीको बचाउका लागि आएको वक्तव्य जस्तो मात्र देखिन्छ । देशको कार्यकारी प्रमुखलाई न्यायापालिका प्रमुख भनेर सम्बोधन गर्ने कुरा विधिको शासनमा सुहाउँदैन । सर्वोच्च अदालत आफैंमा मूर्त संस्था होइन । उसको आफ्नो विवेक हुँदैन, त्यहाँका कुनै पनि निर्णय त्यहाँ कार्यरत मानिसका विवेकले गर्ने हो । बिडम्वनापूर्ण आजको यथार्थ के हो भने सर्वोच्च अदालत स्वतन्त्र भनिँदै आएकोमा अब यो संस्था पनि स्वतन्त्र छैन र उसले गर्ने निर्णयहरू पनि स्वतन्त्र हुँदैनन् भन्ने कुरा आम नागरिकले नजिकबाट अध्ययन गर्ने मौका पाएका छन् । विगतका केही विवादित सर्वोच्चका निर्णयले पनि सर्वोच्च अदालत स्वतन्त्र छैन भन्ने कुरा पुष्टि गरेको थियो । एमाओवादीले खिलराजलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्ताव गर्दा रहस्यमय ढंगको तिनको मौनता भित्र कुनै खतर्नाख खेल छ भन्ने लागेको थियो । त्यही मौकामा सर्वोच्च अदालतले राष्ट्रिय आवश्यकता र उनको भित्री चाहनाका विषयमा पनि कुनै राजनीतिक पार्टीले वक्तव्य जारी गरे जस्तै गरी बोल्यो । सर्वोच्च अदालतले आफ्नो कथित स्वतन्त्र छविमाथि त्यतिबेला नै दाग लगाइसकेको थियो । न्यायको पक्षपाती एक सचेत नागरिक भएको हुनाले आजको मितिभन्दा पहिला सर्वोच्चको सम्मान गर्नु आफ्नो धर्म ठान्थँे ।

राष्ट्रको यो गन्जागोल अवस्थालाई पनि एक प्रकारको सुनौलो मौका र अवसर ठान्ने मौकावादीहरूको मौनता सर्वोच्चका लागि बल सावित हुन पुग्यो । खिलराज राज्यको कार्यकारी प्रमुख भएपछि सर्वोच्च अदालतले वक्तव्य जारी गरी भन्दै छ– खिलराजलाई प्रधानन्यायाधीशका रूपमा आफ्नो परिचय नदिनु होला । नेपाली जनतालाई राजनीतिक दलका नेताले त ढाँटे–ढाँटे सर्वोच्च अदालत पनि त्यसरी नै ढाँट्ने काम गर्दै छ । यो देशको कस्तो बिडम्वना । यो कस्तो देश हो ? यो कस्तो राजनीति हो ? यो कस्तो व्यवस्था हो ? यिनले गर्न खोजेका के हुन ? यी अहम् सवालहरूभित्र मलाई घोत्लिन मन लागेको छ । हाम्रो भुगोल सुन्दर छ, त्यसमा मलाई हृदयदेखि नै गर्व लाग्छ । हामी आफ्नो देश भैकन पनि राजनीति गर्न स्वाधिन छैनाँ,ै मन सारै कुँडिन्छ दु:ख लाग्छ । राष्ट्र र नेपाली जनतालाई खेलौना सम्झिने राजनीतिक दलका नेताहरूको रबैया हेर्दा मनभित्रैदेखि सरम लाग्छ । दलका नेताहरू यो देशलाई के गर्न खोज्दै छन् भन्ने कुराको भविश्यको चित्र आँखामा आउँछ । घरबाट बाहिर निस्किन पनि डर लाग्छ । लोकतन्त्रको नाममा नेपाली जनतालाई उल्लू बनाउने दलका नेताहरूको सक्कली अनुहार १४ जेठ मध्यरात सबैले देख्ने गरी उदांगो भइसकेको थियो । बिगतको सम्झना ताजै छ । आफूले भूमिका पाएर पनि निर्वाह नगर्ने विचरा सभासदहरू अन्तिम अवस्थामा भए पनि संविधान सभाको बैठक अविलम्ब राख्न नारावाजी गर्दै थिए । चार वर्षसम्म कुनै पण्डितले भजनकृतन गरे जस्तै निरन्तर संविधानसभाबाटै संविधान बनाउनुपर्छ र बन्छ भन्दै भाषण गर्दै हिंड्ने सभामुख त्यो रात कता हराए कसैले पत्तो पाएन । त्यत्रो तामझामका साथ जन्मेको संविधानसभा कुनै लावारिस लासझै एक्लै ढल्यो । खिलराजलाई अघि सारेर फेरि अर्को बच्चा जन्माउने गफ गरिँदै छ । आफूलाई धुरन्धर राजनीतिज्ञ ठान्ने पन्डितहरू फेरि पनि मौन छन् । हे भगमान यिनको सत्बुद्धि कहिले आउला । दलका नेताहरूले सहमति र सहकार्यको नाममा जनतालाई ढाँट्ने र राष्ट्रलाई लुटने काम गरेको दसकौं भइसक्यो । जनमुखी शासनका पक्षमा बोल्नेहरूले यो कुकर्मलाई अपराध हो भन्न सक्नुपथ्र्यो । संसद्वादी र माओवादीबीचको हिंसा र प्रतिहिंसाबाट राष्ट्रमा भएको मानवीय क्षति र भौतिक संरचनाको क्षतिको हिसाब चुक्ता नगरीकन दलहरूले राष्ट्रमाथि संविधानसभामार्फत अर्को आर्थिक भार थप्ने काम त गरेकै थिए । फेरि यिनै असक्षमहरूलाई सत्ता सुम्पिन अर्को संविधानसभा गरेपछि यो देशको आर्थिक अवस्था कस्तो होला ? जनता र राष्ट्रप्रति भएको अन्यायका विरुद्ध बोल्न मानिसहरू किन डराएका होलान् ?
निमुखा जनताका जीवनका दर्दनाक पीडाअगाडि सारेर हरेकपटक नयाँ व्यवस्था र संविधानको खोजी गर्नेहरूले आफ्नो व्यवस्था र जीवनशैली उन्नत प्रकारको बनाए । तिनका लहलहैमा लागेर आफू मर्ने र राष्ट्रलाई विदेशीको खेलमैदान बनाउन सहयोगी भूमिका खेल्ने जनता जनार्दनले राष्ट्रको अवस्था कति कमजोर भयो र बनाइयो भन्ने पत्तो पाएका छैनन् । मुठ्ठीभर मानिसहरूले राष्ट्रलाई आफ्नै विर्ता जसरी मनपरि ढंगले पंजनी गर्दा पनि नेपाल राज्य हुनुको राष्ट्रिय, अन्तर्राष्ट्रिय मूल्य मान्यताको आधार खोजी नहुँदा यो राष्ट्र राज्य नभई बलियाले भोग गर्ने एउटा भूगोलको क्षेत्रका रूपमा परिणत भएको छ । राष्ट्रमा अशान्ति दलका नेताहरूले राजनीतिक स्थायित्व दिन नसकेका कारण भइरहेको छ । भ्रष्टाचार गर्नु, गराउनु उनीहरूको पहिलो धर्म भएको छ । राजनीतिलाई अपराधीकरण गर्ने पनि उनीहरूनै हुन् । बाह्य हस्तक्षप निम्त्याउने पनि उनीहरूनै हुन् । उनीहरूका आचरण लोकतान्त्रिक छैनन् । उनीहरूभित्र सत्ता र शक्तिको घमण्ड छ । विचार र राजनीतिक कार्यक्रमका आधारमा भन्दा पनि सोझा जनताको पाखुराका बलमा प्राप्त भएको शान, मान र सत्ता गुम्ने हो कि भन्ने नेताहरूलाई चिन्ता छ । भएको संविधान नमान्ने र कानुनी शासनको उलंघन गर्ने नेताहरू प्रचलित कानुनभन्दा पनि माथि बसेका छन् । आफ्नो देश चलाउन र दलका नेताहरूले क्षतविक्षत पारेको राष्ट्र पुनर्निर्माण गर्न विदेशीका बैसाखी टेक्ने कुनै पनि राजनीतिक नेतृत्वले अब उपरान्त राष्ट्र हाक्ने नैतिक हक राख्न सक्दैनन् । खुलेआम रूपमा विदेशीहरूले छरपस्ट ढंगले दिएको पैसा राष्ट्रिय राजनीतिमा अन्जान जनताकाबीच दुरूपयोग गरेर नेपालीको एकतामा विभाजन ल्याउन खोज्नेहरूबाट राष्ट्रको रक्षा गर्नु र आम नेपालीको सदियौंदेखिको एकता अक्षुण्ण राख्नु सबै नेपालीको यतिबेलाको पहिलो राष्ट्रिय धर्म हो । जागरूक युवापुस्ता आफ्नो स्वविवेकमा भरोसा गर्न सक्छ । आफ्ना विचारमा अडिग रहन सक्छ । अब युवालाई अक्षम राजनीतिक नेतृत्वविरुद्ध खबरदारी गर्दै पाखा लगाएर, यो अन्यौलतालाई चिर्दै राष्ट्र हाक्ने जाँगरसहित अगाडि आउन मार्ग प्रसस्त भएको छ ।
राष्ट्र र हामी नेपाली जनता कस्का कारणले बर्बादीको डिलमा पुग्यौँ, अथवा पुग्दै छौँ भन्नेतर्फ हेक्का राख्न नसकी आ–आफ्ना तालमा, सुरमा दौडिने नेपाली समाज यो राष्ट्रको अस्तित्व समाप्त नगरी थान्को नलाग्ने हो भने हाम्रो भन्नु केही छैन । अफगानिस्तान, इराक, लिबिया हुँदै सिरियामा जस्तो विदेशी सेनालाई नेपाली भूगोलभित्र हुल्नका लागि दलका नेताहरू, जातीय, धार्मिक संगठनका अगुवाहरूसमेतलाई माध्यम बनाएर विदेशीहरू आफ्नो काम पूरा गर्न लागि परेका छन् । संविधानसभाको निर्वाचन भएको पाँच वर्षसम्म पनि संविधान निर्माण गर्न नसक्ने अक्षमहरूलाई फेरि अर्को संविधानसभाको चुनावमा पठाएर विदेशीहरूले गाईजात्रा गर्न खोजेका छन् । यो कुकर्मले नेपाल र नेपालीको भाग्यको फैसला हुनेछैन । नेपालीहरूले फेरि गाउँगाउँमा आपसमा जुध्नु पर्नेछ । राष्ट्रिय राजनीतिको लगाम देशबाहिर भएको चाल नपाउने मूर्खहरू नेपाल र नेपाली जनतालाई फेरि आपसमा लडाउने छन् । सबैलाई चेतना भया ।
[email protected]

प्रतिक्रिया