किसानलाई बाँदरले हैरानी

गुल्मी, ११ चैत । गुल्मीको जैसिथोक र छापहिले गाविसमा खेतीमा बाँदर पल्किएपछि किसानलाई हैरानी भएको छ । खन्ने समय हुन लागेको आलु तथा अन्य तरकारी एवं फलफूल बाँदरले खाइदिन थालेपछि जैसिथोक र छापहिलेका किसान चिन्तामा परेका हुन् । जैसीथोक–७ का किसानले नगदेबाली बाँदरले दैनिक रूपमा खाएको बताएका छन् ।

बाँदरले बारीमा लगाएको गहुँ, मुसुरो, केराउ, सिपचनालगायत बाली खाने तथा नष्ट गर्ने गरेको पीडित किसान बताउँछन् । काममा व्यस्त हुनुपर्ने किसान आज–भोलि बाँदर धपाउन बारीमै दिन बिताउन बाध्य भएका छन् । बाँदरले अन्नबाली मात्र होइन, घरको छानामा जाने र घरभित्र पसी दु:खसमेत दिने गरेको स्थानीय सरस्वती पोखरेलले बताइन् ।
छापहिले–६ का किसानलाई बाँदरले निकै सताउने गरेको छ । वडा नम्बर ६ र ७ का किसानलाई बाँदरले नोक्सानी पुर्‍याएको हो । बारीमा लगाएको आलु, मकै, मुसुरो, गहँु, जौ, तरकारी, फलफूललगायत बाली उखेल्ने तथा खाने गरेको पीडितहरूको भनाइ छ । आफूले लगाएको नगदेबालीलाई बाँदरले नष्ट गर्न थालेपछि खेतबारीमा बाँदर धपाउन खटिनुपर्ने बाध्यता बनेको उनीहरूको भनाइ छ ।
तराईमा छिट्टै बाली पाक्न थाल्यो
कञ्चनपुर : जलवायु परिवर्तनको असरका कारण कञ्चनपुरसहित तराईका जिल्लामा विगतमा भन्दा केही समयअघि नै गहुँ बाली पाक्न सुरु भएको छ । समय नपुगी नै बाली पाक्नाले दाना पोषिलो नहुने र दाना चाउरी पर्ने समस्या देखा परेको कृषि विकास कार्यालय कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले जानकारी दिए । गहुँबाली पाक्न १ सय २५ दिन आवश्यक रहने भए पनि सय दिनमै बाली पाकेको भट्टले बताए ।
‘अब जलवायु परिवर्तनलाई ध्यानमा राखी उपयुक्त बाली लगाउनुपर्छ,’ उनले भने, ‘यसबाट कृषकले घाटा व्यहोर्नु पर्दैन । जलवायुको सबैभन्दा बढी असर केही वर्षयता धान, गहुँ, तरकारीलगायत बालीमा परेको देखिएको छ ।’

प्रतिक्रिया