यस्ता भएछन् पारस

Paras-Shahaकाठमाडौं, ११ चैत । बैंककमा उपचाररत पूर्वयुवराज पारस शाहले अस्पतालको बेडबाटै आफ्नो तस्बिर सार्वजनिक गरेका छन् । फेसबुकमा शनिबार पोस्ट गरेको तस्बिरमा पारस दुब्ला तर हँसिला देखिन्छन् ।

स्वास्थ्यमा चामत्कारिक सुधार आएपछि बैंककको समितिवेज अस्पतालले उनलाई चाँडै डिस्चार्ज गर्ने तयारी गरेको छ । उनी एक साताभित्र डिस्चार्ज हुन सक्ने स्रोतले बतायो । पारस अहिले यताउति हिँडडुल गर्न र कुराकानी गर्न सक्छन् । उनले अस्पतालको शय्याबाटै फेसबुक चलाउने गरेका छन् ।
अस्पतालबाट डिस्चार्ज भएपछी नेपाल फर्किने सोचमा पारस र उनको परिवार रहेको छ । यद्यपी, चिकित्सकहरुले डिस्चार्जपछि पनि केही दिन बैंककमै रहन सल्लाह दिएका छन् । पारसका बाबु पूर्वराजा ज्ञानेन्द्र र पत्नी हिमानी र एक छोरी अहिले बैंककमै छन् । आमा कोमल भने छोराको स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि नेपाल फर्केकी थिइन् ।
दोस्रोपटक हृदयघात भएपछि पारसलाई बैंकको समितिवेज अस्पताल भर्ना गरिएको थियो । पहिले सिसयू र पछि आइसियु कक्षमा राखी उपचार गराइएका उनको ११ दिनपछि मात्र होस खुलेको थियो । पारसको शरिरको रक्तचाप, तापक्रम, मुटुको गति सबै सामान्य बनिसकेको छ । अहिले उनलाई अस्पतालको सामान्य वार्डमा राखेर उपचार भइरहेको छ ।
पारसले बुधबार लेखेको फेसबुक स्ट्याटसमा आफू चाडै स्वस्थ भएर स्वदेश फर्किने उल्लेख छ । उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई हृदयदेखि धन्यवाद दिएका छन् । पारसले लेखेका छन्, ‘मेरो जीवन तिनीहरुका लागि जो मलाई माया गर्छन, मेरो निम्ति प्रार्थना गर्छन् र मेरो लागि सोच्छन् ।’
उनको फेसबुकमा थुप्रैले स्वास्थ्यलाभको कामना व्यक्त गरिरहेका छन् । उनले राखेको पछिल्लो तस्बिरलाई करिब दुई सय जनाले सेयर गरेका छन् भने सयौंले कमेन्ट गरेका छन् । पारसको फेसबुकमा २५ सय भन्दा बढी साथी बनिसकेका छन् ।
म चाडै फर्किनेछु

फेरि बाँचेँ । धन्यवाद सबै जनालाई, जसको प्रेम र प्रार्थनाले मलाई ११ दिनपछि फर्कायो । मेरो हृदय, शरीर आत्मा र मस्तिष्क सबैमा तपाईंहरू हुनुहुन्छ । मेरो जीवन तिनीहरूका लागि जो मलाई माया गर्छन्, मेरा निम्ति प्रार्थना गर्छन् र मेरा लागि सोच्छन् ।
तपाईंहरूको (प्रार्थना) विना म (बाँच्न) कदापि सक्दिनथेँ । अँध्यारो सुरुङमा प्रकाश खोजिरहँदा मेरो नाम लिनेहरू… सबैलाई माया…. सबैलाई धन्यवाद जसले मेरोबारेमा सोच्नुभयो । जब म बेहोसीमा थिएँ, प्रत्येक पल कसैले मलाई सम्झिरहेको थियो र यसले मलाई बाँच्न र (रोगसँग) लड्नका लागि शक्ति तथा तागत मिल्यो । यही सत्य हो …. । मलाई थाहा छ, म ईश्वरसित लड्न सक्दिनँ तर … तपाईंहरू सबैका लागि अन्त्यसम्म लड्नु थियो… यसचोटि त अन्त्यपछि पनि (हा..हा..) †
म अब (पुरानो अवस्थामा) फर्केको छु । म चाँडै घर फर्किनेछु । म वाचा गर्छु, फर्किनेछु ।

प्रतिक्रिया