गल्ती भए सुधार गर्दै जानुपर्छः महत

Ramsharan-Mahat-1काठमाडौ, १० चैत । कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले विगत सरकारबाट राजनीतिक नियुक्ति पाएकाहरुले अहिले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता महतले राजीनामा नदिनेहरुलाई सरकारले नै बर्खास्त गर्नु पर्ने बताए । उनले राजनीतिक नियुक्ति पाएकाहरुले पद नछाड्दा सम्म निर्वाचन निष्पक्ष नहुँने पनि दाबी गरे ।
‘जेठ–१४ पछिको अवस्थामा संविधानबाट निकास निस्कन नसक्ने भएकाले विधि मिचेरै भए पनि निकासका लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार निर्माण गर्नु परेको छ,’ उनले भने, ‘लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न बाध्यता स्वरुप दलहरुले अहिलेको सरकार गठन गरेका हुन् ।’
असामान्य परिस्थिति भएकाले निकास पनि असामान्य नै हुने उनको भनाई छ । ‘दलहरुले गरेका सबै कुरा ठीक हुन्छ भन्ने होइन,’ उनले भने, ‘गल्ती भए त्यसलाई अदालतले सुधार्दै लैजानु पर्छ ।’

प्रतिक्रिया