काठमाडौं र पोखरामा समानान्तर वैठक

काठमाडौं, १० चैत । एमाले भ्रातृसंगठन अनेरास्ववियुको नेतृत्व दुई चिरा परेको छ । अनेरास्ववियुका दुई गुटले शुक्रबार अलग–अलग बैठक बसी निर्णय सार्वजनिक गरेका छन् ।

आयोजक कमिटीका माधव ढुंगेल पक्ष पोखरामा र सहसंयोजक सुधीर साह पक्ष काठमाडौंमा बैठक बसेका हुन् । पोखरामा बसेको ढुंगेल पक्षको बैठक बहिष्कार गर्दै साह पक्षको बिहीबार र शुक्रबार छुट्टै बैठक बसेको थियो । असन्तुष्ट पक्षधरले काठमाडौंमा छुट्टै राष्ट्रिय भेला डाकेका छन् । पार्टी अध्यक्ष झलनाथ खनालले बैठक रोक्न भने पनि माधव ढुंगेल पक्षले पोखरामा बैठक राखेपछि उनीहरूले छुट्टै भेला डाकेका हुन् ।
असन्तुष्ट पक्षका विद्यार्थीले बैठकको निर्णय सार्वजनिक गर्दै नयाँ कमिटी गठन गर्नका लागि चैत २९ देखि ३१ गतेसम्म देशभरका विद्यार्थीहरूको राष्ट्रिय भेला डाकेको जनाए । ढुंगेल पक्षले भने जेठ १४ देखि १६ गतेसम्म विधान सम्मेलन आयोजना गरेका छन् । काठमाडौं बैठकमा अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष सुधीर साह, नवराज पौडेल, लक्ष्मण लम्साल, नवीना लामा र कोषाध्यक्ष दीपक गौतमसहित ४० जना आयोजक कमिटीका सदस्य गरी १ सय ५३ जना निवर्तमान केन्द्रीय सदस्य सहभागी थिए । पोखरामा आयोजक कमिटीका ९७ जना केन्द्रीय सदस्य थिए ।
काठमाडौंमा बसेको असन्तुष्ट पक्षको बैठकले पार्टी निर्देशन नमान्ने माधव ढुंगेल र विद्यार्थी इन्चार्ज भानुभक्त ढकाललाई कारबाही गर्नसमेत माग गरेको छ । संगठनका उपाध्यक्ष सुधीर साहले एमाले अध्यक्ष खनालले पोखरा बैठक स्थगन गर्ने लिखित निर्देशन दिँदा पनि नरोकिएकाले आफूहरूले छुट्टै राष्ट्रिय भेला आयोजना गर्न थालेको जानकारी दिए । उनले माधव ढुंगलले जबरजस्ती पार्टी अध्यक्षको लिखित आदेशलाई उल्लंघन गरेको बताए ।
‘पार्टी अध्यक्षले विवाद समाधान गर्न रिले अनशन र पोखरामा आयोजित केन्द्रीय बैठक स्थगन गर्न लिखित आदेश दिनुभएको थियो,’ उनले भने, ‘तर, हामीले अनशन स्थगन गरे पनि उहाँहरूले बैठक गर्नुभयो ।’ उनले पार्टीले दिएको निर्देशन नमानेकाले अलग्गै राष्ट्रिय भेला डाकेर अनेरास्ववियुलाई एकढिक्का बनाउन थालिएको दाबी गरे । उनीहरूले ३ सय ५३ जनाबाटै विधिसम्मत आयोजक समिति गठन गर्न माग गरेका छन् ।
एकपक्षीय रूपमा आयोजक कमिटी गठन गरेको भन्दै अनेरास्ववियुका असन्तुष्ट पक्षका विद्यार्थी ४ दिनसम्म रिले अनशनमा बसेका थिए । पार्टी अध्यक्षले अनेरास्ववियुभित्रको समस्या समाधान गर्ने भनेपछि रिले अनशन स्थगन गरेका थिए । पार्टीले गठन गरेको आयोजक कमिटीका ४० जनाले कमिटी त्रुटिपूर्ण र अव्यावहारिक भएको भन्दै सच्याउन माग गरेका थिए ।
उपाध्यक्ष लक्ष्मण लम्सालले ढुंगेल पक्षले पार्टीको निर्देशन नमानेर आफूहरूलाई पेलेर लैजान खोजेकाले भेला डाकिएको बताए । ‘हामीले संगठनभित्र समास्या समाधान गरौँ भनेका थियौँ । तर, ढुंगेलले नमानी एकतर्फी रूपमा बैठक राख्नुभयो,’ उनले भने, ‘त्यसैले बाध्य भएर हामीले पनि भेला डाकेका हौँ ।’ उनले भेलाले आमविद्यार्थीको चाहनाअनुसार अहिलेको आयोजक कमिटी भंग गर्दै नयाँ कमिटी पनि बन्न सक्ने बताए । ‘भेलाले जे फैसला गर्छ, त्यसैअनुसार अघि बढ्छौँ,’ उनले भने ।
उता, ढुंगेलले पार्टीले समयमै जानकारी नगराएको हुनाले बैठक रोक्न नसकिएको बताएका छन् । ‘हामी ७ गतेबाट नै पोखरा पुगिसकेका थियौ । देशभरबाट सम्पूर्ण साथी आइसकेका थिए,’ उनले सौर्यसँग भने, ‘रोक्ने आदेश ढिला प्राप्त भयो ।’ उनले केही साथीले गैरजिम्मेवार ढंगले अलग्गै भेला डाक्न थालेको भन्दै मिलेर अगाडि बढ्न आग्रह गरे ।
फागुन १९ गतेको एमाले स्थायी कमिटी बैठकले विद्यार्थी नभएका, कारबाहीमा परेका, विदेश गएका र निष्क्रिय रहेकालाई हटाउँदै अध्यक्ष माधव ढुंगेलको संयोजकत्वमा १ सय ४१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । विद्यार्थी इन्चार्ज भानुभक्त ढकालले पूर्वाग्रही ढंगले आºना पक्षलाई मात्र समेटेर आयोजक कमिटी बनाएको भन्दै असन्तुष्ट पक्षका विद्यार्थी आन्दोलित भएका थिए ।
यस्तै, पोखरामा भएको बैठकले जेठ १४ देखि १६ गतेसम्म अखिलको विधान सम्मेलन गर्ने भएको छ । बुधबारदेखि सञ्चालित बैठकले सो निर्णय गरेको हो । वैशाख १० गते शैक्षिक सम्मेलन गर्ने पनि निर्णय भएको छ । बैठकले अखिलका अध्यक्ष माधव ढुंगेलको संजोकत्वमा १ हजार १ सय १ जनाको स्ववियु निर्वाचन कमिटी र निवर्तमान महासचिव किशोरविक्रम मल्लको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको छ । बैठकले निवर्तमान ५ उपाध्यक्षलाई सोही जिम्मेवारी सुम्पेको छ ।

प्रतिक्रिया