महासागर,खाडी र बादल

Sanjeev-upreti०१३ को १ जनवरीमा डलास (टैक्सस) बाट उडेको विमान सान फ्रान्सिस्कोमा अवतरणका निम्ति तयार हुँदै थियो । झ्यालबाट बाहिर हेर्दा पानी नै पानी देखेँ मैले । सोचँ–यो प्रशान्त महासागर हुनुपर्छ । तर, मैले देखेको अथाह जलराशी प्रशान्त महासागरको नभएर सान फ्रान्सिस्को खाडी (बे) को रहेछ भन्ने ज्ञान भने चार दिनपछि ट्विन पीक नामक डाँडाबाट सम्पूर्ण खाडी क्षेत्रको भुगोललाई नियाल्दा मात्र भयो । डाँडाको टुप्पोबाट प्रस्ट देखियो–पश्चिमी क्षितिजको नीलो आकाशमा जोडिएर अझ उतै हराएको अथाह, असीम प्रशान्त महासागर, उत्तरतिर सान फ्रान्सिस्कोलाई मरिन काउन्टीसँग जोड्ने रातो रंगले पोतिएको प्रख्यात गोल्डन गेट ब्रिज र पुलको तलबाट महासागरको पानीभित्र छिरेर उत्तर दक्षिण दुवैतिर फैलिएको सान फ्रान्सिस्को खाडी । खाडीको पूर्वमा मैले पोस्ट डक्टोरल शोधको दोस्रो चरण पूरा गर्नुपर्ने यु सी बर्कले विश्वविद्यालय, रिचमन्ड तथा ओकलैन्ड सहरहरू तथा पश्चिममा बहुसांस्कृतिक र उदारवादी सहर भनेर चिनिएको सुन्दर सान फ्रान्सिस्को नगरी देखेँ †

मेरा साथी कवि महेन्द्र वृक्ष यसै सहरमा ध्यानगुरु बनेर बसेको सम्झेँ । लाग्यो, वृक्षले बसोबासका लागि राम्रै ठाउँ छानेका रहेछन् । ट्विन पीकबाट महासागर र खाडीमा टिलपिलाएको किरण अनि समुद्रमा डुब्दै गएको रातो सूर्य हेर्दै जाँदा आफैँ ध्यान लाग्छ होला ।
सान फ्रान्सिस्कोको पश्चिममा रहेको प्रशान्त महासागरको पानीलाई मैले एकपल्ट पूर्वमा, इन्डोनेसियाको बाली टापु घुम्न जाँदा छोएको थिएँ । लाग्यो, पूर्वदेखि पश्चिमसम्म फैलिएको यस असिमित महासागरका लहरहरू सँगसँगै प्रकृतिको अज्ञात शक्ति तलमाथि गर्दै छ । मानवले महासागरको छेउमा सान फ्रान्सिस्कोजस्ता नगर बनाएर प्रकृतिलाई परास्त गरेको अनुभूति गरे तापनि सागरसँग सभ्यतालाई डुबाउने अझै प्राचीन शक्ति छ ।
प्रशान्त महासागरको पानी हरियो, नीलो रंगको थियो । यसविपरीत खाडीको पानी आकाशे नीलो रंगको † मानौँ कुनै अदृश्य कलाकारले हरियो, नीलो रंग भरेको बाल्टीमा सेतो रंग घोप्ट्याएर हरियोलाई आकाशे नीलो बनाएको छ । सागरको पानीमा प्रकृतिको अद्भूत, त्रासपूर्ण शक्ति सलबलाइरहेको थियो, खाडीको हल्का नीलाम्य पानीमा त्रास नभएर केबल सुन्दरता थियो । लाग्यो, सान फ्रान्सिस्कोको खाडी मानवहरूसँग बस्दा बस्दै नरम बनेको छ, बर्कले मरीनाबाट देखिने, गोल्डन गेट पुलमा झरेका नरम गुलाफी साँझहरूझँै π
बर्कले विश्वविद्यालयमा शोधको काम सुरु भएपछि भने अर्कै खाडीमा डुब्न पुगेँ । त्यो थियो बर्कलेको इ–लाइब्रेरी । पुस्तकालयका दराजमा राखिएका गत्ता पाना भएका ठोस पुस्तकहरूविपरीत इ–लाइब्रेरीका पुस्तक, लेख, तथ्यांक तथा अन्य शोध सामग्री कम्प्युटरको स्क्रिनमा सलबलाएका काला अक्षरमार्फत इन्टरनेटको विश्वव्यापी महासागरमा तैरिइरहेका थिए । सान फ्रान्सिस्कोको खाडी तटमा बल्छी थापेर उभिएका मछुवाझैँ म पनि कम्प्युटरको माउसरूपी बल्छी चलाएर शोध सामग्रीलाई इ–लाइब्रेरीको खाडीबाट बाहिर तान्दै, पढ्दै, लेख्दै आफ्नै शोधमा डुब्दै गएँ । बढीजसो समय प्रोफेसरहरूसँग भेटघाट, लेक्चरनिम्ति अन्य विश्वविद्यालयहरूको भ्रमण आदिमै दिनुपर्ने हुनाले साइबर जगत्को मछुवा बनिरहन गार्‍हो थियो, तर पनि भ्याएका बेला इ–लाइब्रेरीको खाडीमा माउस चलाएर चोपलिइरहेँ ।

सान फ्रान्सिस्को खाडीको पूर्व र पश्चिम दुवैतिर मेरा विद्यार्थीहरू भेटँ । खाडीको पश्चिमतिर थिए जीवन रिजाल भने यता देवेन्द्र पौड्याल तथा हेर्वाड सहरमा बस्ने कृष्ण ज्ञवाली । देवेन्द्रले अर्चना र मलाई बर्कले मरीनाबाट समुद्रमा डुब्दै गएको मनमोहक गुलाफी सूर्यास्त देखाए भने जीवनले ट्विन पीक तथा गोल्डन गेट ब्रिज घुमाउन लगे । कृष्णसँग भने डेल भ्याली, खाडीेको पुछारमा रहेको गुगल र स्टैनफोर्ड विश्वविद्यालय घुम्न गयौँ । सान्ता क्रुजको समुद्री तटबाट उत्तर लाग्दै गुगलको प्रमुख कार्यालय पुग्न खोज्दा कृष्णले एउटा गलत एक्जिट लिएका थिए र हामी केहीबेर अलमलमा पर्‍यौँ । कार दाँयातिर मोड्ने कि बायाँ ? गुगलको कार्यालय खोज्न केही बेर ‘सर्च’ गर्नुपर्‍यो । जे होस, गुगल पुग्याँै र त्यसको भव्य प्रांगड देखेर प्रभावित पनि भयौँ । हरिया चौर, ठाउँठाउँमा इन्सटलेसन आर्टका नमुना र थुप्रै साइकिलहरू । सानोतिनो गाउँ नै रहेछ गुगल । त्यसका कर्मचारीलाई गुगल गाउँमा भरसक साइकलमै हिँड्न प्रोत्साहित गरिँदो रहेछ । गुगलकै छेउमा सान होजे रहेछ र छेउछाउका सम्पूर्ण सिलिकन भ्याली इलाकामा आइबिएम देखि लिएर अलट्राटेक सम्मका एक हजारभन्दा बढी ठूल्ठूला व्यवसायिक कम्पनीहरू । इन्टरनेटबाटै संचालित व्यापारिक पोर्टल इ–बे को अवधारणा पनि यहीँ जन्मिएको रहेछ । बर्कलेको इ–लाइब्रेरीमा पुस्तकहरू थिए भने इ–बेको खाडीमा उपभोगमा वस्तुहरू तैरिइरहेका । कारदेखि लिएर ल्यापटप, लुगा कपडा, आइप्याड र फोनलगायतका सबै वस्तु इ–बे भित्र छिरेर बेच्न पनि मिल्ने तथा किन्न पनि मिल्ने । लाग्यो, यो इ–बे सान फ्रान्सिस्कोको खाडीभन्दा पनि बढी गहिरो छ । बाहिरी यर्थाथको खाडीमा मोटरबोटहरू सलल लस्कँदै थिए, इन्टरनेटको भित्री खाडीमा किनबेच हुँदै थियो । लाग्यो, प्रशान्त महासागरका लहरमा अदृश्य प्राकृतिक शक्तिहरू सलबलाएझैँ यस इ–खाडीभित्र पनि अज्ञात शक्तिहरू जुरमुराइरहेका छन् । तर, सायद यी शक्तिहरू प्राकृतिक नभएर व्यापारिक छन्, यिनको प्रकृति भिन्न प्रकारको छ ।
मैले प्रशान्त महासागर तथा सान फ्रान्सिस्कोको खाडीलाई पटकपटक आकाशबाट हेर्ने मौका पाएँ । बर्कले बसाइकै दौरान सिकागो, टैक्सस तथा क्यालिफोर्नियाकै अन्य विश्वविद्यालयबाट लेक्चर गर्ने निमन्त्रणा आयो । हरेकचोटि सान फ्रान्सिस्कोबाट उड्दा र फर्कंदा गोल्डन गेटको ढोकाबाट महासागरभित्र छिरेर बनेको मनोरम खाडीलाई हेरी बसेँ । सिकागोबाट सान फ्रान्सिस्को फर्कंदा विमानको सिट अगाडिको स्क्रिनको नक्सा तथा झ्यालबाट तल देखिएका दृश्यहरू बिचतारतम्य मिलाउँदै संयुक्त राज्य अमेरिकाको भूगोल बुझ्न खोजँे । विमान सिकागोबाट पश्चिम उडेर इलिनोया तथा आयोभा राज्यहरू पार गरुन्जेलसम्म त तलको भूमि हरियो–परियो नै देखँ–हरिया फाँट, माथिबाट स–साना खेलौनासरह देखिने सहरहरू, बीचबीचबाट कुदेका सिसाकलमले कोरेका धर्साजस्ता सडकहरू । तर, त्यसपछि भने तल हिउँले ढाकेका पर्वत र मरुभूमिहरू देखिन थाले । कुन ठाउँ रहेछ भनेर बुझ्न स्क्रिनमा देखिएको नक्सालाई ‘जुम’ गरेर हेरेँ । हामी नेब्रास्का राज्य माथिबाट उड्दै रहेछौँँ । फेरि तल हेरँे । कतै हिउँले ढाकेका काला पहाड त कतै बादलको राशले छोपेको मरुभूमि । न कुनै सहर देखिन्छ न अन्य कुनै किसिमको मानव उपस्थिति । स्क्रिनलाई फेरि ‘जुम’ गर्दा आफू बसेको विमान कोलोराडो राज्यको उत्तरी भागबाट उड्दै गएको थाहा पाएँ । तल भने बादलै बादलको सेतो महासागरले जमिनलाई छोपेको थियो । आधा घन्टापछि बादल हटे र पुन: हिउँले ढाकेका पहाड र बीचबीचमा काला खाँेचहरू देखेँ । सेता पहाडका ती काला खाँेच हेर्दाहेर्दै लाग्यो मानाँै ती कुनै अद्भूत दानवले हिउँमा नंग्राले कोतरेर बनेका खोँचहरू हुन् । पहाडका टुप्पा छोपेको हिउँ हेर्दाहेदै सिकागोमा मित्रद्वय प्रमोद मिश्र र रमेश पराजुलीसँग खाएको बटरस्कच आइसक्रिम सम्झेँ । लाग्यो, कुनै अदृश्य दानवले जंगलहरू निलेर अघाउन्जेल सागरको पानी पिएपछि डेजर्टनिम्ति पहाडका टुप्पा ढाक्ने सेतो आइसक्रिम खान लाग्दै छ ।
फेरि स्क्रिनमा हेरेर तल देखिएको भूगोल बुझ्न खोजँे । हामी अहिले नेवादाको मरुभूमिमाथि उड्दै रहेछाँै । सान फ्रान्सिस्कोको खाडीझैँ विमानबाट देखिएको बाहिरी जगत्को वास्तविक भौगोलिक यथार्थ थियो । सीट अगाडिको स्क्रिनमा चलमलाएको नक्सा त्यसबाहिरी यथार्थको डुप्लिकेट भए तापनि त्यसको आफ्नै वास्तविकता थियो, इ–लाइब्रेरी तथा इ–बे का पुस्तकाकार वस्तुहरूको मायावी यथार्थझैँ ।
एकपल्ट फेरि बाहिर हेरँे । बादलको सागर हराएर तलको जमिन प्रस्ट देखिएको थियो । मरुभूमि र हिउँका पहाडको सट्टा तल अब हरिया थुम्का र खुल्ला फाँटहरू थिए । लाग्यो, पुन: क्यालिफोर्निया आइपुगिएछ । हो कि होइन भनेर जाँच्न पुन: स्क्रिनको नक्सामा हेरँ । हामी लेक तहाओको दक्षिणबाट क्यालिफोर्निया छिरेर सान फ्रान्सिस्कोतिर उड्दै रहेछाँै । अवतरण सुरू भएको र सीट बेल्ट लाउनुपर्ने घोषणा भयो । पन्ध्र मिनेट जति अझै उडेपछि तल पानी नै पानी देखँे । यसपल्ट मैले खाडीलाई प्रशान्त महासागर सम्झने भूल गरिनँ । खाडी र महासागर छुट्टाछुट्टै यथार्थ थिए, स्क्रिनमा देखिएको नक्सा र बाहिर देखिएको भूगोलझैँ ।
सिकागोबाट बर्कले फर्केपछि अर्को चिन्ताले सताउन थाल्यो–केहीगरी मेरो कम्प्युटर चोरियो अथवा क्रयास भयो भने ? कम्प्युटरमा मैले लेखेर संगालेका लेख तथा इ–लाइब्रेरीको खाडीमा चोपलिएर खोजेका सबै शोध सामग्रीहरू एक क्षणमै ध्वस्त हुनेछन् । लौ अब के गर्ने ? बर्कलेमा अध्यापन गर्ने एक जना मित्रले सुझाव दिए–आजकल इन्टरनेटमा महासागर र खाडी भएजस्तै इन्टरनेटमै बादल पनि हुन्छ । तिम्रा लेख तथा अन्य शोध सामग्रीलाई तिनै ‘क्लाउड’ वा बादलमा जोगाउने गर । थुप्रै बादलमा सित्तैमा राख्न पाइन्छ । केहीमा भने पैसा तिर्नुपर्छ । कम्प्युटर क्रयास भए तापनि बादलमा राखेका सामग्रीहरू सुरक्षित रहनेछन् ।
सिकागोबाट आउँदा आकाशबाट हेरेका सेता नरम भुवाजस्ता बादलको सागर सम्झेँ । कतै बादलहरू मडारिएर सेता पहाडजस्ता बनेका, कतै घरजस्ता देखिएका, कतै बादलहरूको रास लागेर समतल भूमिजस्तो देखिएको त कतै सेता खाडीहरू बनेका । मानौँ कुनै अदृश्य हातले आकाशको क्यानभासमा बाक्लो सेतो रंग घोप्टाएर दैविक चित्रहरू कोरिरहेको छ । आकाशबाट देखिएका ती बादललाई सम्झँदै म पनि आफ्ना लेख तथा इन्टरनेटको खाडीमा खोजेका अन्य शोध सामग्रीलाई इन्टरनेटकै बादलमा ‘सेभ’ गर्नथालेँ ।

[email protected]

प्रतिक्रिया