मन्त्री हुने योग्यता

Khilraj-Regmi-Cortoonमुलुकको इतिहासमा केही वर्षयता मानिसले पहिले नसोचेका र नसुनेका काम कुराहरू हुँदै आएका छन् । यस्ता नयाँ कुरा आएपछि केही नेता र बुद्धिजीवी यो परम्परागत मान्यताविपरीत भयो भनेर विरोधको हो–हल्ला पनि गर्छन् । तर, त्यस्तो विरोध धेरै दिन टिक्न सक्दैन र परिवर्तनको प्रवाहले तिनलाई विस्तारै मत्थर पार्दै लान्छ । यस्तो परिवर्तन सबै राम्रै हुन्छ भन्ने त छैन तर विद्रोहीहरूको बढ्दो प्रभावले नराम्रोलाई पनि राम्रो भन्न कर लाग्ने गरेको छ । तर, यस्ता कहिल्यै न भएका कुरा जुन हुने गरेका छन् ती परिवर्तनका लागि मात्र होइन सत्ता स्वार्थको र्‍याङठयाङ मिलाउन मात्रै गरिने गरेका छन् । यस्तै अनौठा निर्णयमध्ये पछिल्लो अनौठो निर्णय हो, पूर्वविशिष्ट श्रेणीका कर्मचारीलाई मात्र मन्त्री बनाउने । देशको बागडोर कब्जा गरेर बसेको प्रमुख चार दलले खिलराज रेग्मीको मन्त्रिपरिषद्मा पूर्वविशिष्ट श्रेणीका कर्मचारीलाई मन्त्री बनाउने निर्णय त गर्‍यो नै, देशका राजनीतिक नेताचाहिँ निकम्मा हुन्छन् यसैले योग्य व्यक्ति भनेका विशिष्टश्रेणीका कर्मचारी मात्रै हुन्छन् भन्ने नजिर पनि स्थापित गरिदिएका छन् । नेपालका बुद्धिजीवीहरूमा एउटा हास्यव्यंग्य नै चलनचल्तीमा छ कि अरू कुनै काम गर्न नसक्ने मान्छे मास्टर हुन्छ रे † मास्टर पनि हुन नसक्नेचाहिँ राजनीतिमा लाग्छ रे † यो उखानलाई हाम्रा राजनीतिकर्मीहरूले स्वीकार गरेका हुन् जस्तो छ ।
राजनीतिकर्मीले राजनीतिज्ञलाई पन्छाएर उनीहरूको विकल्पमा यदि कसैलाई प्रस्तुत गर्नुपर्‍यो भने विशिष्टश्रेणीका कर्मचारीलाई अघि सार्नु जति बाध्यता छ त्यतिकै देशकै लागि अभूतपूर्व र नयाँ कुरा पनि हो । यस्तो महान् त्यागका लागि हामीले नेताहरूलाई धन्यवाद त दिनैपर्छ तर यस्तो त्याग बढ्दै जाँदा एक दलले अर्को दललाई देखिनसहने र उसले खानुभन्दा बरु परायाले खाओस् भन्ने कारणले हामीभन्दा त विदेशीहरू धेरै योग्य, समर्थवान हँुदारहेछन् अब विदेशीलाई पनि मन्त्री बनाउनुपर्‍यो भन्ने प्रस्तावमा छलफल सुरु भयो भने के हामी रोक्न सक्छौँ र ? हारै हारको इतिहास रचिसकेको नेपालको फुटबल खेलमा अहिले अफ्रिकीहरू हाबी हँुदै गएजस्तै असफलै असफल बेहोरिरहेको नेपाली राजनीतिमा पनि राजनीतिलाई सक्षम र शुद्ध पार्न भनेर छिमेकी या समुन्द्रपारबाट राजनीतिज्ञ झिकाइँदैन भन्ने कुनै ग्यारेन्टी नै हुन छोडेको छ । राजनीतिमा सिन्डिकेट खडा गरेर जस्तासुकै निर्णय पनि गरिदिने परम्पराले व्यक्तिगतरूपमा खिलराज रेग्मीजस्ता राम्रा मान्छे मात्र आउँछन् भन्ने के पो ग्यारेन्टी छ र ? प्रचण्ड र झलनाथ सधैँ राजनीतिमा हाबी रहन्छन् भन्ने पनि छैन । तर, नजिर परम्परा सधैँ जीवित रहन्छ । खिलराज रेग्मीलाई चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउने नजिरसमातेर पछिका राजनीतिक दलले प्रधानसेनापतिलाई नै अब प्रधानमन्त्री बनाउने भन्ने प्रस्ताव पनि न आउने कुनै सम्भावना छैन । सिन्डिकेटले आखिर जे गर्दा पनि हुने रहेछ नि त ?
तर, मन्त्री बन्ने योग्यताको मापदण्ड विशिष्टश्रेणीका कर्मचारी नै हुनुपर्छ भन्ने प्रस्ताव क्रान्तिकारी कामरेडहरूबाट आयो कि भन्ने शंका अहिले सबैतिर बढेको छ । किनभने यस्ता अनौठा र अनहोनी प्रस्ताव अरूले त कमै ल्याउँछन् नि । विशिष्टश्रेणीका हुनेबित्तिकै योग्य नै हुन्छन् भन्ने पनि कसरी मान्न सकेको होला ? पहिलो कुरो त कुनै व्यक्ति विशिष्टश्रेणीको कसरी हुन्छ ? अनि विशिष्टश्रेणी भएपछि त्यसले के गर्छ ? यो कुरा नेपालमा चाहिँ धेरै महत्त्वको कुरा हो । कुनै कर्मचारी प्रथम श्रेणीबाट तब विशिष्ट बनेको हुन्छ जब उसले कुनै शक्तिकेन्द्रको विश्वास जितेको हुन्छ । यस्तो विश्वास जित्न पहिले राजाका पालोमा राजपरिवारका महिला र केटाकेटीको विश्वास जित्नेदेखि लिएर असनबाट सुन्तला किनेर थाइल्यान्डबाट मगाएको हँु सरकार † भन्ने अनेक प्रपञ्च र पञ्च दुवै कुरालाई राम्रो बुझ्नु त पथ्र्यो नै, साथै कमिसन र कमाइका श्रोतका नयाँ नयाँ खोजी गरेर बिन्ती पनि चढाउने त विशिष्टको पनि विशिष्ट बन्थ्यो । यो प्रभावकारी परम्परा पछिका कांग्रेस र एमालेका पालोमा पनि प्रकारान्तरले कायमै रह्यो । कार्यकर्तालाई भर्ती गरिदिने, पार्टी कामका लागि आवश्यक पर्दा फन्ड जुटाइदिने, श्रीमती र छोरीहरूलाई विशेष उपहार दिने वा सारीको साइनोमा बाँधिने प्रथमश्रेणीकाहरू सहजै विशिष्ट बन्थे । त्यस्ता विशिष्टहरूको आवतजावत र हिमचिम कहाँ हुन्थ्यो भन्ने कुराका पूर्ण जानकार तिनका ड्राइभर हुन्थे । तिनले कहाँबाट श्रोतमा कब्जा गर्छन् भन्ने कुराका जानकार खरिदार र सुब्बा हुन्थे । तिनलाई औपचारिक सिफारिस गर्ने कर्मचारी युनियनका अध्यक्ष हुन्थे । विशिष्टश्रेणीका महानुभावहरूको लेखन क्षमताका जानकार उपसचिव हुन्थे भने निर्णय क्षमताका बारेमा सहसचिवहरू थाहा पाउँथे ।
विशिष्टश्रेणी हुनुको पहिलो योग्यता केही पनि नगर्नु हो । जबसम्म आफ्नो शक्तिश्रोतबाट कुनै इसारा हुँदैन तबसम्म कुनै पनि गर्नसक्ने काम पनि नगर्नु विशिष्टश्रेणीको पहिलो लक्षण हो । यसलाई स्वामी भक्ति भन्छन् । दोस्रो योग्यता भनेको कुनै कुरामा तबसम्म कुनै निर्णय नगर्नु हो जबसम्म ‘माथि’बाट दबाब हँुदैन । दुनियाँ भाडमा जाओस्, आफू कसरी बच्ने भन्ने विशिष्टश्रेणीका मान्छेको खुला लक्षण हो । जनता के चाहन्छन् त्यतातिर पूरै आँखा चिम्लेर कानुन नलाग्ने बाटो कुन हो, त्यसप्रति अत्यन्तै चनाखो रहनु विशिष्टश्रेणीका कर्मचारीले ध्यान दिनु योग्यताको प्रमुख सर्त हो । सानातिना ठिनेमिने मान्छेलाई मान्छे नै गन्नु र कर्मचारीमा पनि उपसचिवभन्दा तलका मान्छेलाई आफ्नो कार्यकक्षमा पस्नै नदिनु, विशिष्टश्रेणीका मान्छेको सबैभन्दा ठूलो पहिचान हो । यति धेरै पहिचान भएका विशिष्टश्रेणीका पूर्वकर्मचारीहरूलाई मात्र मन्त्रीमा नियुक्त गर्नुपर्ने मापदण्ड तयार गर्ने क्रान्तिकारी कामरेडहरूमा पनि सोचाइको आमूल परिवर्तन आइसकेको महसुस अब हामी सबैलाई भइसकेकै छ । युग परिवर्तन भएको छ । आम जनताले योग्य मान्छे चाहेका छन् । योग्य मान्छे भनेका सर्वसाधारण ठिनेमिनेका छोराछोरी हुँदा पनि हँुदैनन् । त्यस्ताले त जनतालाई घृणा पनि गर्दैनन् । कानुन मात्रै पनि हेर्दैनन् । त्यस्ताबाट अब मुलुक चल्दा पनि चल्दैन । त्यसै भएर होला बल्ल मन्त्री हुन विशिष्टश्रेणीको कर्मचारी भएको अनुभव हुनै पर्ने निर्णय हाम्रा प्रिय नेता र कमरेडहरूले गरेका छन् ।
अब पनि पेरिस डाँडाको हाउगुजी खडागरेर आफूलाई अब्बलदर्जाको लोकतन्त्रवादी नेता देखाउन राणाको दरबारका हुक्के र बैठकेहरूका छोरानातिले अखबारहरूमा आफ्नो विज्ञापन गरिरहने झन्झट बेसाउनुपर्छ र ? अब पनि आफूलाई क्रान्तिकारी देखाउन बिग्रिसकेका कमरेडहरूले मरिसकेको बाघका जुँगा उखेलेर बहादुरीको नयाँ नाटक देखाइरहनुपर्छ र ? आफूलाई लोकतन्त्रवादी सिद्ध गर्न त क्रान्तिकारीका जुँगा पो उखेल्न सक्नुपर्छ त । विशिष्टश्रेणीका कर्मचारी मात्र मन्त्री बन्न सक्ने निर्णय गर्ने कुनै राजनीतिक व्यक्तिलाई घनघोर क्रान्तिकारी हो भनेर त्यसको विरोध गरेकै भरमा अन्तर्राष्ट्रिय प्रभुहरूबाट लोकतन्त्रवादीको प्रमाणपत्र लिन खोज्ने हुक्के बैठकेको कर्तूतका पोल पनि प्रभुहरूकहाँ पहिले नै पुगिसकेको छ । अब बरु नयाँ नाटक सुरु गरौँ । पुराना नाटकका पर्दा बन्द गरौँ ।

प्रतिक्रिया