स्थानीयले १० मेगावाटको आयोजना बनाउने

काठमाडौं, ९ चैत । बाग्लुङ र गुल्मीका ८ गाविसका स्थानीय बासिन्दा १० मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि कस्सिएका छन् ।

नेपालमा लोडसेडिङको समस्या बढिरहेको बेला रिगा मनेवा सहकारी संस्था लिमिटेडमार्फत स्थानीय रिगा मनेवा दरम खोलामा जलविद्युत् आयोजना निर्माणका लागि स्थानीयबासी कस्सिएका हुन् । बाग्लुङको रिगा, मनेवा, काँडेबास, मल्म, पाण्डुखानी, सिसाखानी र दगा तथा गुल्मीको अर्लाङकोट गाविसका बासिन्दाको सहभागितामा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । ‘८ गाविसका बासिन्दा गाउँमै १० मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि कस्सिएका छौँ ।’, सहकारीका सह–सचिव नारायण धितालले भने, ‘६ महिनाभित्र आयोजनाको विस्तृत अध्ययन (डिपिआर) सक्ने र आगामी तीन वर्षभित्र जलविद्युत् आयोजना निर्माण पूरा गर्ने लक्ष्य छ ।’ आयोजनाको लागत दुई अर्ब अनुमान गरिएको आयोजनाले जनाएको छ ।
८ गाविसका बासिन्दालाई समेटर बनाइएको सहकारीमा आवद्ध १ हजार २ सय ९३ सदस्यले आयोजनाका लागि प्रति व्यक्ति न्यूनत्तम १० हजार रुपियाँदेखि ३० लाख रुपियाँसम्म सेयर हाल्नसक्ने आयोजनाले जनाएको छ । आयोजनाका लागि अहिलेसम्म सेयर सदस्यबाट एक करोड रुपियाँ उठिसकेको र बाँकी रकम छिट्टै उठाइने सेयर सदस्य भानुभक्त खरेलले बताए । ‘हामी गाउँलेहरू मिलेर यति ठूलो जलविद्युत् आयोजना बनाउन कस्सिएका छौँ ।’उनले भने, ‘आठ गाविसका सबै बासिन्दाको आयोजनामा सहभागिता भएकोले आयोजना समयमै बनाउन सक्छौ भन्ने लागेको छ ।’ उनका अनुसार, स्थानीयबासीको सेयरबाट नपुगेमा विभिन्न संघसंस्था र ऋण झिकेर आयोजना बनाउने लक्ष्य राखिएको छ ।
गोर्खा जलविद्युत् कम्पनीले आयोजनाको सर्भे अनुमतिपत्र लिएकोमा पछि सो कम्पनीले गणेश शेरचनलाई अनुमतिपत्र बेचिएको थियो । त्यसपछि पनि आयोजना अघि नबढेपछि गाउँको खोलामा गाउँले मिलेर जलविद्युत् आयोजना बनाउने लक्ष्यसहित स्थानीयबासी जलविद्युत् आयोजना बनाउन कस्सिएका हुन् । ‘आफ्नो गाउँको खोला झोलामा राखिएको थाहा पाएपछि हामी जलविद्युत् आयोजना बनाउनका लागि आपैँm कस्सिएका हौँ’ खरेलले भने । आयोजनाका लागि आवश्यक जग्गा भने खरिद भइसकेको छ । आयोजनाको जग्गा खरिद भइसकेको तथा पहुँच मार्ग पुगिसकेकोले आयोजनाको लागत बढी भएको जलविद्युत् क्षेत्रका सक्रिय एक स्थानीयबासीले बताए । ‘सामान्यता प्रति मेगावाट १५ करोड पर्छ तर पहुँच मार्ग र जग्गा खरिद भइसकेको यो आयोजनालाई दुई अर्ब अर्थात् झन्डै २० करोड प्रति मेगावाट पर्नु अलि महँगो देखिएको छ’ उनले भने, ‘विकट बाग्लुङका बासिन्दाबाट सेयर उठाएर बनाउन लागिएको आयोजना महँगो भएकोले यसबारे के भएको हो खोज्नुपर्ने भएको छ ।’
सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा आयोजना बढाउने र स्थानीय समुदायले बनाएको पहिलो आयोजनाका रूपमा यो आयोजनालाई विकसित गर्ने लक्ष्य रहेको सह–सचिव धितालले जानकारी दिए । स्थानीय समुदायद्वारा सहकारीमार्फत बनाउन लागिएको आयोजनाका लागि सबै प्रक्रिया अघि बढाइएको र आयोजना निर्माणमा सबै स्थानीयबासीको सहभागिता भएकोले स्थानीय क्षेत्रमा कुनै अवरोध नआउने आशा आयोजनाको छ ।

प्रतिक्रिया