नवजात ‘प्रवेशिका’ सँगै परीक्षामा

aryalगुल्मी, ९ चैत । गुल्मीको अम्मरपुरस्थित अम्मरपुर ओमप्रकाश गौतम उच्च माध्यमिक परीक्षा केन्द्रमा एक छात्राले नवजात शिशुसँगै एसएलसी परीक्षा दिइरहेकी छन् । परीक्षा दिँदादिँदै मंगलबार सुत्केरी भएकी उक्त विद्यालयकी वसन्ती अर्यालले आफ्नी छोरीको नाम प्रवेशिका राखी परीक्षालाई निरन्तरता दिइरहेकी हुन् ।

सामाजिक विषयको जाँच दिँदै गर्दा अर्यालले बच्चा जन्माएकी थिइन् । बच्चा जन्मेको ११ दिनपछि न्वारान गर्ने प्रचलन रहे पनि परीक्षाको समयमा जन्मिएकाले बुधबार न्वारन गरेर उनको नाम प्रवेशिका राखिएको छ । अर्यालले छैटौँ दिन जनसंख्या तथा वातावरण र सातौँ दिन अर्थशास्त्र विषयको परीक्षा पनि शिशुलाई काखमा च्यापेर दिएकी छन् ।
अध्ययनमा तीक्ष्ण उनी सुत्केरी भए पनि एसएलसी बिगार्न नहुने भन्दै परीक्षा दिन आएकी विद्यालयका प्राचार्य बालकृष्ण गौतमले बताए । परीक्षा केन्द्रको न्यानो र सुरक्षित ठाउँमा उनलाई परीक्षा दिने व्यवस्था मिलाइएको केन्द्राध्यक्ष हरिबहादुर कार्कीले जानकारी दिए । अर्यालका पति कृष्णप्रसाद वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । २ वर्षअघि १५ वर्षको उमेरमा उनीहरूको विवाह भएको थियो ।

प्रतिक्रिया