प्रहरीद्वारा परीक्षार्थी कुटपिट

राजविराज : एसएलसी दिन गएकी छात्रा डिमनस्थित परीक्षा केन्द्रमा महिला प्रहरीद्वारा कुटपिटमा परेकी छिन् । परीक्षा केन्द्रको गेटमा चेकजाँचका क्रममा प्रहरीले छात्रामाथि कुटपिट गरेकी हुन् ।
मैना कडेरी माध्यमिक विद्यालयमा अध्ययन गरी उच्चमावि डिमनमा परीक्षा दिइरहेकी निलु झा महिला प्रहरीद्वारा कुटिएकी हुन् । सधैँ परीक्षा सुरु हुनुभन्दा अगाडि नियमित चेकजाँच हुने गरेझैँ बुधबार बिहान पनि महिला प्रहरी लगाएर शरीर खानतलासी गर्ने क्रममा निलुको जिउबाट एउटा गेसपेपर फेला परेको थियो । चेकजाँचकै क्रममा फेला परेको दोस्रो गेसपेपरसमेत महिला प्रहरीले लिएपछि आफूलाई कुटपिट गरेको पीडित छात्राको आरोप छ ।
चुल्ठोमा समातेर अन्य विद्यार्थीहरूकै अगाडि गालामा थप्पड हानेको उनले बताइन् । प्रहरीले निलुलाई कुटेपछि आक्रोशित विद्यार्थीले बुधबारको परीक्षा नै बहिष्कार गर्ने भन्दै विरोध जनाएका थिए । अभिभावकसमेत जम्मा भएर छात्रामाथि कुटपिट गर्ने राजविराजस्थित सगरमाथा अञ्चल प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी निर्मला चौधरीलाई कारबाही हुनुपर्ने माग गर्दै नाराबाजी र होहल्लासमेत गरेका थिए । (सौस)

प्रतिक्रिया