थ्री–स्टार र मनाङले अंक बाँडे

Footballकाठमाडौं, ७ चैत । सुपर एटमा कमजोर प्रदर्शनका बाबजुद थ्री–स्टार क्लबले रेडबुल ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जित्ने सम्भावना प्रबल भएको छ । मंगलबार भएको खेलमा मनाङ– मस्र्याङ्दी क्लबसँग १–१ गोलको बराबरी गरे पछि थ्री–स्टारले पाँच अंकको अग्रता कायम राखेको छ । तथापि, एक खेल कम खेलेको एनआरटीले आरसिटीसँगको खेलमा जित हात पारेमा एनआरटी थ्री–स्टारसँगको दूरीलाई चार अंकमा झार्दै दोस्रो स्थानमा उक्लनेछ ।

सुपर एटमा अत्यन्त फिक्का र कमजोर देखिएको थ्री–स्टारले मनाङ–मस्र्याङ्दी क्लबसँगको खेलमा पनि त्यस्तै निरस प्रदर्शन गर्‍यो । १५औँ मिनेटमा विपक्षी गोलरक्षक एमानुएलको गल्तीको फाइदा उठाउँदै सहज गोल गरेका सन्तोष साहुखल त्यसपछि भने बेकामी थिए । मनाङका रक्षक विकास सिंह क्षेत्रीको प्रदर्शन पनि त्यत्तिकै कमजोर थियो । २३औँ मिनेटमा नविन न्यौपानेको फ्रीकिकमा सिकोले हेड गोल गरेपछि मनाङ–मस्र्याङ्दी बराबरी गर्न सफल भयो । थ्री–स्टारका गोलरक्षक किरण चेम्जोङ अघि बढे पनि उनको मिसजजका कारण सिको गोल गर्न सफल भए ।
एनआरटीसँगको खेलमा रातो कार्ड पाएका सन्दीप राईको अनुपस्थितिमा थ्री–स्टारले मनाङबाट धेरै नै दबाबको सामना गरेको थियो । मनाङले थुप्रै राम्रा अवसर पनि गुमाएको थियो । यसरी अवसर गुमाउनेमा शिव श्रेष्ठ र अनिल गुरुङ प्रमुख रहे । डीबक्सको आसपासमा मनाङ– मस्र्याङ्दीका खेलाडी अलमलिएभैँm थिए । थ्री–स्टारले दुईपटक राम्रो मौका पाएको थियो । दोस्रो हाफमा नै फेमीले सन्तोष साहुखलका लागि उत्कृष्ट पास उपलब्ध गराइदिए पनि मनाङका गोलरक्षक एमानुएलले यसलाई सानदार ढंगले बचाउ गरे । अन्तिम मिनेटमा विजय धिमालको क्रसमा विष्णु गुरुङले सहजै गोल गर्न सकेनन् । यसको केही मिनेटअघि मात्र अनिल गुरुङले टोलीका तीन खेलाडी उपयुक्त ठाउँमा भए पनि बल उपलब्ध गराउन नसक्दा मनाङ विजयी गोल गर्न चुकेको थियो ।

प्रतिक्रिया