आक्रमणमा तेइसको मृत्यु

बग्दाद : बग्दादमा सिया मुसलमानको क्षेत्रलाई लक्षित गरी शृंखलाबद्ध रूपमा गराइएको एक दर्जनभन्दा बढी कारबमलगायत अन्य बिस्फोटमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।  यस आक्रमणबाट अन्य ८८ व्यक्ति घाइते भएको सुरक्षा अधिकारीहरूले जनाएका छन् । मंगलबार निकै तयारीका साथ ती बम हमलाहरू भएका बताइएको छ ।
आक्रमणमा दुईवटा आत्मघाती बमलगायत १० वटा कारबम बिस्फोट गराइएको समाचारमा उल्लेख छ । मंगलबार बिहानको समयमा ती हमलाहरू नियोजित रूपमा गराइएको बताइएको छ । त्यसैगरी एक सडककिनारको बम बिस्फोट र दुईवटा गोली प्रहार गरिएको जनाइएको छ । इराकका विभिन्न स्थानमा ती हमला भएका थिए ।
अमेरिकाले इराकमाथि हस्तक्षेप गरेको दस वर्ष पूरा भएको पूर्वसन्ध्यामा मंगलबार बिहान व्यस्त समयमा यी आक्रमण भएका जनाइएको छ । इराकमा सन् २००६ र २००७ मा उत्कर्षमा पुगेको हत्या हिंसा हाल आएर कमी आएको भनिए तापनि यस्ता आक्रमणहरू दैनिक रूपमै हुँदै आएको पाइन्छ । गत हप्ता मात्र पनि इराकका विभिन्न स्थानमा भएका यस्तै हमलामा परी पचासजनाभन्दा बढीको ज्यान गएको थियो । इराकमा प्राय: त्यहीँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकबीच एकापसमा यस्ता हमलाहरू हुने गर्दछन् । (एएफपी)

प्रतिक्रिया