एसएलसीको बहानामा सिडियो घुमफिरमा

गुल्मी, ७ चैत । एसएलसी परीक्षा अनुगमनका लागि सिडिओ गाउँ डुल्न थालेपछि सेवाग्राही भने मर्कामा परेका छन् । सहायक सिडिओ बिदामा बसेको समयमा पनि गुल्मीका सिडिओ कवीन्द्र नेपाल एसएलसी परीक्षाको बहानामा कार्यालयमा उपस्थित नभएपछि सेवाग्राहीलाई समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार सिडिओ नेपाल २/३ दिनदेखि कार्यालयमा हाजिर भएका छैनन् । एसएलसी परीक्षा बिहानको समयमा सञ्चालन भइरहे पनि उनी भने घुमफिरमै रमाउन थालेपछि सेवाग्राही समस्यामा परेका हुन् । दुईजना सहायक सिडिओमध्ये विष्णु घर्ती बिदामा जिल्लाबाहिर छन् । अर्का सहायक सिडिओ गौरव पन्थीका अनुसार घर्ती १० दिनको बिदामा बसेका छन् ।
सिडिओ नेपाल भने जिल्ला सदरमुकाम तम्घासनजिकैको गाउँ पिपलधारमा अनुगमनमा जाँदा पनि दिउँसो कार्यालय आएका छैनन् । पिपलधारबाट तम्घास आउन करिब २ घन्टा लाग्छ ।
मंगलबार दिउँसो ३ बजे अर्का सहायक सिडिओ पन्थी खाजा खान बाहिर निस्केको छोटो समयमै सेवाग्राहीको अत्यधिक चाप थियो । छिटोछरितो रूपमा काम नभएपछि टाढाटाढाका सर्वसाधारणलाई समस्या भएको छ । सिडिओ कार्यालयमा नभएपछि पेन्सन, नाता प्रमाणीत, मुद्दामामिलालगायत महत्त्वपूर्ण काम रोकिएका छन् ।
कावासोतीबाट प्रशासन कार्यालय आएकी मेनुका गैरेले मंगलबार चार दिन बिते पनि आफ्नो काम नभएको गुनासो गरिन् । ‘सिडियो साप हुनुहँुदो रहेनछ चार दिनदेखि तम्घासमा छु, आज पनि काम बनेन,’ गैरेले भनिन् । उनले नागरिकतासम्बन्धी सामान्य कामका लागि पनि ४ दिनसम्म रोकेको भन्दै आक्रोससमेत पोखिनन् । उनले मंगलबार नारायणगढका लागि काटेको बसको टिकट पनि प्रशासनको ढिलासुस्तीका कारण स्थगित भएको बताइन् ।
त्यसैगगरी गुल्मीकै इस्माका रेशम विश्वकर्माले पनि आफ्नो काम नभएको बताए । मंगलबार दिउँसो सहायक सिडिओ बाहिर जाने आउने गरेकाले काम नभएको गुनासो उनले गरे । त्यस्तै, सिर्सेनीका रामप्रसाद अर्यालले पनि काम नभएर मंगलबार तम्घासमै बस्नुपर्ने स्थिति आएको सुनाए । बामीकी विष्णुकुमारी खत्रीको पनि यस्तै गुनासो थियो । सहायक सिडिओ पन्थीले कामको चाप रहेको बताए । दैनिक काम भने नरोएिको उनको भनाइ थियो ।

प्रतिक्रिया