कार्कीको सिफारिस फिर्ता गर्न एमाले अनुशासन आयोगको माग

काठमाडौं, ७ चैत । एमाले अनुशासन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीको सिफरिसप्रति आपत्ति जनाउँदै उनको नाम फिर्ता लिन पार्टी अध्यक्ष झलनाथ खनाललाई ध्यानाकर्षण गराएको छ । रायमाझी आयोगले जनआन्दोलन दमनमा दोषी किटान गरेको र अख्तियारले नै अयोग्य सावित गरेको व्यक्तिलाई अख्तियार प्रमुख बनाउन प्रमुख दलका शीर्षनेताले गरेको सिफारिस जनआन्दोलनको मर्म र भावनाविपरीत भएको आयोगले ठहर गरेको छ ।

आयोगले अख्तियार प्रमुखमा कार्कीको सिफारिस फिर्ता लिन मागसमेत गरेको छ । आयोगको बैठकपछि अध्यक्ष बोहोराले विज्ञप्तिमार्फत संवैधानिक निकायजस्तो महत्त्वपूर्ण स्थानमा अख्तियारले नै अयोग्य ठहर गरेको व्यक्तिको नाम सिफारिस गरेर लोकतन्त्रका मूल्यमान्यताको समेत ख्याल नगरिएको ठहर गरेको जनाएका छन् ।
‘अख्तियारजस्तो महत्त्वपूर्ण र संवेदनशील संवैधानिक निकायमा विगतमा उच्चस्तरीय जाँचबुझ आयोग र अख्तियारले समेत दोषी मात्र होइन, अयोग्यसमेत ठहर्‍याएको कार्कीलाई विना विश्लेषण नियुक्ति गर्न राजनीतिक दलका नेताहरूले सिफारिस गर्नु ज्यादै दु:खद र गैरजिम्मेवार कार्य हो,’ बोहोराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक जनआन्दोलनको मूल मर्म र भावनाविपरीत सम्मानित संवैधानिक निकायमा सिफारिस गर्ने कार्यलाई हाम्रो आयोग भ्रष्ट तत्त्वहरूलाई प्रोत्साहन गर्ने लोकतन्त्रविरोधी कार्य हो भन्ने ठहर गर्दछ ।’
आयोगले समयममा नै ध्यानाकर्षण गरिएको जनाउँदै पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष ध्यानाकर्षण गराएको छ । ‘अख्तियार प्रमुखमा निज लोकमानसिंह कार्कीको नाम सिफारिस गर्ने गलत निर्णय अविलम्ब फिर्ता गर्न माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आगामी दिनमा यस प्रकारका प्रसंग आउँदा कुनै हालतमा पनि भ्रष्ट र जनविरोधीको नाम सिफारिस नगर्न–नगराउन समेत प्रभावकारी भूमिका खेल्न हार्दिक आग्रह गर्दछ ।’

प्रतिक्रिया