‘स्वास्थ्य ऐन नहुँदा समस्या’

काठमाडौं, ७ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री विद्याधर मल्लिकले स्वास्थ्य ऐन नहुँदा स्वास्थ्य क्षेत्रले ठूलो समस्या झेलिरहनुपरेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मंगलबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री मल्लिकले छिट्टै सरकारले स्वास्थ्य अध्यादेश राष्ट्रपतिकहाँ पठाउने जानकारी दिए । ‘वर्तमान सरकार राजनीतिक सहमतिमा बनेकाले सरकारले पठाएका अध्यादेश राष्ट्रपतिबाट स्वीकृत हुनेछन् विश्वास लिएको छु,’ उनले भने, ‘ऐन नहुँदा स्वास्थ्यमा ठूला प्रगतिका काममा अवरोध सिर्जना भइरहेको छ ।’
अर्थ मन्त्रालयले छिट्टै बजेट ल्याउनसक्ने जानकारी दिँदै स्वास्थ्यमन्त्री मल्लिकले स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन नदिनेसमेत बताए । ‘अन्य क्षेत्रभन्दा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको छ,’ मल्लिकले भने, ‘त्यसकारण यो प्रगतिलाई अझ व्यापक बनाउन आवश्यक छ ।’
उनले जनताले प्रत्यक्ष रूपमा सेवा उपयोग गर्ने सरकारी अस्पतालमा तत्काल सुधार गर्नसमेत अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् । पहिलो चरणमा सरसफाइबाट भए पनि अस्पताल सुधारको काम गर्न र अस्पतालबाट बिरामीले पाउने सेवाको अनुगमन र त्यसका आधारमा केन्द्रीय अस्पतालमा जनताले महसुस गर्नसक्ने गरी सुधार गर्न पनि निर्देशन दिएका छन् । यसका साथै उनले स्वास्थ्यका कर्मचारीलाई कुनै प्रलोभनविना काम गर्नसमेत निर्देशन दिएका छन् ।
स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले स्वास्थ्यसम्बन्धी अध्यादेश जारी भएमा स्वास्थ्यको मूल समस्या समाधान हुने बताए । उनले अब स्वास्थ्य बिमा कार्यक्रमलाई पनि अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया