पहिले भिआइपी व्यवसायी अहिले वसन्तपुरका “चिया–मामा”

Gopalवसन्तपुर, नेपालको ऐतिहासिक अनि पर्यटकीय सानको केन्द्र । इतिहासलाई उथलपुथल पार्ने कोतपर्व यसैको काखमा भयो । ०७ सालयता बौद्धिक जमघटको थलो पनि भयो, वसन्तपुर । धेरै साहित्यकारले आफ्ना कृतिमा न्युरोड–वसन्तपुरको अध्ययन संस्कारबारे उल्लेख गरेका छन् । त्यतिबेला नेपालका चर्चित साहित्यकारहरूको साहित्यिक विमर्शको गतिलो थलो यही थियो । वसन्तपुरको बाहिरी मुहार अहिले पनि लगभग उस्तै छ तर फेरिएको छ वातावरण ।

वसन्तपुर डबलीछेउछाउका दृश्य फेरिएका छन् । भीडभाड लगभग उस्तै होला तर विगतभन्दा भिन्न प्रकृतिका पात्रहरूले भरिन्छ यहाँको सेरोफेरो । राजनीतिक दलका विरोध अनि समर्थनका सभाले वातावरण तताइरहेका भेटिन्छन् । आइतबार दिउँसो वसन्तपुर डबलीमा राप्रपा नेपालले आमसभा गरिरहेको थियो । विदेशी पर्यटकहरू पुरातात्विक संरचनातिर क्यामेरा ताक्दै यताउति हिँडिरहेका देखिन्थे । प्रेमजोडीहरू भीडलाई बिर्सिएर आफ्नैखाले रोमान्समा डुबिरहेका भेटिए ।

नशामा झ्याप भएर हिँडेका ट्यापे–मुन्द्रे हुन् वा भौँतारिइरहेका सडकबालक । सबैको टहलिने ठाउँ बनेको छ वसन्तपुर ।
वसन्तपुरको सानो क्षेत्रमा देखिने यी क्रियाकलापले नेपालको आधुनिक वदलाब बुझ्न काफी छ । चियाकफीका साथ हुने बौद्धिक विमर्शलाई अहिले प्रेमालापले विस्थापित गरेको छ । यद्यपि, कुम जोडेर आडमा बसेको अपरिचित थाहा नपाएभैँm गरिरहन्छ, मानौँ– आँखै अगाडिका ती घटनाबाट ऊ बेखबर छ । इतिहासका महत्त्वकारी घटनाहरूको गर्भस्थल वसन्तपुरको बदलाव १७ वर्षयता लगातार नियालिरहेछन् गोपाल आचार्य उर्फ मामा । यतिबेला वसन्तपुरमा कुनै साहित्यिक जमघट छैन र त्यसमा भूपी शेरचन, शंकर लामिछाने, गोपालप्रसाद रिमाललगायतको बौद्धिक स्पर्धा पनि छैन । त्यो ठाउँ वयष्कहरूको डेटिङ स्पटमा बदलिएको छ । उनीहरूलाई गोपाल मामा चिया खुवाउँदै छन्, प्रतिकप १२ रुपियाँमा ।

बिहान साढे ५ बजे पुग्दा ६५ वर्षका ‘चिया मामा’ जसरी बसिरहेका हुन्छन्, साँझ पाँच बजे पुग्दा पनि उही स्फूर्ति देखिन्छ । स्वभाव भने कडा मिजासको प्रस्तुत गरिरहन्छन्, बेलाबेला । व्यापारी भएर पनि तपाईं कस्तो कडा मिजासको ? उनको जवाफमा आधुनिक सामाजिक चरित्रको विम्ब भेटियो, जसको भुक्तभोगी हुन् चियामामा– ‘यो ठाउँमा कस्ताकस्ता मान्छे आइपुग्छन् भने नि उनीहरूलाई राम्रो मुखले भनेकै पच्दैन । पहिला पैसा तिरेर चिया माग्नुपर्नेमा परैबाट सुइय सिठी बजाउँछन् अनि तीन औँला ठड्याउँदै इसारा पो गर्छन् । त्यस्तालाई ओइ, साला… भनेर थर्काए मात्र खुरुक्क आएर पैसा तिर्छन् अनि चिया लिएर जान्छन् । अरूको प्रवृत्ति नै त्यस्तै भएपछि आफू मात्र नरम भएर काम लाग्यो त ?’ वसन्तपुरको फेरिएको चरित्र र आफ्नो बाध्यताबारे बोल्दा बाटुला, राता अनि ठूला आँखा अझ ठूला बनाउँदै थिए उनी ।
वसन्तपुर क्षेत्रमा पुग्ने अधिकांश चिया–अम्मलीहरूलाई उनको हातको स्वाद थाहा छ । ‘आधुनिक चियामामा’ गोपाल वसन्तपुरको डबली क्षेत्रमा टहलिन चाहनेलाई चियाको तलतल मेटाउन तयार हुन्छन् हरबखत । सबैको लागि उत्तिकै अर्थात १२ रुपियाँको दूरी ‘मेन्टेन’ गरेका छन् । ‘ह्याँ पाक्ने चिया एउटै क्वालिटीको हुन्छ, त्यसैले दर पनि एउटै । अनि पैसाचाहिँ प्रिपेड भुक्तानी गर्नुपर्छ । ४० हजार रुपियाँ उधारो चियामा डुबेको छ मेरो । त्यसैले दुई वर्षयता प्रिपेड चुक्ताको व्यवस्था गरिएको हो’, दर र प्रिपेड व्यवस्थाबारे उनको टिप्पणी ।
– ए मामा लौ दुईकप चिया दिनुस् ।
– २४ रुपियाँ पैसा तिरेर जानुस्, चिया त्यहीँ आइपुग्छ ।
पैसा तिरिसकेपछि ‘भान्जाभान्जी’ लाई फुरुंग बनाउन पनि जानेका छन् मामाले । उनलाई समयले सिकाएको हो यो तरिका । भन्छन्, ‘ल ह्यान्डसम भाइ/ल ब्युटिफुल बहिनी, चिया एकैछिनमा आइहाल्छ ।’
वसन्तपुर डबलीको छेउमै रहेको पुरानो शैलीको घर । दुईवटा ढोकामाथि निलो रंगले लेखिएको छ, ‘मामाको चियापसल’ । चिया पिउने ग्राहकलाई कुर्सी र बेन्चको व्यवस्था छैन । वसन्तपुरकै छेउछाउ खुला ठाउँमा बसेर चिया पिउँछन् उनका ग्राहक । एकजना थप मान्छे भित्र छिरे भने मामालाई चिया छान्ने ठाउँ पनि नपुग्ने साँघुरो कोठा छ । होचो मुढामा ढोकापट्टी फर्किएर बस्छन्, गोपाल आचार्य । दुईवटा ताप्के, चिया पकाउने भाँडो । मिल्क र ब्ल्याक टी छुट्टाछुट्टै बनाउन रेडी छन् । दिनभरमा एकपटक पनि ग्यास चुल्हो निभेको देखिँदैन । सानो बाल्टीमा भरी चिनी र चियापत्ती मुठीका दरले थपिरहन्छन्, कित्लीबाट दूध ।

काठमाडौं, मच्छेगाउँका स्थायी बासिन्दा हुन् गोपाल । बाल्यकालमै बुबासँगै कलकत्ता गए । उतै पढे । उनका अनुसार कलकत्ता युनिभर्सिटीबाट वाणिज्यशास्त्रमा ग्य्राजुयसन सके । ऊ बेला यत्तिका पढेका मान्छे कसरी चिया पसले बन्न आइपुगे त ? बाहिर देखिने रूपले उनको जीवन कहानी खोल्न सक्दैन । जीवनमा विभिन्न संघर्ष भोग्दै, हन्डर खेप्दै फुटपाथको चियापसले हुँदै अहिले सानो दुकानसम्म आइपुगेको लामो कथा रहेछ उनको ।
‘आफ्नो भागमा भएभन्दा बढी कसैले पाउँदैन’, अहिलेसम्मको लामो जीवन कहानीलाई यत्तिमै सक्ने कोसिस गर्दै थिए उनी । अहिलेको जीवनबाट दु:खी हुनुहुन्छ र ? उनको निष्कर्षलाई लम्ब्याउने कोसिसपछि बल्ल विगतबारे खुले गोपाल, ‘वास्तवमा कलकत्तामै मलाई राम्रो थियो । पैसा कमाएको थिएँ । स्टान्डर्ड होटल थियो । मान्छेले साहुजी भनेर सम्मान गर्थे । बिहे गरेको थिएँ । पत्नी, छोरी थिइन् । तर, मसँग जीवनको पूर्णता थिएन । नेपाली भनेर गौरवसाथ काम गर्न सक्दिनथेँ त्यो विदेशी भूमिमा ।’ अर्कोतर्फ आफ्नै महत्त्वकांक्षाले पनि तान्यो उनलाई । वंशको नाममा छोरामोहले भरिएका थिए उनी । ‘एउटी छोरी जन्मिएपछि पत्नी अर्को सन्तान जन्माउन नसक्ने भइन् । धनले खुसी दिन नसक्ने रहेछ । खुसी खोज्दै थातथलो फर्किएँ । नेपाल आएपछि जेठी श्रीमतीको स्वीकृति लिएर अर्को बिहे पनि गरेँ । कलकत्तामा कमाएको धन लगानी गरेर व्यवसाय थालेँ । ठमेलमा ठूलो होलसेल पसल खोलेँ, पाटर्नरसिपमा । तर, पार्टनर अगतिलो परे, व्यवसाय डुब्यो । मसँग हातमा एक कौडी पैसा भएन । अंशवापत भागमा परेको जग्गा पनि दाजुभाइले नदिएर मुद्दामा अल्झिनुपर्‍यो ।’ लगानी गर्न हातमा पैसा थिएन गोपालसँग त्यति बेला । परिवार पनि पाल्नुपर्ने थियो । ठूलो लगानी डुबेपछि उनी फुटपाथमा भविष्य खोज्ने टुंगोमा पुगे । फुटपाथको जीवन रोजेको दिन सम्झिँदै छन् गोपाल, ‘केही दिनअघिसम्म ठमेलको भिआइपी व्यवसायी म बिहानै ५ बजे स्टोभ बोकेर वसन्तपुरको खुला आकाशमुनि सडकमा चिया बेच्न लागिरहेको थिएँ । सपना हो कि जस्तो लाग्यो आपैँmलाई । स्टोभमा दम दिँदै ‘लौ हजुर चिया खानुुस्’ भन्नै सकिनँ ।’ आत्मसम्मानले पोलेको त्यो बेला भान्जाबाट सहयोग लिएछन्– ‘भान्जा मसँगै बसेर पढ्दै थिए । केही समय उनलाई अगाडि राखेँ । मचाहिँ जुटाउने कुराहरूमा ध्यान दिन थालेँ ।’ विस्तारै उनीभित्रको आत्मसम्मानबोधको पीडा कम हुन थाल्यो । धक हट्न थाल्यो । अथवा, उनलाई लाग्न थाल्यो– काम जस्तोसुकै भए पनि परिश्रम गरेर खाँदा आत्मसम्मान कहिल्यै घट्दैन । ‘विस्तारै आपैँm फ्रन्टमा आउन थालेँ, त्यसपछि प्रचारमा आयो, मामाको चियापसल ।’
उनको बुझाइमा ‘स्ट्रिट बिजनेस भए पनि क्वालिटी मेजर हुन्छ ।’ भन्छन्, ‘क्वालिटी भएको मान्छेले गोलभेँडा बेचे पनि सफल हुन्छ । आखिर क्वालिटीचाहिँ केमा हुन्छ त ? अंग्रेजीमा छाँटे– ‘क्वालिटी इज इन एडुकेसन ।’ उनको तर्क उपभोक्तावादलाई आफ्नै शैलीमा प्रस्ट्याउँदै अझ दह्रोसँग आयो– ‘म पनि पढेको मान्छे, व्यवसायमा असफल भएपछि स्कुल–कलेज पढाउन जान सक्थेँ । तर, गइनँ । कलेज पढाउने धेरै प्रोफेसर मेरा साथी हुनुहुन्छ । उहाँहरूसँग सम्मान छ तर २० हजार रुपियाँ पैसाले कसरी जीवन चलाउन सकिन्छ । म पनि सम्मान खोज्दै गएको भए त्यही हालत हुन्थ्यो । फुटपाथे चिया पसले बनेँ, सडकमा बसेर स्ट्रिट क्वालिटीका मान्छेलाई चिया बेचेँ । पाँच वर्षपछि सडकको चियादोकान भाडाको कोठामा सारेको छु । बीस हजार रुपियाँ भाडा तिर्नुपर्छ । दुई छोराछोरी पढाउन समस्या छैन । एक जना मान्छे आउँदा चिया खुवाउन हात थाप्न जानु पर्दैन । मेरो जीवन योभन्दा खुसी के हुनसक्छ ।’
जीवनको भोगाइ बताइरहँदा पनि व्यस्त नै छन्, गोपाल आचार्य । उनले यो बीचमा उमालेको चियाका लागि कच्चा पदार्थ, चिनी दुई बाल्टिन सकाइसकेका छन् । पत्नीलाई अर्को बाल्टिन चिनी ल्याउन अह्राउँदै दिनको आठ किलो चिनी सकिने जानकारी पनि दिए । डेढ किलो चियापत्ती अनि ३२ लिटर दूध दैनिक खपत हुन्छ उनको व्यवसायमा ।
चियाको बिक्रीसँँगै वसन्तपुरमा प्रवेश गर्ने फेरिएका चरित्रका व्यक्तिहरूसँग घुलमिल हुन पनि सिकिसकेका छन्, गोपाल आचार्यले । कुराकानी चलिरहेको थियो, एक युवक चिया माग्न आइपुगे । गोपालका नियमित ग्राहक रहेछन् । सोधे– ‘एक्लै छौ त ?’ युवकको जवाफ– ‘जोडी छैन ।’ त्यसो भए बिहान नौ बजेतिर आउनु, म मिलाइदिन्छु । ‘कसरी ?’ उनले सहज जवाफ फर्काए– ‘मेरो चियापसलमा बिहानबिहान एक्लै चिया खान आउँछे उ पनि । अनि तिमी पनि एक्लै…†’ केटो मख्ख पर्दै चियाको रकम भुक्तानी गरेर गयो । गोपाल आफ्नै सुरुमा चिया छान्दै बोले– ‘के गर्नु समयअनुसार चल्नै पर्‍यो †’

प्रतिक्रिया