सिरियाली विद्रोहीले समानान्तर सरकार बनाउने

बेरुत : सिरियामा करिब तीन वर्षदेखि जारी हिंसात्मक विद्रोह समाधानका लागि कुनै विश्वासिलो वातावरण नदेखिएको भन्दै सिरियाली विपक्षीहरूले समानान्तर सरकार गठनको पहललाई थप तीव्रता दिएका छन् । यसअघि नै सिरियाली विद्रोहीले समानान्तर सरकारको झल्को दिने राष्ट्रिय परिषद् गठन गरी विदेशी सहयोगमा आफ्ना क्रियाकलाप जारी राखेका छन् । यसका अतिरिक्त उनीहरूले समानान्तर सरकार गठन गरेर अलग्गै सत्ता सञ्चालनको तयारी गरिरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसै सन्दर्भमा सिरियाली विद्रोहीहरू समानान्तर सरकारका प्रधानमन्त्री चयनका लागि सोमबार टर्कीको राजधानी स्तानबुलमा जम्मा भएको जनाइएको छ । उनीहरूले समानान्तर सरकारको प्रधानमन्त्री चयन गर्नेछन् र प्रधानमन्त्रीले मन्त्रिमण्डलका अन्य सदस्य चयन गर्नेछन् । समानान्तर सरकारको प्रधानमन्त्रीमा टर्कीका पूर्व कृषिमन्त्रीले उम्मेदवारी दिएको बताइएको छ । उनलाई प्राय: सबै विपक्षी नेताले स्वीकारेको जनाइएको छ । यद्यपि, सिरियामा जारी आन्दोलन तथा विद्रोहको नेतृत्व गरिरहेका विभिन्न विपक्षी दलले उनलाई मान्यता दिनुपर्नेछ । समानान्तर सरकार बनेपछि सिरियाली राष्ट्रपति बसर अल असदसँग वार्ता गर्नसक्ने सम्भावना सदाका निम्ति अन्त्य हुने अनुमान गरिएको छ ।
सिरियामा रहेको सरकारसँगै समानान्तार हैसियत राख्ने अर्काे सरकार गठन भएमा उक्त सरकारलाई राष्ट्रपति असदले मान्यता नदिने र वार्ताको सम्भावना झनै नरहने अनुमान विश्लेषकहरूले गरेका छन् । सिरियाली आन्दोलनले गत मार्च १५ देखि दुई वर्ष पूरा गरिसकेको छ । यस क्रममा करिब ७० हजार नागरिकको ज्यान गएको बताइएको छ । सुरुमा शान्तिपूर्ण रूपमा थालिएको उक्त आन्दोलनपछि सरकारी र विद्रोही पक्षसमेतले हतियारको लडाईंमा परिणत गर्दा यसबाट ठूलो जनधनको क्षति भएको छ । आन्दोलनका कारण हजारौँ नागरिक बेपत्ता भएका छन् भने अरू कैयाँै नराम्ररी घाइते पनि भएका बताइएको छ । यस युद्धको मारमा नागरिक त्यहाँका महिला तथा बालबालिका पनि परेका छन् । यसका कारण कम्तीमा पनि दश लाख नागरिकले देश छोडेका छन् । उनीहरू विदेशमा गएर शरणार्थीका रूपमा जीवन जिउन बाध्य भएका छन् ।
यसैबीच शरणार्थी संकट मध्यपूर्वभर फैलनसक्ने आशंका संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त आन्तोनियो गुटेरेसले हालै व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघले ११ लाख सिरियाली नागरिक जोर्डन, इराक, लेबनान तथा टर्कीमा गएको अनुमान गरेको छ । मुलुकभित्रै विस्थापित भएका सिरियाली नागरिकको पनि ठूलो संख्या रहेको अनुमान गरिएको छ । उनले सिरियाली द्वन्द्व कायमै रहे यो समस्या मध्यपूर्वभर विस्तार हुने र यसलाई मानवीय, राजनीतिक तथा सुरक्षाको दृष्टिकोणबाट समाधान गर्न नसकिने चेतावनी दिए । उनले सिरियाका छिमेकमा शरणार्थी संकटको निकै प्रभाव पर्ने आशंका गर्नुभएको छ । सिरियाली संकट सामान्य संकट नभएको र यसको समाचार पनि संवेदनशील रूपमा सम्प्रेषण गर्न पनि उनले पत्रकारहरूलाई आग्रह गरे । उनले अन्तर्राष्ट्रिय समुदायलाई सिरियाली संकट समाधान गर्न थप प्रयास गर्न तथा मानवीय संकटबाट प्रभावित व्यक्तिहरूका लागि सहयोग उपलब्ध गराइदिन आग्रह गरे । यसअघि सिरियाको आलेप्पो प्रान्तमा रहेको सरकारी अस्त्रभण्डारमा त्यहाँका विद्रोहीले कब्जा जमाएका थिए । आलेप्पो प्रान्तमा चार दिनसम्म सरकारी सैनिक र विद्रोहीबीचको भीषण भिडन्त भएपछि अस्त्रभण्डार विद्रोहीको कब्जामा गएको विद्रोही सैनिक स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायले सिरियाली राष्ट्रपति असदलाई विद्रोहीको माग सुनुवाइ गर्न दबाब दिँदै आएका छन् । तर, असदले भने यस विषयमा विपक्षीसँग वार्ता गर्न आफू तयार रहे पनि यसका निम्ति कुनै पूर्वशर्त तेर्साउन नहुने प्रस्ट पार्दै आएका छन् । साथै उनले विपक्षीले हतियार नत्यागेसम्म वार्ता नहुनेसमेत जनाएका छन् । गत महिना एक पत्रिकारसँगको अन्तर्वार्तामा उनले हतियारसहित आत्मसमर्पण गर्ने विद्रोहीसँग मात्र वार्ता गर्न सिरियाली सत्ता तयार रहेको बताएका थिए । मुलुकविरुद्ध लाग्ने राष्ट्रघाती तथा आतंकवादीसँगसमेत वार्ता नगरिने उनले प्रष्ट पारेका थिए । उनले विद्रोहीहरूलाई ‘आतंकवादी’ र ‘विदेशी दलाल’को संज्ञा दिँदै आएका छन् । सिरियाली संकट समाधानका लागि यसअघि उनले शान्ति योजना प्रस्ताव गरेका थिए जसमा मुलुकमा मेलमिलाप स्थापनाका लागि बृहत् राजनीतिक सम्मेलन आयोजना उल्लेख भए पनि ‘सिरियालाई धोका दिने’लाई यसमा सहभागी नगराइने प्रस्ट पारेका थिए । दुई/चार राष्ट्रद्रोही हातमा लिएर विदेशीले सिरियाविरुद्ध आरम्भ गरेको युद्धको डटेर प्रतिरोध गर्न उनले देशवासीसमक्ष आह्वान गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया