उत्तरपुस्तिका च्यात्ने दुई पक्राउ

इलाम : प्रवेशिका परीक्षाको चौथो दिन सोमबार इलाममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जनाको परीक्षा रद्द भएको छ । परीक्षामा उत्तरपुस्तिका च्यात्ने भानुभक्त उच्च मावि मंगलबारेमा परीक्षा दिइरहेका सूर्याेदय शिक्षा सदन, इलामका एक्जाम्टेड समूहका विशाल राई र इभाङ माविबाट महेन्द्रोदय उच्च मावि गजुरमुखी परीक्षा केन्द्रमा परीक्षा दिइरहेका रुद्रहाङ लावती पक्राउ परेका हुन् । उनीहरूको सोमबारको परीक्षा रद्द भएको छ भने अबका परीक्षा दिन पाउने छैनन् ।
त्यस्तै चार परीक्षार्थीको सोमबारको परीक्षा रद्द भएको छ । इलाम नगरपालिकास्थित आदर्श उच्च माविमा परीक्षा दिइरहेका उनीहरूको परीक्षा रद्द भएको हो । परीक्षामा अनुगमन टोली गएका समयमा अनियमितता गरिरहेकाले परीक्षा रद्द भएको शिक्षा कार्यालयका परीक्षा फाँटका निर्मल ढुंगेलले बताए । उनीहरूले अबको नियमित परीक्षा दिन पाउने छन् ।
त्यसैगरी, सोमबार सप्तरीमा १ निरीक्षक र २ कार्यालय सहायकलाई निष्काशन गरिएको छ । परीक्षामा अमर्यादित कार्य गरेको भन्दै जिल्ला अनुगमन टोलीले उनीहरूलाई निष्काशन गरेको हो । अनुगमन टोलीले परीक्षा हलमा विद्यार्थीलाई चिट गर्न सहयोग गरेको भन्दै जनता उमावि सिस्वारी परीक्षा केन्द्रबाट निरीक्षक सुमित्रा चौधरीलाई निष्काशन गरेको जिशिअ रुद्रहरि भण्डारीले जानकारी दिए । महेन्द्र जनता उमावि कडरवोना केन्द्रवाट कार्याल सहयोगीहरू रवीन्द्र यादव र दिनेश यादवलाई निष्काशन गरिएको प्रहरीले जनाएको छ ।
परीक्षालाई अमर्यादित बनाउन भूमिका खेलेको आरोपमा अनुगमन टोलीले उनीहरूलाई निष्काशन गरेको प्रहरी निरीक्षक कुशबहादुर थापाले बताए । यसका अतिरिक्त चौथो दिनको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा चौथो दिनसम्म सप्तरीबाट अमार्यादित काम गर्ने ८ निरीक्षक २ कार्यालय सहायक र २९ परीक्षार्थी निष्काशित भइसकेका छन् ।
यसैबीच परीक्षाको रिपोर्टिङ गर्न रूपनगरस्थित शंकर उमावि केन्द्र पुगेका ‘सि एफएम’ राजविराजका सञ्चारकर्मी श्यामकुमार पासवानलाई सोमबार प्रहरीले कुटपिट गरेको छ । (सौस)

प्रतिक्रिया