सप्तरी गोल्डकपमा अनियमितताको आशंका

राजविराज, ६ चैत । विभिन्न क्षेत्रको आर्थिक तथा नैतिक सहयोगमा सप्तरीको राजविराजमा सम्पन्न सप्तरी गोल्डकप फुटबल प्रतियोगिताको हरहिसाब सार्वजनिक नभएको भन्दै आयोजक समितिकै सदस्यहरूले गुनासो गर्न थालेका छन् । यसै क्रममा सप्तरी युवा समूहका सदस्यहरू धिरु वर्मा र आसुतोष झाले संयुक्त प्रेसविज्ञप्ति प्रकाशित गरी हरहिसाब सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतियोगिता सम्पन्न भएको ७ दिनभित्रै हरहिसाब सार्वजनिक गर्ने प्रतिबद्धता भए पनि दुई साता बितिसक्दासमेत त्यसतर्फ समितिका सदस्यहरूले चासो नदेखाएको भन्दै उनीहरूले तत्काल त्यसतर्फ पहल गर्न माग गरेका छन् । प्रतियोगिता १३ फागुनमा सम्पन्न भएको हो ।
जारी विज्ञप्तिमा प्रतियोगिता सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको जनाउँदै तत्काल संस्थाको हरहिसाब गरी दोषीउपर कारबाही नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ । यस विषयमा सप्तरी युवा समूहका सहसचिव पशुपति कर्णले एक हप्ताभित्र पत्रकार सम्मेलन गरी हरहिसाब सार्वजनिक गर्ने बताएका छन् ।
प्रतियोगिताका प्रायोजक र सहप्रायोजकले आवश्यक रकम दिने प्रतिबद्धता जनाएको तर रकम हालसम्म नउठेकाले हिसाब सार्वजनिक गर्न ढिलाइ भएको उनले स्पष्ट पारे । प्रतियोगिता सञ्चालनका लागि गठित समितिमा सप्तरीका सिडिओ हरिराज पन्तसमेत सल्लाहकारमा छन् ।

प्रतिक्रिया