को–को छन् मन्त्री बन्ने दौडमा ?

Sudha-Sharmaकाठमाडौं, ५ चैत । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । त्यसका लागि उनले प्रमुख दलका शीर्षनेता र पूर्व वरिष्ठ प्रशासकहरूसित परामर्श थालेका छन् ।

आइतबार मात्रै अध्यक्ष रेग्मीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालसित छुट्टाछुट्टै छलफल गरेका छन् । मन्त्री बन्ने दौडमा रहेका एक दर्जनबढी पूर्वप्रशासकले पनि आ–आफ्नो ढंगले ‘लबिङ’ गरिरहेका छन् ।
प्रमुख दलबीच चुनावी मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने सैद्धान्तिक सहमति भए पनि अहिले रेग्मीसहित तीन सदस्य मात्रै छन् । आफू मन्त्रिपरिषद् अध्यक्ष नियुक्त भएकै दिन उनले आफ्नै गृहजिल्ला पाल्पाका पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरेलाई गृह र छिमेकी जिल्ला गुल्मीका हरिप्रसाद न्यौपानेलाई कानुनमन्त्री नियुक्त गरेका थिए ।
अध्यक्ष रेग्मीले मन्त्रिपरिषद्लाई पूर्णता दिई निर्वाचनको काम थाल्न आफू अहिले सक्रिय रहेको बताए । ‘मेरो ध्यान अहिले मन्त्रिपरिषद्लाई पूर्णता दिने र निर्वाचनको काम अगाडि बढाउनेमा मात्रै केन्द्रित छ, त्यसका लागि परामर्श थालिसकेको छु,’ रेग्मीले भने ।
स्रोतका अनुसार अध्यक्ष रेग्मीले प्रमुख दलका नेतासँगै पूर्वप्रशासकहरूसित पनि छलफल गरिरहेका छन् । को–कोसित कसरी छलफल भइरहेको छ भन्ने कुरा रेग्मीले खुलाउन चाहेनन् । ‘को–कोसँग के छलफल भइरहेको छ भन्नुभन्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन म छलफल गर्दै छु,’ उनले भने ।
प्रमुख दलहरूले मन्त्रिपरिषद्मा नेपाल सरकारका पूर्वसचिवहरूलाई मात्रै स्थान दिने सहमति भएको छ । सानो मन्त्रिपरिषद्मा सबै क्षेत्र, लिंग र वर्गको प्रतिनिधित्व गराउने प्रयासमा आफू रहेको अध्यक्ष रेग्मीले बताए ।
स्रोतका अनुसार चुनावी सरकारमा मन्त्री बन्न पूर्वसचिवहरूको दौडधुप बाक्लो भएको छ । केही पूर्वप्रशासकले त विभिन्न दलका नेतादेखि पारिवारिक सम्बन्धसमेत देखाई अध्यक्ष रेग्मीलाई प्रभावमा पार्न खोजेको स्रोतको दाबी छ । दौडधुप गर्नेमा पदमा हुँदा प्रभावशाली मानिनेदेखि सामन्य ‘प्रोफाइल’ राख्नेसम्मका पूर्वसचिवहरू छन् ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीनिकट स्रोतका अनुसार मधेसी समुदायका तर्फबाट पूर्वसिँचाइसचिव उमाकान्त झा र राष्ट्रपति डा. रामवरण यादवको सिफारिसमा विद्याधर मल्लिक मन्त्री बन्ने सम्भावना रहेको छ । मल्लिक पूर्वअर्थसचिव हुन् । त्यस्तै, पूर्वअर्थसचिव रामेश्वर खनाल, निर्वाचन आयोगका पूर्वसचिव शंकर कोइराला र पूर्वगृहसचिव उमेश मैनाली मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको नजरमा परेका छन् ।
मन्त्री बन्ने दौडमा पूर्वसञ्चारसचिव अवनिन्द्रकुमार श्रेष्ठ, पूर्वरक्षासचिव वामनप्रसाद न्यौपाने, पूर्व स्वास्थ्यसचिव सुधा शर्मा, लोकसेवा आयोगका पूर्वसचिव श्याम मैनाली, पूर्वक्षेत्रीय प्रशासक रुद्रप्रसाद श्रेष्ठ पनि रहेका छन् ।
प्रमुख दलहरूको सल्लाहअनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिने र रिक्त संवैधानिक निकायमा पदपूर्ति गरी सरकारको तर्फबाट चुनावको मिति घोषणा गर्ने तयारी अध्यक्ष रेग्मीको छ । ‘यी दुई प्रक्रिया पूरा भएपछि चुनावका लागि पूर्ण वातावरण बन्छ भन्ने मेरो विश्वास छ,’ रेग्मीले भने ।
आइतबार नै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलगायत अन्य सदस्यहरूसित पनि छलफल गरेका थिए ।

को–को छन् दौडमा
रामेश्वर खनाल पूर्वसचिव अर्थ
शंकर कोइराला पूर्वसचिव निर्वाचन आयोग देउवा
उमाकान्त झा पूर्वसचिव सिँचाइ
विद्याधर मल्लिक पूर्वसचिव अर्थ
उमेश मैनाली पूर्वसचिव गृह
अवनिन्द्रकुमार श्रेष्ठ पूर्वसचिव सञ्चार
डा.सुधा शर्मा पूर्वसचिव स्वास्थ्य कांगेस
श्याम मैनाली पूर्वसचिव लोकसेवा आयोग
रुद्रप्रसाद श्रेष्ठ पूर्व क्षेत्रीय प्रशासक
वामनप्रसाद न्यौपाने पूर्वसचिव रक्षा

प्रतिक्रिया