लाटा देशका गाँडा तन्नेरीहरू

Anil-Yogiलाटा देशका गाँडा तन्नेरी भनेको यही होला सायद । खिलराज रेग्मीबिना यो देशको संकट समाधान हुन नसक्ने देखेका छन् केही बौद्धिक तप्काका मानिसहरूले । देशलाई संकटमा पारेर आफ्नो ज्ञान र योग्यतालाई रोजीरोटीको माध्यम बनाउने बौद्धिक वर्गसँग मेरो कुनै सम्बन्ध छैन । जसले मुलुकको जटिल परिस्थितिलाई गम्भीरतापूर्वक अध्यन गर्दैन र संकटका कारक तत्वहरूलाई जान्दैन त्यो कसरी बौद्धिक हुन सक्छ ? मैले बुझ्न सकिन । शान्तिप्रिय नेपाली जनताका बस्तीहरू माओवादीले आफ्ना आधार इलाका बनाएर नेपालको संविधान, कानुन, नियम नमानेको कुरा रेग्मीलाई थाहा थिएन भन्न सकिँदैन । युद्धको अवस्थामा एक जना प्रधानन्यायाधीशलाई सुर्खेत जाँदै गर्दा एम्बुसमा पारेको रेग्मीलाई जानकारी थिएन कसरी भन्न सकिन्छ ?
राज्यका कुनै पनि निकायका मानिसहरू हुन् उनीहरूलाई एम्बुसमा पार्ने काम हामीले गरेका थिर्यौँ त ? यो देशलाई भड्खालोमा पार्ने अपराध हामीले गरेका हौँ त ? यो देशको न्यायालयमा कस्ता मानिसहरू पसेका रहेछन् भन्ने कुरा खिलराजले सबैलाई देखाइदिए । जनताको पक्षमा, राष्ट्रका पक्षमा रेग्मी अडिन सकेका भए उनलाई काँधमा राखेर नेपाली जनताले देशभरि उनलाई अभिनन्दन गर्नुपर्ने थियो । उनी जनताका पक्षमा अडिन सकेनन् र हिंसा र प्रतिहिंसाका नायकहरूसँग सती जान राजी भए । त्यही उनको योग्यता पनि देखियो । खिलराजबिना वर्तमान संकट समाधान नहुने अवस्थाको ज्ञान दलका नेताहरूका दिमागमा कसरी पलायो बिस्तारै खुल्दै जाला । खिलराज एक व्यक्ति मात्रै थिएनन्, उनी यो देशको न्यायापालीकाको प्रमुख थिए । उनका पछाडि दलका नेता र तिनका कार्यकर्ताहरूबाट प्रताडित जनताको ठूलै गोलो थियो, जुन उनले जानेका भए । सत्ता र शक्तिका लागि मरिहत्य गर्नेहरूको विवेक नहुने रहेछ र तिनले जनताको भावनाको कदर पनि गर्न नसक्ने रहेछन् भन्ने कुरा खिलराजलाई हेर्दा हुने भयो अब । खिलराजले देशको रक्षा गर्दै विधिको शासन स्थापना गर्न सके भने त राम्रै होला तर त्यो गर्न सकेनन् भने उनको अवस्था कस्तो होला अहिले नै अनुमान गर्न हतार हुनेछ । एउटा कुरा पक्का हो खिलराज संकट समाधान गर्न सक्ने होइनन् । बरु झन् संकट झाँगिँदै जानेछन् ।
दलका नेताहरूले नेपाली जनतालाई आफ्नो लोकतन्त्रविरोधी अनुहार गर्वका साथ देखाउने काम गरे । आफ्नो असफलतालाई ढाकछोप गर्ने कसरत त गरे तर सफल भएनन् । लोकतन्त्रका आधार भनेका स्थानीय निकायहरू हुन । स्थानीय निकायको निर्वाचन नभएको १६ वर्षभन्दा बढी हँुदै छ । खिलराजलाई अघि सारेर दलका नेताहरूले आफैँलाई असफल गराउँदै संविधानसभाको अर्को निर्वाचन गर्नुछ । फेरि देशलाई निचोर्नुछ, जनतालाई आपसमै फेरि सडकमा ल्याएर जुधाउनुछ । दलका नेताहरूले विदेशीको पैसा खाएको हुनाले जातजाति, भाषा, धर्म, भूगोलका आधारमा जनतालाई विभाजित गराउनुपर्ने उनीहरूको मुख्य काम बाँकी नै छ । त्यहाँसम्मको काम खिलराजबाहेक अरू कसैले गर्न सक्दैन भन्ने ठानेर विदेशीले उनलाई अघि सारेका हुन् भन्दा अन्यथा हुने छैन । देशको भविश्यसँग निर्वाध रूपमा खेल्ने अपराध हामी नेपालीले नै गयौँ, अरूलाई कसरी भन्नु । आफ्नै दाजुभाइलाई दबाएर, छिचेर, मिचेर लोकतन्त्र वा गणतन्त्रको गफ गरिरहेका छौँ हामी । छिमेकीले मिचेको एक इन्च जमिन फिर्ता ल्याउने हाम्रो ल्याकत छैन । भारतीय दूतावासमा मध्यरातमा डिनर र भोजका नाममा छिर्ने र उनीहरूबाट परिचालित हुने मानिसहरूलाई लोकतन्त्रवादी ठान्छौँ हामीहरू । छिमेकीले हाम्रो आन्तरिक मामलामा गर्ने हस्तक्षेपलाई स्वाभाविक ठान्छौँ हामी । दूतावासका कर्मचारीहरू हतियार बोकेर नेपाली मार्दै हिंड्छन् तर पनि हाम्रा शासकहरूलाई लाज लाग्दैन ।
अचानोको पीडा खुकुरीले जान्दैन । पीडाबोध त्यतिबेला हुन्छ, जतिबेला शरीरमा घाउ लाग्छ । त्यो घाउमा जब पाप्रा लाग्दै उधिनिदै गर्छ, त्यतिबेला पीडा असैहय हुन्छ । तर, विडम्बना ! राष्ट्रको राजनीतिक स्वतन्त्रता र स्वाभिमानमाथि पटकपटक चोट लाग्दा, तलबार प्रहार हुँदा पनि किन दुख्दैन देश ? किन दुख्दैन मुटु ? किन चेतनाहीन बन्छ मस्तिष्क ? सत्तामा पुगेका शक्ति र व्यक्तिहरू आफ्नो देशप्रति बफादार बन्न नसकेर वा नचाहेर देशको अस्तित्व नै खतरामा परेको छ । जनताको उन्नति, देशको विकास र राष्ट्रको सार्वभौमसत्ता बचाइराख्न राज्य र नागरिकको भूमिका के हुने ? राजनीतिक दलहरूको भूमिका के हुने ? बौद्धिक जमात र युवा भनिनेहरूको भूमिका के हुने ? यी प्रश्नहरू देशका युवाहरूका अगाडि निकै चुनौतीका रूपमा प्रस्तुत भइरहेका छन् । आफ्नो भूगोलको स्वतन्त्र उपयोग र त्यसको रक्षाको पूर्ण स्वामित्व नै स्वाधीनताको आधारभूत सर्त हुनुपर्ने हो । नेपालका सिमानाहरूमा भारतीय पक्षबाट निरन्तर अतिक्रमण भइरहेको छ । नेपालका नदीनालाहरूमाथि भारतीय अधिपत्य लामो समयदेखि कायम छ । राजनीतिक दलहरूको नेतृत्वमा देखिएको दलाली चरित्रका कारण राष्ट्र्रघात र जनघातले सीमा नाघेको छ । नेपाली राजनीति झन््झन्् संकटग्रस्त र अन्यौलपूर्ण बन्दै गएको छ । तर, पनि हाम्रा राजनीतिक दलका नेताहरूको बुद्धि फिर्न सकेको छैन ।
राष्ट्रियता बचाउन नेपालका वीर विरांगनाहरूले नालापानीदेखि काँगडा, कुमाउ, गढवालसम्मका मोर्चाहरूमा बलिदानीपूर्ण संघर्ष गरेको इतिहास हाम्रासामु साक्षी छन् । तात्कालीन शासक वर्गले आफ्नो सत्ता बचाउन बेलायती साम्राज्यवादका अगाडि सुगौली सन्धिमार्फत आत्मसमर्पण गरेपछि क्रमश: नेपालको राष्ट्रिय स्वाधीनता कमजोर बन्दै गएको हो । यो क्रम अहिलेका राजनीतिक दलसम्म जारी छ । कुनै अमुक नेताको सत्तालाई बचाउन राष्ट्रलाई नै बन्धक बनाउने नेपाली शासक वर्गको चरित्रका कारण दिनानुदिन राष्ट्र कमजोर बन्दै गएको छ । नेपालका शासक वर्गको राष्ट्रियताप्रतिको दुराग्रहपूर्ण दृष्टिकोणलाई जबसम्म जरैदेखि उखेलेर फाल्न सकिन्न तबसम्म नेपाली जनता स्वाधीन बन्ने सम्भावना छैन ।
चीन र भारतजस्ता ठूला छिमेकी राष्ट्र्रको बीचमा अवस्थित नेपालको राष्ट्रि्रयताका विषयमा कुरा उठ्दा भारतले नेपालको भू–राजनीतिदेखि प्रशासनिक क्षेत्रसम्म गरेको हस्तक्षेपका विषयमा बढी कुरा उठ्ने गर्छ । उसो त इतिहास कोट्याउने हो भने नेपाल–चीनबीच लामो अवधिसम्म सीमा विवाद भएको तथ्य भेटिन्छ । तर, त्यो लडाइँ कालान्तरमा सामान्य सम्झौतामा गएर टुग्याइएको थियो । अहिले चीनसँग नेपालको सीमा र राष्ट्रि्रयताका विषयमा कम र भारतसँग बढी विवाद उठ्ने गरेका छन् । अलिहेको विषमा परिस्थितिमा खिलराजको सरकारले कुनै पनि महत्त्वपूर्ण कार्य सम्पादन गर्नसक्ने अवस्था देखिँदैन । नेपालका असफल राजनीतिक दल र विदेशीको तारो रेग्मी किन बने भन्ने विषयमा अब शोधखोज गर्नु आवश्यक देखिन्छ । यिनमा भएको योग्यता भित्री रूपमा यसरी जान्ने तत्व र शक्तिहरू देशभित्रका मात्र हुन भन्न थालियो भने त्यो केटाकेटी कुरा हुनेछ ।

प्रतिक्रिया