सकारात्मक सहयोगको अपेक्षा

Binod-Nepalमुलुक संकटमा परेका बेला निकास दिन साहसिक व्यक्तिको निष्पक्ष एवं बुद्धिमत्तापूर्ण नेतृत्वको खाँचो हुन्छ । हामी अहिलेसम्म यसैको अभावमा संकटमुक्त हुन नसकेका हौँ । दलीय हानथाप, निहीत स्वार्थ र सत्तालिप्साका कारण ऐतिहासिक दोस्रो जनआन्दोलनको सफलता र गणतन्त्र स्थापनापछि हालसम्म पनि मुलुकले सही दिशा र गति लिन नसकेको यथार्थबाट कोही अनभिज्ञ छैनौँ । गत जेठ १४ गते मध्यरात संविधान सभा विघटन भएपछि त झन् हामीसामु रहेका संकट चुलिँदै गए, दलहरू बीचको दूरी बढ्दै गयो र मुलुक झनै ठूलो अन्योलको भूमरीमा फस्न पुग्यो ।
दलहरूबीच परस्पर अविश्वासको अन्त्य हुन नसकेपछि थुप्रै विरोध र अस्वाभाविक लाग्ने घटनाक्रमबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउन प्रमुख दलहरूबीच सहमति भयो । समय र परिस्थितिले रेग्मीलाई साहसिक व्यक्तिको रूपमा प्रस्तुत गरिदिएको छ । प्रधानन्यायाधीशको गरिमामय ओहोदामा रहँदारहँदै र सर्वोच्च न्यायालयमै थुप्रै न्यायाधीश पद रिक्त भएका कारण न्यायका आकांक्षी प्रभावित भइरहेको अवस्था र प्रमुख दलहरूको अनुरोधमा विद्यमान राजनीतिक गतिरोधको अन्त्यका लागि रेग्मीलाई अगाडि सारिएको छ । विवाद र चुनौतीबीच पनि रेग्मीले आफूलाई अघि सारेर विद्यमान अन्यौल हटाउने पहलकदमी लिन तम्तयार भएका छन् । यसमा उनी कत्तिको सफलता वा असफलता हासिल गर्न सक्छन् त्यो त भविश्यलाई नै देखाउनेछ । न्यायिक क्षेत्रमा निष्कलंक र स्वच्छ छवि बनाएका रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले आमजनतामा सुशासनको प्रत्याभूति दिलाउन र संविधानसभाको नयाँ निर्वाचन सम्पन्न गराउने आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने अपेक्षा गरिएको छ । विधिका ज्ञाता र मुलुकका सम्पूर्ण यथार्थसँग परिचित रेग्मी नेतृत्वको मन्त्रिपरिषद्ले विवादमुक्त रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने नै छ । यसमा चाहिएको छ राजनीतिक दल, आमजनता, नागरिक समाजको सहयोग र सद्भाव ।
प्रमुख शक्तिहरूले रेग्मीलाई निर्वाचनको जिम्मेवारी सुम्पिए पनि साना दलहरू यसको विरोधमा उत्रिएका छन् । उनीहरू दलीय नेतृत्वमा सरकार गठन हुनुपर्ने मागका साथ आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । रेग्मीको सपथ ग्रहणकै दिन नेपाल बन्दको घोषणा गरेर कडा आन्दोलनमा उत्रिने सांकेतिक चेतावनी दिइसकेका छन् । प्रमुख शक्तिहरू बीचको सम्झौता जलाउने र बन्द र विरोध गर्ने क्रम पनि चलिरहेको छ । चुनावी सरकारका प्रमुखको हैसियतमा रेग्मीबाट सबै दलहरूलाई निर्वाचनमा सहभागी हुन र सहयोग गर्न आग्रह भइसकेको अवस्थामा अब विरोधमा लागेका दलहरूलाई सहमति र समर्थनमा ल्याउने काम प्रमुख भनिने दलहरूको हो । र, कुनै पनि काम सफलतापूर्वक सम्पन्न हुन कुनै एक पक्षले मात्र आफूलाई जिम्मेवार रूपमा प्रस्तुत गरेर मात्र नहुने अवस्था छ । राजनीतिक दलहरूबाट रेग्मी नेतृत्वलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक सम्बन्धित क्षेत्र र सरोकारवालाको पनि उत्तिकै सहयोग र साथ चाहिने भएकाले सबैबाट सोही अनुरूप हुनु जरुरी छ । लोकतन्त्रमा आवधिक निर्वाचन एउटा नियमित प्रक्रिया हो । जनताद्वारा अनुमोदित व्यक्तिहरूले देशको शासन व्यवस्था चलाउन र विधि निर्माणमा सहभागी हुन अनुमति प्राप्त गर्ने माध्यम नै निर्वाचन हो । तर, हामीले प्रतीक्षा गरेको निर्वाचन आवधिक नभई विशेष प्रकृतिको भएको र यसले मुलुकको संविधान निर्माण तथा व्यव्स्थापिका संसद्को समेत भूमिका निर्वाह गर्ने भएबाट यो निर्वाचनको आफ्नै विशिष्ट महत्त्व छ । जति चाँडो निर्वाचन सम्पन्न हुन सक्छ त्यत्ति नै चाँडो मुलुकले विद्यमान अन्यौलबाट मुक्ति पाउने भएकाले आसन्न निर्वाचनलाई व्यापक सहभागितामा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगमा सम्पन्न गराउनका लागि सम्पूर्ण क्षेत्रबाट सहयोग हुनु जरुरी हुन्छ ।
रेग्मी रहरले सरकार प्रमुखको जिम्मेवारी बहन गर्न गएका होइनन् । समय र परिस्थितिको बाध्यताले इतिहासको यो कठिन र जटिल परिस्थितिमा अनपेक्षित जिम्मेवारी लिनुपरेको हो । यसैले अब यसका प्रक्रियागत कुरा उठाएर यसको विरोध गर्नुको कुनै औचित्य रहेन । व्यक्तिका रूपमा रेग्मीको कार्यकुशलता, स्वच्छता र अठोटप्रति आशंका गर्नुपर्ने पनि कुनै कारण छैन । यसैले अब यसमा विवाद सिर्जना गरेर अल्मलिनुको कुनै अर्थ छैन । बरु यस्तो चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी लिएकामा रेग्मीलाई सहयोग पुर्‍याउनु राजनीतिक दलको दायित्व हुन्छ । जिम्मेवारी पूरा हुँदा मुलुकले निकास पाउने भएकाले यस कार्यमा सबैबाट सहयोग हुनुपर्छ । विशेष परिस्थिति उत्पन्न भई विशेष अवस्थामा कार्यकारी जिम्मेवारी ग्रहण गरेका रेग्मीलाई इतिहासले सुम्पिएको यस जिम्मेवारी पूरा गर्नमा सफलता मिल्दा व्यक्तिगत रूपमा रेग्मीमात्र सफल हुने नभई मुलुक नै सफल हुने र अनुभवी प्रशासकहरू सम्मिलित गैरराजनीतिक समूहले सम्पन्न गराउने निर्वाचन सफल भई मुलुक अन्योलबाट मुक्त हुँदा सम्पूर्ण अवरोध पन्छिइ मुलुक एउटा दिशा र गति लिन सफल हुने भएकाले पनि यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
राज्यका तीन अंग एकै व्यक्तिको हातमा भए भन्ने गुनासो र त्यसको विरोधमा पनि आवाज उठेका छन् । चिन्ता र सरोकार नाजायज होइनन् । तर, कुनै दलको सरकार वा दलीय आधारमा प्रतिनिधित्व गर्ने व्यक्ति भए त्यस्ता व्यक्तिमाथि यस किसिमका शंका जायज हुन सक्छन् । तर, न्यायिक क्षेत्रका अनुभवि र लोकतन्त्रका मूल्य, मान्यता र मर्मप्रति प्रतिबद्ध न्यायमूर्तिप्रतिको यस किसिमको आशंका उचित नहुने भएकाले त्यस खालको भ्रमबाट सबै मुक्त हुनु जरुरी छ । विश्वासले सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक बहन हुन्छ भन्ने कुरामा निर्धक्क हुन र सोही अनुरूप सहयोग प्रदान गर्न नसकिए वाञ्छित सफलता हासिल हुन कठिन हुनेछ । त्यसो हुँदा मुलुकमा थप संकट उत्पन्न हुने जोखिम रहने भएबाट पनि सबैखालका अविश्वास र आशंकाबाट तत्काल मुक्त भई संकीर्णता त्याग्दै खुला रूपमा सोच्नु जरुरी छ । मुलुकलाई वर्तमान अन्योलबाट मुक्त गरी लोकतन्त्रको प्रत्याभूति दिलाउँदै आम जनतामा व्याप्त निराशाको अन्त्य गर्नु आजको आवश्यकता हो । त्यसैले वर्तमान सरकारका कामकारवाहीमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु आज हामी समस्त नेपालीको कर्तव्य भएको छ । निर्वाचन सम्पन्न भएपश्चात् शासन सत्ता राजनीतिक दलकै नेतृत्वमा आउने भएकाले असहमति, विरोध र मतमतान्तरका सबै कुरालाई थाती राखेर अघि बढिसकेको यो प्रक्रियामा सहयोगी बनौँ । यसमा अवरोध सिर्जना गर्ने कुनै गतिविधि नगरौँ । निर्वाचनपश्चात् नै मुलुकले निकास पाउने भएकाले विना कुनै पूर्वाग्रह वर्तमान सरकारलाई सुम्पिएको जिम्मेवारी पूरा गर्नमा सहयोग गरौँ । यसैमा हामी सबैको कल्याण हुनेछ ।

प्रतिक्रिया