कोरियाली युद्धविराम एकपक्षीय रूपमा भंग

सोल : उत्तर कोरियाले गत साता सन् १९५३ मा उसले दक्षिण कोरियासँग गरेको युद्धविराम सम्झौता भंग भएको घोषणा गर्‍यो । उसले दक्षिण कोरियासँग रहेको प्रत्यक्ष सञ्चार सम्पर्क (हटलाइन) तथा दुई मुलुकले उपयोग गर्ने गरेको सीमा विन्दु बन्द गरिदिएको छ । यसबीच कोरियाली प्रायद्वीपमा तनाव नयाँ उचाइमा पुगेको छ र यसले पार्ने प्रभावको विषयमा आँकलन हालसम्म गर्न सकिएको छैन ।
यसै साता संयुक्त राष्ट्र संघले कोरियाली युद्धविराम सम्झौता एक पक्षीय रूपमा भंग हुननसक्ने दाबी गरेको छ । उत्तर कोरियाले यो युद्धविराम सम्झौता प्रभावशून्य र भंगभएको घोषणा गरेको यो पहिलोपटक होइन । यस मुलुकले सन् १९९४ मा तत्कालीन नेता किम इल–सुङको देहावसानको केही महिनाअगाडि पनि यस्तै प्रकारको भनाइ सार्वजनिक गरेको थियो । यस्तै भनाइ उसले सन् १९९६, २००३, २००६ तथा २००९ मा पनि गरेको थियो । सन् २००३ मा उत्तर कोरिया पारमाणविक अप्रसारण सन्धिबाट बाहिरिएको थियो ।
पछिल्लोपटक युद्धविराम भंग भएको घोषणा गर्नुअगाडि उत्तर कोरियाले अनेकौँ क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको थियो यस मुलुकले अमेरिकामाथि पनि पारमाणविक आक्रमण गर्नसक्ने चेतावनी दिएको छ । अमेरिका तथा दक्षिण कोरियाले भने संयुक्त राष्ट्र संघबाट उत्तर कोरियामाथि अझै कडा प्रतिबन्ध लगाउने प्रयास गरिरहेका छन् । उत्तर र दक्षिण कोरिया दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र संघको समर्थनमा तत्कालीन दुई शक्तिशाली मुलुक अमेरिका तथा सोभियत संघले दुई दिशाबाट कोरियाली क्षेत्रमा नियन्त्रण कायम गरी स्थापना गरेका मुलुक हुन् । सोभियत संघले उत्तरमा प्रशासन चलाएको थियो भने अमेरिकाले दक्षिणमा । विकिपेडियाका अनुसार सन् १९५० को जुन २५ देखि सन् १९५३ को जुलाई २७ सम्मको कोरियाली प्रायद्वीपमा दुई कोरियाबीच चलेको युद्धलाई कोरियाली युद्ध भनिन्छ । यस युद्धमा दक्षिण कोरियालाई संयुक्त राष्ट्र संघले सहयोग गरेको थियो भने उत्तर कोरियालाई चीनले । दोस्रो युद्धको अन्त्यअघि तथा सन् १९१० पछि कोरियाली प्रायद्वीपलाई जापानी साम्राज्यले शासन चलाएको थियो । सन् १९४५ मा जापानी साम्राज्यको असफलता र आत्मसमर्पणपछि अमेरिकी प्रशासकहरूले दक्षिणतर्फ अमेरिकी सेनाले नियन्त्रण गरेको भू–भाग तथा उत्तरतर्फ सोभियत सेनाले नियन्त्रण गरेको भू–भागको बीचमा ‘थर्टिएट्थ प्यारालल’ (अठतीसौँ समानान्तर) रेखा खिचिदिएका थिए ।
दोस्रो विश्वयुद्धमा विजयी गठबन्धनको सम्झौताअनुसार कोरियाली प्रायद्वीपमा सन् १९४८ मा स्वतन्त्र निर्वाचन गर्नु आवश्यक थियो र यो हुननसकेपछि दुवै पक्षबीच विभाजन अझै गहिरो बन्न पुगेको थियो । यसबीच उत्तरी भागमा कम्युनिस्ट शासन स्थापना भयो भने दक्षिणमा प्रजातान्त्रिक सरकार । दुई क्षेत्रबीच खिचिएको थर्टिएट्थ प्यारालल आफैँमा दुई मुलुकबीचको राजनीतिक सीमा बन्न पुग्यो । दुई क्षेत्रबीचको एकीकरणको वार्ता निरन्तर चले पनि दुई क्षेत्रबीच तनाव गहिरिँदै गयो, थर्टिएट्थ प्याराललमा छिटपुट आक्रमण हुनथाले । सन् १९५० को जुन २५ मा उत्तर कोरियाली सेनाले दक्षिण कोरियामाथि आक्रमण गर्‍यो । यसबीच संयुक्त राष्ट्र संघमा चीनको प्रतिनिधित्वको विवादका कारण सोभियत संघले सुरक्षा परिषद् बहिष्कार गरेको समयमा अमेरिका तथा अन्य मुलुकले सुरक्षा परिषद्बाट कोरियामा हस्तक्षेप गर्ने निर्णयलाई पारित गरिदिए ।
उक्त युद्धमा दक्षिण कोरियाको सहयोगमा गएका अन्तर्राष्ट्रिय सेनामा तीन लाख ४१ हजार सैनिक रहेका थिए भने त्यसको ८८ प्रतिशत भाग अमेरिकाले उपलब्ध गराएको थियो । त्यसमा अन्य बीस मुलुकले पनि सहयोग गरेका थिए । पहिलो दुई महिनामा दक्षिण कोरियाले नराम्रो क्षति बेहोर्नु परे पनि संयुक्त राष्ट्र संघको प्रत्याक्रमणले उत्तर कोरियाली सेनालाई थर्टिएट्थ प्याराललपारी पुर्‍यायो । यसै अवस्थामा चीन यस युद्धमा उत्तर कोरियाको पक्षमा देखापर्‍यो । चिनियाँ हस्तक्षेपका कारण दक्षिणी गठबन्धन सेना थर्टिएट्थ प्यारालालवारी नै रहन वाध्य भए । सोभियत संघ आफैँ यस युद्धमा संलग्न नभए पनि उसले उत्तर कोरियाली र चिनियाँ सेनालाई सामग्री सहयोग दिएको थियो । सन् १९५३ को जुलाई २७ मा यी दुई पक्षबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भयो । यस सम्झौता अनुसार थर्टिएट्थ प्यारालल नजिकै कोरियाली सीमा पुन:स्थापना भयो । यहाँ दुई कोरियाली मुलुकबीच २.५ किलोमिटर चौडाइको स्वतन्त्र क्षेत्र स्थापना भयो ।
(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया