कलाकारलाई प्रेस क्लबको सम्मान

Sharadaकाठमाडौं : नेपाली गीत/संगीतको क्षेत्रमा स्वदेश तथा विदेशमा रहेर उल्लेखनीय योगदान पुर्‍याउने दर्जनौँ कलाकर्मी सम्मानित भएका छन् । राष्ट्रिय प्रेस क्लब नेपालको २२ औँ स्थापना दिवसको अवसर पारेर हालै राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा भारतमा रही नेपाली गीत/संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याए वापत संगीतकारद्वय मणिकमल क्षेत्री र जीवन अधिकारीलाई, साहित्यमा योगदान पुर्‍याए वापत सिलिगुडीको साहित्यिक संस्था सिलगुडी देवकोटा संघ र त्यसका अध्यक्ष श्रीमती शारदा क्षेत्री रायमाझी र भारतमै रहेर नेपाली कला, साहित्य र संस्कृतिको प्रवद्र्धनमा निरन्तर सक्रिय उर्मिला घिसिङ र सावित्री शर्मा निरौलालाई अन्तर्राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित गरिएको छ । सम्मानित हुनेलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति परमानन्द झाले फूलमाला, दोसल्ला र ताम्रपत्र प्रदान गरी सम्मानित गरे ।
त्यस्तै सोही अवसरमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, संगीतकार शम्भुजित बाँस्कोटा, चिकित्सक डा. भोला रिजाल, पत्रकार डिल्लिराम निर्भिक र हरिदेव खरेल, शिक्षासेवी श्रीमती सरोज अधिकारी, गायक संगीतकारद्वय उदय सोताङ र मनिला सोताङ, समाजसेवीद्वय रेखा केसी र संगम चौलागाईं र स्वास्थ्यसेवी संस्था ग्रिन सिटी अस्पताल वसुन्धरालाई समेत सम्मान गरिएको छ । यी सबैलाई राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको हो ।
कार्यक्रममा नेकपा माले महासचिव सिपी मैनाली, पत्रकार ऋषि धमला, गीतकार बुद्धवीर लामा, कवि संगीतकार तथा प्राज्ञ बुलु मुकारुङले सम्मानित हुनेहरूलाई बधाई दिए । नागरिक मञ्च नेपालका अध्यक्ष जिपी ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गीत/संगीतको सुमधुर माहोल पनि रहेको थियो । कार्यक्रमको संयोजन पत्रकार लोचनकुमार थपलियाले गरेका थिए । (सौस)

प्रतिक्रिया