जिल्ला अदालत न्यायाधीशविहीन

Adalatउदयपुर, ३४चैत । एक महिनादेखि उदयपुर जिल्ला अदालत न्यायायाधीशविहीन बनेको छ । न्यायाधीश नहँदा जिल्ला अदालतमा दर्ता भएका मुद्दा फैसला हुन सकेका छैनन् भने अदालती काम–कारबाही प्रभावित बन्दै गएको छ ।

न्यायाधीश नारायणप्रसाद धिताल बिरामी बिदामा बस्दा उदयपुर अदालतमा मुद्दाको चाङ बढेको छ । युरिक एसिड र क्षयरोग भएपछि भारतमा उपचारपछि आरामका लागि बिरामी बिदा लिएर गृहजिल्ला दाङमा बसेका न्यायाधीश धिताल नफर्किएका कारण मुद्दा फैसलामा समस्या भएको अदालतका स्रेस्तेदार नरेन्द्र श्रेष्ठले बताए ।
न्यायाधीश नहुँदा जिल्ला कारागार उदयपुरमा बन्दीजीवन बिताइरहेका बन्दीलाई समेत समस्या परेको छ । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका बन्दीको मुद्दा फैसला नहुँदा पनि उनीहरू कारागारमै बस्नुपरेको हो । मुद्दा फैसला नहुँदा कतिपय निर्दोष पनि छुट्न सकेका छैनन् । ‘आर्थिक वर्ष ०६८/६९ को माघ मसान्तसम्ममा ७ सय ९९ मुद्दा दर्ता भएको अदालतले जनाएको छ । त्यसमध्ये २ सय ४७ मुद्दा फैसला भइसकेका छन्,’ स्रेस्तेदार श्रेष्ठले भने, ‘बाँकी ५ सय ५२ र माघ मसान्तयता दर्ता भएका ४२ सहित ५ सय ९४ मुद्दा फैसला हुन बाँकी छन् ।’
मुद्दामध्ये २९ लाई अदालतले थुनुवा आदेश दिएकोमा कुनै पनि मुद्दा फैसला हुन सकेका छैनन् । सबै प्रक्रिया पूरा भएर फैसला हुन मात्र बाँकी रहेका मुद्दा पनि त्यत्तिकै छन् । स्रेस्तेदार श्रेष्ठले थपे, ‘श्रीमान्को स्वास्थ्य अवस्था साहै्र जटिल भएपछि यस्तो अवस्था आएको हो ।’
दर्ता भएका र प्रक्रिया पुगेका मुद्दामध्ये पनि थुनुवा आदेश दिएकाको मुद्दा प्राथमिकताका साथ फैसला हुने अदालतले जनाएको छ । पेसी चढाएर तयारी हालतमा रहेका र थाती रहेका मुद्दा केही दिनमै मुद्दा फैसला हुने श्रेष्ठले बताए ।
फागुनमा ७१ र चैतमा ८० मुद्दा दर्ता भएको अदालतले जनाएको छ । ‘सबै मुद्दा क्रमिक रूपमा फैसला हुन्छन्,’ श्रेष्ठले भने, ‘मुद्दा फैसला, लगत कट्टा र मिलापत्र गर्न पनि आफूलाई अधिकार छैन ।’
जिल्ला अदालत उदयपुरमा प्रस्तावित अर्का न्यायाधीशको दरबन्दी भए पनि आगामी आर्थिक वर्षमा थप गर्ने सम्भावना रहेको श्रेष्ठले बताए । तर, उदयपुरमा भन्दा अन्य जिल्लामा मुद्दा बढी परे दरबन्दी पनि अन्तै जाने श्रेष्ठले बताए । उनका अनुसार न्यायाधीश केही दिनभित्रै आइपुग्ने बताए ।

प्रतिक्रिया