आगलागीमा सात घर नष्ट

Aaglagi-news-rkधनकुटा, ४ चैत । बेलहारा–९ स्थित मूलघाट बजारमा शुक्रबार राति भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । आगलागीबाट १ करोड ११ लाख ७५ हजार रुपियाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी विष्णुबहादुुर कार्कीले बताए ।

आगलागीमा बलबहादुर श्रेष्ठको दुईवटा घरसहित छिमेकी रेखा थापा पौडेल, यज्ञबहादुर थापा, तिलक घिमिरे र खेमबहादुर थापाको दुई घरसहित सात घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । राति १० बजेबाट सुरु भएको आगलागी करिब ५ घण्टापछि नियन्त्रणमा आएको थियो । धरानबाट आएको दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि झापाको दमकबाट समेत दमकल झिकाइएको डिएसपी कार्कीले बताए । आगलागीमा परेका घरमा रहेका चार किराना पसल, तीन होटल र एउटा औषधि पसलसमेत जलेर नष्ट हुँदा एक करोड ११ लाख ७५ हजार रुपियाँभन्दा बढीको क्षति भएको प्रहरीले बताएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतलाई परिचालन गरिएको थियो ।
आगलागीमा कुनै मानवीय क्षति नभए पनि लत्ताकपडा, गरगहना, अन्नपात, भाँडावर्तन जलेर नष्ट भएका छन । आगलागीबाट खाद्यान्न, लत्ता कपडाका साथै नगद सात लाख रुपियाँसमेत जलेर नष्ट भएको बलबहादुर श्रेष्ठले बताए । आगलागीबाट बलबहादुरको ३१ लाख २५ हजार, यज्ञबहादुरको ४० लाख, रेखा थापा पौडेलको १२ लाख ५० हजार, तिलक घिमिरेको नौ लाख, खेमबहादुर थापाको पाँच लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
त्यस्तै, डेरामा बस्ने रामकुमार राईको आठ लाख, सूर्यबहादुर चौधरीको चार लाख र रोशन विश्वासको दुई लाख रुपियाँ बराबरको क्षति भएको बताइएको छ । आगो एक्कासि छिमेकी बलबहादुरको घरबाट बलेको देखेपछि निदाइसकेका पतिलाई बोलाएर बाहिर भागेको काबीदेवी चौधरीले बताइन् ।

प्रतिक्रिया