एचआइभी संक्रमित चन्दा संकलन गर्दै

Rolpaरोल्पा, ४ चैत । एचआइभी संक्रमित जीवन निर्वाह गर्न चन्दा संकलन अभियानमा जुटेका छन् । लामो समयदेखि सरकारी तथा गैरसरकारी कुनै पनि निकायबाट सहयोग नपाउँदा चन्दा संकलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ ।

विगतका दिनमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सहयोग पाइरहेका उनीहरू पछिल्लो समयमा कतैबाट सहयोग नहुँदा चिन्तित भएका हुन् । जिल्लामा एचआइभी संक्रमितको संख्यामा वृद्धि आइरहेको छ भने दातृ निकायको सहयोग पर्याप्त नभएकाले आर्थिक अवस्था दयनीय बन्दै गएकाले भनेजस्तो पौष्टिक आहार खान नपाउँदा उनीहरूको शारीरिक अवस्था नाजुक बन्दै गइरहेको छ ।
आफूहरूलाई सरकारी तथा गैरसरकारी संस्था कसैले पनि सहयोग नगर्दा जीवन निर्वाहमा अत्यन्त समस्या परेको एचआइभी संक्रमितको संगठित संस्था रोल्पा प्लसका सदस्य दामे विकले गुनासो गरे । ‘हामीलाई एकातिर सामाजिक तिरस्कार गर्ने संस्कार छ भने अर्कोतर्फ दातृ निकायहरूले पर्याप्त आर्थिक सहयोग नदिँदा निराशा उत्पन्न भएको छ,’ विकले भने, ‘सहयोग नभएकै कारण हामीले विभिन्न संघसंस्था, उद्योगी, व्यापारी एवं व्यक्तिबाट समेत सहयोग संकलन गरिरहेका छौँ ।’
एनिपेन युनियनअन्तर्गत ग्लोबल फन्ड, राष्ट्रिय एचआइभी महासंघलगायत संघसंस्थाबाट आर्थिक सहयोग पाइरहेको रोल्पा प्लसले यस वर्ष भने यी निकायबाट समेत सहयोग नपाएको अध्यक्ष राधा विकले बताइन् । ‘यस वर्ष राप्ती अञ्चलका प्युठान, सल्यान, रोल्पा र रुकुममा कार्यक्रम परेन, त्यसैले हामीलाई आर्थिक संकट परेको हो,’ अध्यक्ष विकले दुखेसो पोखिन्, ‘सरोकारवाला निकायसँग सहयोगको अपेक्षा राखेका छौँ, सहयोगको अभावमा नियमित खाँदै गरेको पौष्टिक आहारसमेत छुटेकाले हाम्रो जीवन धरापमा परेको छ ।’
आर्थिक अभावकै कारण तीन वर्षदेखि कार्यालयको भाडासमेत तिर्न नसकेको उनको भनाइ छ । रोल्पामा हालसम्म एचआइभी संक्रमितको संख्या ४३ पुगेको छ । तीमध्ये तीनको मृत्यु भइसकेको छ भने बाँकी ४० संक्रमितले रोकथामका औषधि एआरभी प्रयोग गरिरहेको एचआइभी संक्रमितको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था ‘नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र (एनसार्क)’ रोल्पाले जनाएको छ । रोल्पामा रहेका एचआइभी संक्रमितमा धेरैजसो एकल महिला र बालबच्चा छन् । जसमध्ये ६ वर्षमुनिका ६ बालबालिका, ६ वर्षदेखि ४९ वर्ष उमेरसम्मका ३५ र ४९ वर्षमाथिका दुई रहेको एनसार्क रोल्पाको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया